मृत्युलार्इ जितेकी म

-- श्रृष्टी खनाल / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ४, २०७४

सृष्टि संसार सजाउनका निमित्त गरिने सिर्जना, जसले पूरा पृथ्वी सुन्दर बनाउन अथक प्रयास गरेको हुन्छ । आफ्नो मात्र नहेरी पूर्ण जगतको भलोलाई ध्यानमा राखी कार्य गर्ने क्षमता सिर्फ सृष्टिमा हुन्छ । हो म त्यही सृष्टि हुँ, जसले आफ्ना अनेक दु:ख, कष्ट अनि विकराल समयलाई चिर्दै आफ्नो अमूल्य जीवन सिंगार्न खोज्दै छु र समय अनुसार सजाइरहेको पनि ।

बालापनदेखिको यो क्षण सम्झदा घरकी दिदी पछिको दोश्रो सन्तान म सबै माया, ममता अनि पालन–पोषणमा हुर्केकी थिएँ । हाम्रो समुदायमा छोरी भएर जन्मेपछि उसलाई भिरइदिने सम्पूर्ण बोझहरू मैले कहिल्यै बोक्नु परेन । छोरा र छोरीबीच हुने भिन्नता के हो भनेर मेरो बाबा आमाले मलाई कुनैपनि अवस्थामा महसुस हुन नै दिनुभएन । बाल्यकाल नै घर परिवार समाजमा सबैको मायामा हुर्किएकी म पीडा के हो भन्ने ठूली हुँदासम्म पनि थाह थिएन । भनिन्छ अरुभन्दा केही फरक सोचाई भएको मान्छे घर समाजमा छिट्टै चिनिन्छन् रे, त्यसै कारणले होला मेरो सोचाइ र बुझाई अन्यको तुलनामा धेरै फरक हुन्थ्यो । तर अफसोच दु:ख लाग्ने कुरा आँफूले अनेक तवरबाट सोचविचार गरी कार्य सफल पार्दा बाबुको नामले चिनिदा नराम्रो महसुस हुन्थ्यो । म सोंच्थे मेरो पनि आफ्नो नाम छ, आफ्नो पहिचान छ तर किन मलाई मेरो नामले चिन्नु भन्दा पनि बाबुको छोरी भन्दा सहीमा सही थप्छन् ? यो बुझ्न सकेकी थिइन ।

यतिसम्म फरक हुन खोज्यो कि, स्कूल पढ्दा समयमा अझ भनौं त्यो क्षणमा मेरो कक्षामा तीनजना सृष्टि थिए, सबैको नामको अंग्रेजी अक्षर एउटै तर मलाई अरु भन्दा फरक हुनु थियो । यही कारणले मैले मेरो नामको अक्षर नै परिवर्तन गरि फरक सृष्टि बन्ने कोशिस त्यहीबाट सुरु गरेकी थिएँ । समय वित्दै गयो, समय सँगसँगै मेरो सम्पूर्ण बालापन पनि । तर बालापन देखिको सोच र प्रयास भने जारी नै रहिरह्यो अर्थात कल्पना फरकपना हुने । सायद यही परकपना मेरो जीवनमा वरदान सावित भो या अभिसाप त्यो त म यकिनका साथ भन्न सक्दिन्न, तर यही फरकपना मेरो जीवनमा चलिरह्यो । सोमबारको ब्रतबसी माछामासु अन्डा लाई हात पनि नलगाउने म जीवनको यही फरकपना रोगको सिकार हुनुपऱ्यो । सायद फरकपनाको अर्को उदाहरण फेरी जीन्दगीमा प्रवेश भयो भन्ने कुरा मनमा नउठेका पनि होइनन् । शरीरमा त रोगले डेरा जमाएर बसीसकेका रहेछ, तर मेरो सारा जीवनमा त होइन नी भनेर आँफूले आँफैलाई दह्रो बनाउने पनि गर्थेँ । समस्या हरेक ठाउँमा हुन्छन् तर समस्याको समाधान कुनै न कुनै स्थानमा गएर भेटिन्छ भन्ने कुरा कहिल्यै पनि मन मस्तिष्कबाट टाढा भएन । मेरो यही सोचाइ र दह्रोपनाले मेरो रोगलाई निर्मूल पार्न धेरै हदसम्म सफल पनि भएकी थिए जहाँ बाबाआमा अनि अर्को राष्ट्रका चिकित्सकहरूको आर्शिवाद र योगदान नगण्य थियो ।

जसोतसो रोगलाई त मैले टार्न सकिन तर विरामी पछाडिका ती दिनहरू सुन्दर ढँगबाट विताउँदै थिएँ जहाँ पहिला भन्दा अझ धेरैका साथ आनि माया बटुल्दै दिनप्रतिदिन अगाडि बढिरहेको थिएँ म । माया गर्नेहरूको भीड धेरै हुन्छ तर साथ दिनेहरूको भीड भने कमै मात्र हुन्छ भन्ने कुरा राम्रो सँग बुझेकी थिए मैले । मायाका बारेमा यी सबै कुराहरू थाहा पाउँदा पाउँदै पनि म मायाबाट टाढा रहेर बस्न सकिन । हुन त मायाले ढुंगालाई त पगाल्छ भन्दछन् आफ्नो त मन जो पर्यो । सकिएन अहँ मायामा पर्दिन्न भन्दाभन्दै पनि परें, फँस्दिन्न भन्दापनि आँफै फसें । कति उसका बानिले फसें, कति आफ्ना हर्कतले फसें, त्यो सुन्दर सपना देख्दै मायामा । आखिर नकार्नु पनि त कसरी, जसले मलाई वमिट आउँदा समेत आफ्नो हात थापेर प्रेमको भिख माग्दथ्यो । सुन्दर सपना बुनेर रमणिय जीवनको कल्पना सम्म पनि उसैसँग गरें र सोचें फेरी अर्को फरकपनाको माया पाए मैले । मसँग एकदिन, एकछिन कुरा नगरी, खाना पनि रुच्दैन अनि निन्द्रा पनि पर्दैन थियो उसलाई । यसरी नै रमाइलो साथ अनि कसिलो उसको हातले मलाई ऊबाट कहिल्यै पर धकेलेको थिएन ।

समयक्रम अनुसार हामी चल्दै थियौं अनि हाम्रो माया झनझन बल्दै थियो । यही क्रममा अब भविष्य सोच्नु पर्छ भन्ने उद्देश्यमा हामी अगाडि बढ्दै गयौं । बाबाआमासँग मात्र बसेर त हुँदैन जीवनमा केही फरकपना त देखाउनै पर्छ भन्ने सोच राख्ने म उसैको साथमा केही समय विदेश गएर प्रगति गर्ने अनि सपनाको त्यो सुन्दर महललाई विपनामा ठड्याउने आशामा लागिरहे । संयोगबस सपनालाई साकार तुल्याउन विदेशीन लागेको समयमा फेरी मेरो पुरानो रोग बल्झियो, जसो तसो केही दिन लगाएर विरामीपनलाई थोरै कम गरी ऊसँग देखेका सपना अनि बाचा गरेका यादलाई पूरा गर्न उसैको साथ त्यही पुरानो विरामी पन लिएर लागें विदेश यात्रामा ।

विदेश, नयाँ देश, नयाँ परिवेश अनि सबथोक नयाँ तर मानिस उही पुरानो अनि साथ त्यत्तिकै न्यानो थियो । जहाँ पुगेपनि जता गएपनि आफ्नो माया गर्ने मान्छेको साथ संधै भए एक्लोपना कमी हुँदो रहेछ सोचें । ‘हुनेहार दैव नटार’ आखिरमा हुने कुरा जसरी नै भएपनि भएरै छोड्छ भन्ने कुराको ज्वलन्त पात्र थिएँ म । विदेशी भूमि, अन्जान सहर घुम्दाघुम्दै एक महिनाको अन्तरालमा कमजोर महसुस हुँदै थियो । लाग्दै थियो फेरी ब्युँतियो यो पुरानो रोग । जसोतसो बिरामीपनलाई त मैले भुल्दै गएको थिएँ तर विरामीपन र रोगले मबाट टाढा जान मानेको थिएन । एकदिन अचानक म फेरी अचेत अवस्थामा पुगें । मलाई ूऋचथउतयअयअअगकष्क mभभिलवगतष्भक ागलनगक बलम अmख खष्चगकू भन्ने रोग रहेछ, जसले जुनसुकै बेला पनि मस्तिस्कघात हुन सक्थ्यो भने जीबनभर कोमामा बिताउन पर्ने पनि हुन सक्थ्यो ।

जब डाक्टरले रोगको बारेमा केहि भन्न सक्ने भए तब त्यो सुन्दा झन छ्ट्पटहट हुने खालको थियो कि यो रोगबाट मात्र ५ प्रतिशत बच्ने आशा रहेछ यसरि बाँचेकामा पनि कि स्मरण शक्ति गुम्ने कि जीन्दगी भर प्यारालाईसिस हुने डर रहेछ । एकै छिन सोचे डाक्टरलाई पनि के थाहा म त फरक सोचाई अनि फरक जीवन भएको मान्छे पो परे त । भाग्यमानी रहेछु भगवानको कृपा रह्यो आज जीबन प्रति झन धेरै आशाबादी बन्दै यी शब्दहरू लेख्दैछु किनकि महसुस गर्दैछु फरकपनको “Cryptococcusis melunjuties fungus and cmv virus ” अनि रमाइलो त्यति बेला लाग्छ मलाई पहिले चिन्नेदेखि रोग संग लडदै गर्दा उपचारका क्रममा चिनिएकाहरू सबैले मलाई जादुमयी केटी अर्थात ‘मिराकल गर्ल’ भनेर बोलाउँछ्न ।

मैले सोचेको थिइन कि यतिसम्म बित्छ मेरो जीवनमा भनेर, त्यसपछिका कयौं महिना मैले अस्पतालको शैयामा अचेत अवस्थामा नै विताउन बाध्य भएँ न त केही सुन्न देख्न सक्छु न त केही प्रतिक्रिया जनाउन सक्छु भन्ने अवस्थामा गुज्रिएका थिए ती मेरा विर्सन लायक दिनहरू । जीवन र मरणको दोसाँधमा झुण्डिरहेको अवस्थामा मेरो जीवनमा परी बनेर आइदिनु भयो रजिस्टर्ड नर्स दिदी शोभ्ना थापा । भगवान छैन भनेर भन्छन् मानिसहरू तर त्यो दिनदेखि यो मानिसहरूको गलत सोचाइ रहेछ भन्ने बुझें । मेरो नाममा थुप्रै रकम जम्मा भएको पनि रहेछ, मेरो उपचारको लागि । तर कति जम्मा भयो के भयो आजसम्म मलाई अत्तोपत्तो छैन भन्दा फरक नपर्ला ।

न मलाई कुनै रकमको आश थियो न त कसैको पर्वाह नै । जुन दिन म सोच्न सक्ने भएको थिएँ, त्यस दिन म सिर्फ उसैको बारेमा सोच्ने र उसैलाई खोज्ने भएको थिएँ तर अवशोच मलाई मेरो शरीरले ऊ भएको ठाउँसम्म डोऱ्याउन सकेन न त उसलाई म भएको ठाउँमा आउने अनुमति नै थियो ।

जब उसलाई मैले देख्ने मौका पाएँ, उसको मुहारमा छुट्टै किसिमको सद्भावना भरिएको थियो । म मनमनै खुसी थिएँ यति धेरै मायाँ गर्ने मान्छे सायद यो संसारमा नै कम छ । तर मेरो खुसी गदगदमा पुग्न नपाउँदै बीचमै खै कता चुहिएछ पत्तै भएन, एकै छिनमा मेरो दिमागमा के चल्यो तर उसलाई र ऊसँग भएका सामानहरू देख्दा मनमस्तिष्कमा नकरात्मक विचार उत्पन्न भयो । मैले सकी नसकी उसलाई सोध्न बाध्य त भएँ तर मेरो प्रश्न नसकिदै उसको मुखबाट निस्केको थोरै जवाफ अनि उसको मौनताले मलाई फेरी मानसिक विरामी तर्फ धकेल्ला जस्तो महसुस भयो । उसका हरेक लवाइ खवाई, मप्रतिको मौनताले मलाई एकछिनपनि दिमागमा राम्रो सोच्न सक्ने नै बनाएन । म विरामी भएर अस्पतालमा पुऱ्याउँदाको ऊ र अस्पतालको शैयामा जीवनमरणसँग लड्ने म बीचको प्रगाढ त्यो प्रेम, त्यो साथलाई सम्झदै दिनहरू काट्थें मलाई जीवनका सारहरू सिकाउने र फेरी पुन: अवस्थामा फर्किनको लागि गर्नुपर्ने थुप्रै प्रेरणा मैले एनआरएनए पूर्ब आइसिसि सदस्य र न्याभकि पूर्ब कार्यसमिति सदस्य दिपा राई दिदी र न्याभकी पूर्ब कार्यसमिति सदस्य राजु शाक्य दाइबाट हाँसिल गरेकी थिएँ । उहाँहरूको प्रेरणारुपी साथ अनि परीरुपी भगवानको योगदानले जीवनका हरेक कणकणमा साथ दिन्थे ।

जसले केही वर्ष अगाडि मायाको भिख मागेको थियो, अब उ, डिभोर्सको संघारमा पुगिसकेको थियो । उसका हरेक हर्कतले उसलाई मबाट छुट्टिएर टाढा जान मन लागेको आभास पनि गर्थें म तर के नै गर्न सक्थेँ र लुलो शरीर अनि भत्किएको सपना बोकी । अब पहिलेको जस्तो केही बाँकी थिएन, थियो त एउटा याद अनि सँधै विपनाको महल बनाउने सपना मात्र । गल्ती मेरो थिएन, गल्ती त रोगको थियो तर यो रोगले मलाई नै समात्यो यसमा मेरो मायाको के दोष ?

होला मेरो सुन्दरतामा कमी भएको थियो तर उसको म प्रति पुगेको जवाफले अव त विस्तारै उसलाई आफ्नो बाटोमा जान दिन्छु भन्ने मनमा लागेको थियो । एकदिन उसले मुख नै फोरेर म तिमीबाट अलग हुन चाहन्छु, म तिमी सँग भएँ भने मैले मेरो जीवनको भविष्य उज्वल बनाउन सक्दिन्न । उसको यो प्रस्ताब या सल्लाहा थिएन, उसको त यो फाईनल निर्णय थियो । कस्तो अचम्म माया गर्दा मात्रै दुबै जनाको सहमति हुनु पर्दो रहेछ, त्यत्रो ठुलो छुट्टिने निर्णय चाहिं उ एक्लैले गर्न मिल्ने । उफ यो माया भन्ने अझै बुझ्न सकी रहेको छैन ।

त्यसपछिको जीवनमा आइपरेको हरेक बाधा अड्चनमा डगमगाउनु साटो अझ मजबुद बन्दै गएँ, यही क्रममा एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य समितिका सचिब गौतम लामिछाने दाइले मलाई जीवनलाई स्थायित्वमा ल्याउन खुब सघाउनु भयो । त्यसपछिका केही महिनामा आराम अनि शारिरीक विश्रामले फेरी शरीरमा उर्जा थप्दै थियो । जीन्दगीमा कहिले पनि कसैसँग नडराउने बानीको विकास पनि भएको थियो म मा किनकी मृत्यु सँग लडाईँ गरी जितेर जो आएको थिएँ । समय सापेक्ष आफ्नो शरीरको सुन्दरता फर्काउने क्रममा लाग्दै जाँदा फेरी पहिलेको जस्तै त भइन होला तर पहिलेको भन्दा फरक पनि खासै भएकी थिइन ।

हाम्रो समाजमा महिला भएर जन्म लिएपछि विबाह गरी पराइ घर जानुपर्ने परम्पराले गर्दा होला जहाँबाट पनि विबाह सँगै जोडिएका प्रश्नले बेलाबखतमा ढलपल गराउन खोज्थ्यो तर विबाह नै सबथोक होइन अनि विबाह नगरेकाले पनि थुप्रो प्रगति गरेका छन् भन्ने कुराले मलाई थप हौसला प्रदान गर्थ्यो । केटी भएर जन्मेपछि केटाको नै सहारा चाहिन्छ भन्ने कुरालाई अब म गलत बनाउन चाहन्थें । हुन त पहिल्यैदेखि केटाकेटीमा भिन्नता गरेको मैले मेरो परिवारमा नदेखेको भएर होला, यही कारणले म मा केटामा हुने हौसला भन्दा कम हौसला नभएको । म जति नै कमजोर भएपनि मेरो परिवारले म माथि दह्रोपनाको स्तम्भ खडा गर्दिनु हुन्थ्यो । जब म पीडा लुकाउन नसकेर एक्लै पुराना कुरा सम्झेर रुन्थें त्यतिबेला मेरी आमाले भन्नुहुन्थ्यो “मैले एउटा बहादुर छोरीलाई जन्म दिएकी थिएँ लडन नसकेर रुने छोरीलाई होइन ।” यही भनाइले मलाई अरुको अगाडि लड्न अनि निडर बनाउन सिकायो ।

अझैपनि कति जनाले बेलाबेलामा सोधिराख्नुहुन्छ, “बिहे कहिले गर्ने?” अनि म मुस्कुराउँदै भन्छु “विहे गरेर चाहिँ हे हुन्छ, खै बिहे नगरी त जीवन एक्लै आनन्दले विचाएकै छु ।” बिहे गर्छु या गर्दिन्न ठोकुवा गरेर म भन्न सक्दिन्न तर अब जीवनमा जे गर्छु जति गर्छु आँफू खुसी अनि सुखी हुन गर्छु । त्यति ठूलो मृत्युको मुखबाट त बचेर आएँ अब मलाई के को डर जहाँ कि म कसैको कुभलो चिताउँदिन्न । बिहेका कुराहरू, प्रस्ताबहरू नआएका पनि होइनन् तर फेरी मलाई भत्किने सपनाका महल ठड्याउन मन छैन । सपना देख्नु पर्छ नदेख्ने होइन, तर पूरा गर्ने सपना देख्न मन छ, निदाएको बखत देख्ने सपना होइन ।

अन्तमा, छोरीको जीन्दगी केटाको हातमा हुन्छ भनिन्छ, के छोरीहरू साँच्चिकै असमर्थ हुन्छन् र ? अनि के छोरीहरूको जीवन बिवाह विना सार्थक छैनन् र ? यी प्रश्नहरू आजसम्म पनि मनमा दौडिरहन्छन्, कुदिरहन्छन् अनि खेलिरहन्छन् ।