चीनसँगको सहमति भएपछि मधेसी नेता भारतीय दूतावासको शरणमा

-- / प्रकाशित मिति : बिहिबार, चैत्र ११, २०७२

नेपाल सरकार र चीन सरकारबीच १५ बुँदे संयुक्त विज्ञप्तीमा हस्ताक्षर भएको एक दिन पुरा नहुँदै मधेसी दलका नेताहरु लैनचौरस्थित भारतीय दूतावासको शरणमा परेका छन ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु ब्रेक फास्ट लिन भन्दै बिहीबार बिहानै भारतीय दूतावासमा पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग पारवहनसहितका महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेपछि दुई देशले बुधबार संयुक्त विज्ञप्ती निकालेका थिए । यस अघि पनि मधेशी नेताहरुले चिनिया दुतावासमा ज्ञापन पत्र बुझाएका थिए ।
भारतीय राजदूत रणजीत रेको निम्तोमा ब्रेक फास्ट लिन लैनचौर पुगेका मधेसी दलका नेताहरुले आन्दोलनलाई शिखरमा पुर्याएर ‘ब्रेक’ नगर्न आग्रह गरेका थिए ।

होलीको शुभकामना लिनदिन बोलाइएको ब्रेक फास्ट भेटवार्तामा नेताहरुले यसअघि पनि भारतकै कारण आफूहरुको आन्दोलन ‘ब्रेक’ भएको गुनासो गरेका स्रोतको दाबी छ ।

चीनसँगको नेपालको सहमतिको एक दिन नबित्दै आफ्नो सक्रियता बढाएका भारतीय राजदूत रेले दूतावासमा आएका मधेसी मोर्चाका नेताहरुसँग आन्दोलनका भावी कार्यक्रमबारे जानकारी मागेका
थिए ।

आन्दोलनका कार्यक्रबारे राजदूत रेले जिज्ञासा राखेपछि मोर्चाका नेताहरुले यसअघिको आन्दोलन पनि निचोडमा नपुगि सकिएकाले यो पटक भने निचोडमै पुगिछाड्ने जबाफ दिएका थिए ।

भारतीय दूतावासमा ब्रेक फास्ट लिन उपेन्द्र यादव, महन्थ ठाकुर, राजकिशोर यादव, अनिल झा र राजेन्द्र महतोसहितका मधेसी दलका नेताहरु पुगेका थिए ।