प्रधानमन्त्री केपी ओली आईतबार चीन जाँदै

-- / प्रकाशित मिति : शनिबार, चैत्र ६, २०७२

८ दिने भ्रमणका लागि प्रधानमन्त्री केपी ओली आइतबार उत्तरी छिमेकी चीन प्रस्थान गर्दैछन् । भारततर्फको परनिर्भरता कम गर्ने उद्देश्य भएको ठानिएको उनको भ्रमणले त्यो चिर्न नसक्ने भएपछि यतिबेला भ्रमण एजेन्डाविहीन झैं बनेको छ । यद्यपि उनको चीन भ्रमण तालिका भारत भ्रमणको जस्तै छ ।
जसरी भारतमा उच्चस्तरीय राजनीतिक भ्रमणलगत्तै भूकम्पपछि पुनर्निर्माण गरिएको गुजरातको भुज, विद्युत् र सिँचाइका लागि उदाहरणीय रहेको टेहरी डयामको भ्रमण र उद्यमी तथा बुद्धिजीवीलाई राखेर उनले प्रवचन दिएका थिए, त्यसैगरी चीन भ्रमणमा उनले सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनर्निर्माण र त्यस आसपासको जलविद्युत् आयोजनाको अवलोकन गर्नुका साथै बेइजिङमा बुद्धिजीवी र व्यापारीलाई छुट्टाछुट्टै प्रवचन दिनेछन् । ‘उनको यो भ्रमण तालिका भारत भ्रमण हेरेरै बनाएको जस्तो देखिन्छ,’ परराष्ट्रका एक अधिकारीले भने ।
प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल उनको भ्रमण टोलीमा रहेका छन् । यसअलावा प्रधानमन्त्री-पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, सरकारमा सामेल र प्रमुख प्रतिपक्ष दलका सांसदसमेत भ्रमण दलमा छन् ।यसअघि २० भन्दा बढीसम्मलाई आफ्नो खर्च बेहोर्ने चीनले अहिले ११ जनालाई मात्र सरकारी खर्चमा बोलाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग समेत भेटवार्ता गर्नेछन् । उनी गएको भोलिपल्ट नै समकक्षी लीसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ । स्रोतका अनुसार कतिपय व्यक्तिहरू चीन घुम्नकै लागि मात्र भए पनि टोलीमा सामेल छन् । सरकारी व्यक्ति पनि आवश्यकभन्दा बढी रहेको प्रधानमन्त्री कार्यालयका अधिकारीले बताए । प्रधानमन्त्रीको औपचारिक टोलीको सदस्य संख्या ५६ पुगेको छ भने व्यापारी र निजी क्षेत्रका व्यक्ति पनि यसमा थपिनेछन् । यस पटक चीनले नेपाली आतिथ्यमा समेत कम गरेको छ ।