सांस्कृतिको नाउँमा गरिने ब्यापारलाई प्रोत्साहन नगरौं

-- सम्पादकीय अगष्ट अंक २०१७ / प्रकाशित मिति : शुक्रबार, साउन २०, २०७४

सांस्कृतिक रुपमा धनि हामी नेपालीहरू बीचको सांस्कृतिक विविधता आज भोलि नेपालको कुनै एक ठाउँमा स्थायी बसोबास गर्ने नेपालीभन्दा प्रबासमा बस्ने नेपालीलाई सहज तरिकाले थाहा हुने गरेको छ । भौगोलिक विविधताबीच नेपालका हाम्रा दिदी बहिनी र दाजुभाइहरूले पाउने अबसरभन्दा विदेशमा बस्ने हामी नेपालीले यस्ता विविधताहरूको प्रत्यक्षदर्शी हुने अवसर पाएका छौं । हामी एकै ठाउँ बसेर पूर्वको मारुनीदेखि लिएर पश्चिमको रोईलाको आनन्द लिदै मध्य पश्चिमको झ्याउरेमा रम्न पाएका छाैं । उभौली उधौलीसंग परिचित हुने अबसर पनि पाएका छौं । जुन नेपालको एकै थलोमा एउटा कुनै जिल्ला बिशेषमा प्राय: असम्भब नै छ ।

अर्को तिर नेपालका मौलिक कलाकारिता बाहेक अहिले ब्यवसायिक रुपमा देखिएका कलाकारहरूको विदेश भ्रमण यति बेला निक्कै बाक्लो देखिन्छ । विदेश र त्यो पनि अष्ट्रेलियाको कुरा गर्नु पर्दा त अष्ट्रेलिया आइ नपुगेका कलाकारहरू नेपालमा अब कमै होलान् । सिड्नीको कुरा गर्नु पर्दा आहिलेका केहि हप्ताहरू यहाँका प्राय: सबै सप्ताहान्त निक्कै ब्यस्त देखिन्छन् । तीज नजिकिदै गर्दा लगभग हप्ता भरि नै कार्यक्रमहरू भइरहेका छन् । यसरी हुने कार्यक्रमहरू पहिला पहिला कुनै न कुनै परोपकारितासंग जोडिएको देखिए पनि आज भोलि परोपकारितासंग जोडिएका कार्यक्रमहरू एकदम न्यून छन् । यसरी पूर्ण ब्यबसायिक रुपमा आयोजना हुने कार्यक्रमका भीडहरूले दर्शकहरूमा भने एक किसिमको अन्योलता देखिन्छ ।

सांस्कृतिक रुपमा महत्वपूर्ण लाग्ने हाम्रा चाड पर्बहरूको वरपर आयोजना हँुदै गरेका यस्ता कार्यक्रमहरू सांस्कृतिक महत्वभन्दा पनि व्यबसायिक बनि दिंदा परदेशमा हामीबीचको सौहाद्रता र चाड—बाडको महत्व कम र बढी व्यबसायिक बनेको हो कि जस्तो लाग्दै छ । कलाकार र कलाकारिता हाम्रा राष्ट्रका गहना हुन्, परदेशमा आउँदै गर्दा यी सबै कलाकारहरू हामी सबैको साझा हुनु पर्नेमा कुनै व्यक्ति बिशेष वा समुह बिशेष मै रुमल्लिंदा धेरै कलाकारहरूले पनि खल्लो महसुस गरेको अनुभब व्यक्त गरेको पनि सुनिदै आएको छ । अर्को तिर परदेशमा विभाजित संघ संस्था र समुहका कारण यहाँ हुने खिचातानीको र राजनीतिको शिकार कलाकारहरू समेत हुनु परेको तीतो यथार्थ पनि हाम्रो सामु छँदैछ । त्यसैले पनि सांस्कृतिक महत्वका हाम्रा चाड पर्बहरू व्यबसायिक कम आत्मियता बढी गरेर मनाउन सके चाड पर्वको नियास्रो मेटिने र हाम्रा छोराछोरीहरूले समेत केहि सिक्ने अवसर पाउन सक्थे । अर्को तिर फरक स्वाद, फरक प्रस्तुति र फरक प्रकृतिका यस्ता कार्यक्रमहरू आ—आफ्नो स्वाद, ईच्छा र उमेर समूहमा कुनै जोर जुलुम र दबाब बिना नै छान्ने बाताबरण तयार हुने हो भने कार्यक्रम अझ सफल हुने थियो कि ।

अन्त्यमा आउँदै गरेका चाडपर्बहरू हामी सबैले सांस्कृतिक महत्वका साथ मनाउन सकौं । सबैलाई आफ्नो आस्था, छनोट, रोजाइ र स्वाद अनुसारका कार्यक्रमहरूमा सहभागी हुने बाताबरण बनोस् । सांस्कृतिको नाममा पुरै व्यापारिक मनसायले मात्र कार्यक्रम गर्ने परिपाटीलाई अलकति भए पनि कम गर्न सल्लजह सुझाब दिउँ । आउँदै गरेको चाडपर्बहरूको उपलक्ष्यमा सबैलाई आ—आफ्नो आस्था अनुसार शुभकामना !!!