मानसिक शोकबाट पूर्ण रुपमा मुक्त भएपछि नै इच्छा मृत्यु के हो भनेर जानिन्छ भन्ने सत्य अनुभव गर्ने हो कि ?

-- उत्तमराज पण्डित, आसन, प्राणायाम एवं ध्यान प्रचारक / प्रकाशित मिति : सोमवार, फाल्गुन २१, २०७४

कुनैपनि क्रियाहरूलाई अथवा कार्यहरूलाई जीवनमा उतार्न थाल्नुलाई साधना भनिन्छ । साधना प्रारम्भिक यात्रा हो । साधनाको यात्रा विना न त साँसारिक लक्ष्य प्राप्त हुन्छ न त आध्यात्मिक नै । यही कारण साधनाको महत्व हर क्षेत्रमा अवणनीय छ । शरीरलाई स्वस्थ बनाउने मनलाई प्रसन्न बनाउँदै मनबाट नै मुक्त हुने साधनाबाट नै इच्छा मृत्यु प्राप्त गर्न सकिन्छ । इच्छा मृत्यु भन्नाले लामो समयसम्म बाँच्ने अर्थात आफ्नो इच्छा अनुसार बाँच्ने र आफ्नो इच्छा अनुसार मर्ने भन्ने होइन । इच्छा मृत्यु भन्नाले रोग एवं शोक विहिन हुँदै मृत्युलाई जानेर प्रसन्नताका साथ शरीर त्याग गर्न सक्नु हो । यो अवस्था प्राप्त गर्न जवानीदेखि नै शरीर स्वस्थ र मन प्रशन्न बनाउने साधना गरिरहनु पर्दछ । तव नै विना रोग, विना शोक हिंडदा हिंडदै, गफ गर्दागर्दै अरुको स्याहार सुसारको आवश्यकताविना नै मृत्युलाई जानेर अर्थात मृत्युको बोध हुँदै मृत्युलाई परम मृत्युको रुपमा स्वीकार गर्न सक्ने शक्ति प्राप्त हुन्छ । स्वस्थ शरीर एवं प्रसन्न मनले नै नमर्ने उर्जालाई जान्नसक्ने सम्भावना हुन्छ । नमर्ने उर्जालाई जान्नासाथ हामी स्वत: शोक विहिन हुन पुग्दछौं । शोक विहिन अवस्थामा नै उत्तेजनाबाट मुक्त भइन्छ यही अवस्था रहिरहेको अवस्थामा नै इच्छा मृत्युलाई जान्न एवं प्राप्त गर्न सकिन्छ । पूर्ण आयुसम्म अर्थात कमसेकम सय वर्षसम्म कर्म गर्दै, स्वस्थ एवं प्रसन्न हुँदै नमर्ने उर्जालाई जान्न निरन्तर साधनामा लागिरहनु पर्दछ । यस साधनामा हुने असफलतापनि सफलता नै हुन पुग्दछ । जहाँ असफलता नै छैन त्यही रहस्य लुकेको हुन्छ ।

परममित्र भित्रै छ

बाँकी सबै मित्र काम चलाउ मात्र हुन् सही मित्र अर्थात कहिल्यैपनि धोका नदिने, सदा विनास्वार्थ सहयोग मात्र गरिरहने मित्रहरूको पनि मित्र त हामी भित्र नै विराजमान छ । यसैलाई खोजौं जानौं तव नै कुनै पनि धोकाहरू बाट विचलित हुन पुगिदैन । बाँकी त सबै धोकाहरू नै हुन् । आकर्षणवाला प्रसन्नता त हामी भित्र नै छ जसले सदा–सदा साथ दिइरहन्छ । जवसम्म हामी हाम्रो भित्र बसिरहेको परंम मित्र सँग नाता जोड्दैनौं, उसको खोज गर्दैनौं तवसम्म हाम्रा सारा नाता एवं उपलब्धिहरू बेकार नै हुनेछन् । आँफूभित्रको परंम मित्र सँग नाता जोड्ने कला जानेमा नै आकर्षणवाला प्रसन्नता स्वत: आउन थाल्दछ । पद एवं पदार्थहरूबाट प्राप्त हुने क्षणिक प्रसन्नतामा अंहकार देखा पर्दछ भने आँफूभित्रको मित्रलाई जानेपछिको प्रसन्नतामा आकर्षण देखा पर्न थाल्दछ । अज्ञानबस यस आकर्षणवाला प्रसन्नतालाई केवल पद एवं पदार्थहरूमा मात्र खोजीरहेका छौं तर यो पद एवं पदार्थमा होइन स्वयं भित्र नै छ ।

सत्संगको महत्व

सदा रहिरहने सत्यको अनुभव गर्ने, खोज गर्ने इसाराहरू दिने व्यक्तिलाई साधु सन्त भनिन्छ । यस्ता व्यक्तिहरू सँग गरिएको संगतलाई सत्संग भनिन्छ । सत्संगमा आँफूभित्रको कहिल्यै परिवर्तन नहुने उर्जा अर्थात शरीरको संचालकको चर्चा गरिन्छ । यही कारण सत्संग सबका लागि समान छ । सत्संग हर मानबको लागि अति महत्वपूर्ण छ । जव मान्छे सत्संग तिर लाग्दछ तव उसको मन डामाडोलबाट हटेर शान्तिको सही खोज तिर लाग्न थाल्दछ । सत्संगबाट नै धार्मिक यात्रा सुरु हुन थाल्दछ । जसले अज्ञातको खोज तर्फ प्यास जगाइदिन्छ । सत्संगको संगतले जुन सत्यलाई हामीले भुलिरहेका छौं त्यसलाई स्मरण गराइदिन्छ । यही नै सत्संगको राज हो । सत्संगले नै मनमा उत्पन्न भ्रम एवं अन्धकारलाई समाप्त पार्ने विधि उपलब्ध गराउँदछ । जबसम्म हाम्रा इन्द्रियहरूले काम गर्दछन् तबसम्म विपत्तिहरू त आइ नै रहन्छन् तर सत्संगको संगतले यस्ता विपत्तिहरू बाट अलग हुन सक्ने उर्जा उपलब्ध गराउँदछ त्यसैले सत्संग एक सूर्यजस्तो हो जसले मनका सारा अन्धकारहरूलाई समाप्त पारिदिन्छ । मनलाई तनावबाट मुक्त बनाइदिन्छ । सत्संगबाट नै हामी भित्रको सदा रहिरहने शक्तिको खोज गर्न तडप जगाइदिन्छ यही तडपबाट नै त्यस उर्जाको खोजमा हामी लाग्न थाल्दछौं । यही नै सत्संगको निचोड हो । स्वयंलाई जान्न स्वयं भित्रको अविनासकारीलाई खोज्न सत्संगले नै प्रेरणा दिन्छ । समयलाई मिलाएर हर दिन दश–पन्ध्र मिनेट मात्र भएपनि सत्संगको साधनामा लाग्नु पर्दछ । पल–पल अशुद्ध हुने मन तव नै शुद्ध हुन थाल्दछ । जसरी पानीमा प्यास मेटाउन सक्ने क्षमता छ ठीक यसरी नै संत्संगबाट मनका विकारहरूलाई हटाउन सक्ने उर्जा प्राप्त हुन्छ । यही नै यसको महत्व हो ।

बच्चाको जस्तो मन

हर परिस्थितिबाट सिकिराख्न खोज्ने व्यक्तिलाई नै बच्चाको जस्तो मन भएको व्यक्ति भनिन्छ । यस्ता मन भएका व्यक्तिहरूले नै धार्मिक एवं सांसारिक सफलता प्राप्त गर्न सक्दछन् । मन तव नै ताजा भइरहन्छ जव हर परिस्थितिबाट सिक्न खोजिन्छ । ताजा मनबाट नै नयाँ–नयाँ लाई जान्न सक्ने क्षमता प्राप्त हुन्छ । ताजा मनमा नै अहंकारले बास गरिरहन सक्दैन । बच्चाको मनमा बाहेक प्राय: अधिकांस मान्छेमा बासी मन अर्थात अहंकारले भरिएको मन हुन्छ । अहंकारबाट भरिएको मनले नै हर परिस्थितिबाट सिक्न सक्ने अवसर गुमाउँदछ यही कारणबाट उनीहरू शारिरीक एवं मानसिक रुपमा पिडित हुन्छन् । मिथ्या ज्ञानको प्रमाण पनि यही हो । अहंकार रहित मनलाई नै बच्चाको जस्तो मन भनिन्छ । यस्ता मनहरूबाट नै सिक्न एवं जान्न सकिन्छ । आत्मज्ञान एवं बौद्धिक ज्ञान दुवैलाई जान्न बच्चाको जस्तो मनबाट मात्र सम्भव छ ।

एक लामो श्वास अमूल्य छ

एक श्वासमा नै जीवन छ, एक श्वास कै कारण शरीरको परिवर्तन अर्थात मृत्यु हुन पुग्दछ । यही कारण एक श्वास अमुल्य छ । पदको लागि, पदार्थको लागि हामी सारा समय दिन पनि तयार छौं तर जसको माध्यमबाट यस शरीर एवं श्वासले कार्य गरिरहेको छ त्यसको लागि तीस–चालिस मिनेटको समय दिने अवसर पनि हामीले मिलाउन भुलिरहेका छौं यही भूल नै सारा दु:खको कारण हो, रोग एवं शोकको जड हो । यस श्वासप्रतिको अद्भूत आचार्यको खोज एवं अभ्यासप्रति थोरै समय नदिदा नै हामी बेहोसपूर्ण अवस्थाको जीवन विताइरहेका छौं । यही बेहोसपूर्ण अवस्थाले नै मृत्यु भित्रको अमृतलाई छेकीरहेको छ । यो अमृतलाई नजानेसम्म सही प्रसन्नता असम्भव नै छ । हर व्यक्तिको लागि यस दुनियाको सारा पद एवं धनको मूल्य एक श्वासको जति पनि छैन । यस अमूल्य श्वासप्रति जव याद आउन थाल्दछ तव हामीलाई अज्ञातको खोजमा स्वत: नै प्यास जाग्न थाल्दछ । हुन त यस ब्रह्माण्डको सारा चीज प्रसाद नै हो तर पनि श्वास जति ठूलो प्रसाद अरु केही छैन किनकी श्वास विना थोरै समयसम्म पनि शरीर जीवित रहन सक्दैन । त्यसैले क्षण–क्षण लामो श्वासको महत्वलाई स्मरण गरिराखौ ।

इच्छा नहुनासाथ भय र लोभ समाप्त

सारा इच्छाहरू समाप्त हुनासाथ व्याक्ति धार्मिक सम्राट हुन पुग्दछ । इच्छा हुँदासम्म मान्छे भय एवं लोभबाट पीडित नै हुन्छ । व्यक्ति गुलाम एवं झुट बनि रहन्छ । जुन व्यक्ति सँग कुनै माग छैन त्यो व्यक्ति नै आध्यात्मिक बादशाह हुन पुग्दछ । यस्ता व्यक्तिहरू नै परिपूर्ण आनन्दमा, शान्तिमा, ध्यान एवं समाधीमा स्थिर हुन पुग्दछन् । जो व्यक्ति पूर्ण शान्तिमा छ ऊ नै क्राइष्ट हो भनेर जान्नु पर्दछ । भय र लोभ नै मन हो, यही मनलाई मूर्छा पनि भनिन्छ । मूर्छा टुटेपछि नै जीवन योगमय हुन पुग्दछ । जबसम्म इच्छाहरू हुन तबसम्म मन रहिरहन्छ । चाहनाहरू समाप्त हुनासाथ अर्थात मनपनि विसर्जित हुन पुग्दछ । पल–पल होसलाई जागृत गर्दै मनप्रति सजग हुने अभ्यास गर्न थालेमा इच्छाहरू स्वत: कम हुँदै जान्छन् । तव नै व्यक्ति आफ्नो केन्द्रमा आइपुग्न सक्दछ । यो सारा खेल इन्द्रधनुष जस्तो मन कै हो । हो पनि होइन पनि । समस्त दृष्यको पछाडि द्रष्टा लुकेको छ यसको बोध हुनासाथ भय एवं लोभ समाप्त हुन पुग्दछ तब नै भित्र कुनै चोटले छुनसम्म सक्दैन ।

जसले स्वयंलाई जानेको छ उही सर्वज्ञ

जसले आँफूभित्रको उर्जालाई अर्थात चेतनालाई जानेको छ उसैलाई सर्वज्ञ भनिन्छ । उसले स्वयंलाई मात्र जान्दछ । स्वयंलाई अर्थात उर्जा हुँदै उर्जाको स्रोतलाई जान्नुलाई नै आत्मज्ञान भनिन्छ । यो भाषा परिभाषा, शब्द, अर्थ, विचार एवं धारणाबाट जानिएको ज्ञान होइन । इन्द्रियहरूको माध्यमबाट जानिने सारा ज्ञान बौद्धिक ज्ञान हो । पदार्थहरूको सम्बन्धमा मात्र जानिने ज्ञान हो । इन्द्रियहरूबाट मुक्त भएर जानिने ज्ञान पदार्थजन्य ज्ञान होइन । पदार्थहरूबाट मुक्त भएको बोध नै आत्मबोध हो । यही जानेका व्यक्तिहरूलाई नै सर्वज्ञ भनिन्छ । सर्वज्ञको बाहिरी जगतको ज्ञानसँग कुनै सम्बन्ध नै हुँदैन । जो बाहिरी जगतको बारेमा कुरा गर्दछन् जान्नु कि ऊ सर्वज्ञ होइन अर्थात आत्मज्ञान उपलब्ध भएको छैन । आध्यात्मिक क्षेत्रमा ज्ञान त केबल चेतनाको नै हुन सक्दछ । पदार्थहरूलाई त हामी उपयोग गर्न सक्दछौं, विश्लेषण गर्न सक्दछौं तर के हो त पदार्थ यसको बोध हामीले पाउन सक्दैनौं ।

चैतन्यको बोध र पदार्थको विकास

पदार्थको मात्र विकासले मनमा दीर्घकालिन शान्ति आउन असम्भब छ । भौतिक विकास त हुन्छ साथसाथै मनको रोग उत्पन्न हुन पुग्दछ । मनको रोग नै परम रोग हो । त्यसैले पदार्थको विकासको साथ साथै चैतन्यको पनि खोज एवं बोधबाट मात्र शारिरीक रोग एवं मानसिक शोक समाप्त हुन्छ तब नै पूर्ण व्यक्तिको निर्माण हुन पुग्दछ । भौतिक विकास एवं आन्तरिक चैतन्यको जागरणबाट मात्र सही सांगठनिक व्यक्तित्वको जन्म हुन पुग्दछ । केबल पदार्थको मात्र विकासले मानसिक तनाब उत्पन्न गराउँदछ यही मानसिक तनाब नै असंख्य रोगहरू को कारण बन्न पुग्दछ । यसको विपरित केवल चैतन्यको मात्र खोजबाट बाहिरी दरिद्रताको कारक बन्न पुग्दछ । चैतन्यको खोज एवं पदार्थको विकासबाट नै व्याक्तिमा बास्तविक शान्ति उपलब्ध हुन्छ तब नै सम्यक जीवनको जन्म हुन पुग्दछ । चैतन्यको खोज नहुँदासम्म मनमा तनाबहरूले सताइरहन्छ भने भौतिक सुख सुविधाहरूको माग गर्न नपाउँदा दरिद्रता उत्पन्न भइरहन्छ । जब चैतन्यको बोध हुन्छ तब न त मनमा तनाब हुन्छ न त दरिद्रता सबैबाट मुक्त हुन पुगिन्छ ।

मनलाई आनन्दित बनाउने खोज

सही धर्मलाई नजानेसम्म मनमा दीर्घकालिन आनन्द आउने सम्भावना नै छैन । एक दुई दिन वा एक दुई घण्टा वा केही क्षण त आनन्द अनुभव गर्न सकिएला तर बाँकी समय पुन दु:खी नै हुन पुगिन्छ । त्यसैले सही धर्मलाई जान्नु नै स्थायी आनन्द प्राप्त गर्नु हो । सही धर्मको अर्थ हो विचारहिनबाट विचार तर्फ, फेरी विचारबाट निर्विचार तर्फको यात्रा एवं प्राप्ति । यही अवस्थामा नै आनन्द, शान्ति, सौन्दर्य, सन्तोष आदिको वर्षा भइरहन्छ । यस्ता व्यक्तिहरूको एक शब्दबाट नै अन्य व्यक्तिहरू खिचिन्छन् । यसको उपलब्धि कुनै शास्त्रीय ज्ञान वा बौद्धिक ज्ञानबाट होइन सही ध्यानबाट मात्र उपलब्ध हुन्छ । सूचनाहरूबाट, बौद्धिक तर्कहरूबाट, धारणाहरूबाट मनलाई आनन्दित बनाउन सकिदैन केवल जागरणबाट मात्र जीवनलाई जीवन दिन सकिन्छ । निर्विचारमा भएका व्यक्तिको नजिक पुग्नासाथ अन्य व्यक्तिलाई अनायास आनन्द एवं शान्ति आउन थाल्दछ तर अन्य व्यक्तिको भित्रको बारुद सुख्खा हुनु पर्दछ । यस्ता व्यक्तिहरूलाई एक किरणले नै छुन पुग्दछ र चुम्बक भइ खिचिन थाल्दछन् । धर्म अर्थात ध्यान केबल मनको शान्तिको प्रयोग हो । निरन्तरताको प्रयासबाट नै धार्मिक जीवनले गति लिन्छ तव नै मनबाट अलग हुन पुगिन्छ । यही अवस्थामा सांसारिक उत्तेजनाहरूले प्रभाव पार्न सक्दैनन् ।