राजदुत शेर्पामाथि छानविनको माग

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, मंसिर १९, २०७५

सिड्नी– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको विवादास्पद गतिविधिका सम्बन्धमा छानविन गर्न माग गरेको छ । राजदूत शेर्पा मानव तस्करीमा संलग्न रहेको सम्बन्धमा केहि दिन यता सार्वजनिक समाचारका विषयमा सरकार मौन रहेको काँग्रेसद्धारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरेको छ । राजदूतकै सहयोगीले उक्त विषयमा सार्वजनिक गरेको हप्ता दिन बित्दा समेत सरकारले गम्भीरतापूर्वक अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई दुखद भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कांग्रेसले घटनाबारे तत्कालै छानविन, छानविनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा शेर्पालाई उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत सरकारको ध्यानकर्षण गराएको छ । ‘कुनै पनि देशमा प्रतिनिधत्व गर्ने राजदूत व्यक्तिगत जागिर नभइ सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी हो। अत स् राजदूतका बारेमा उठेको प्रश्नमाथि तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको’ कांग्रेसले प्रेस नोटमा जनाएको छ।