नेपाललाई पहिलो एक दिवसीय श्रृंखला

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५

पारस खड्काको सानदार शतकमा नेपालले युएई विरुद्धको एकदिवसीय श्रृंखला २–१ ले आफ्नो पक्षमा पारेर ईतिहास रच्न सफल भएको छ ।
अन्तिम तथा तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृंखला आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले त्यस पछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो ।
अन्तिम तथा निर्णायक खेलको नेपालको जितमा पारस नायक रहे । पारसले तेस्रो तथा अन्तिम खेलमा सर्वाधिक १ सय १५ रन बनाए । उनले १ सय ९ बलको सामना गर्दै १५ चौका १ छक्काको मद्दतमा १ सय १५ रन जोडेका हुन् । पारस खड्का एकदिवसीय क्रिकेटमा शतक बनाउने नेपालको पहिलो ब्याट्सम्यान समेत भएका छन् । उनले नेदरल्याण्ड्स विरुद्धको खेलमा ५१ रन बनाएका थिए । त्यस्तै उनी एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन् । यसअघि सन् २०१८ मा युएईसंगै भएको डिभिजन–२ को फाइनलमा समेत पारसले शतक प्रहार गरेका थिए । उनले उक्त खेलमा ११२ रन बनाएका थिए ।
पारस खड्का कदिर अहमदको बलमा एलबिडब्लु आउट भए । ओपनिङ व्याट्सम्यानका रुपमा आएका विनोद भण्डारी ९ रनमा आउट भएपछि उनले नेपालको पारी सम्हालेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ तथा सोमपाल कामिले अविजित २६ रन बनाउँदा यसअघिको खेलमा अर्धशतक प्रहार गरेका रोहित पौडेलले १६ रन बनाए । युएईका इमरान हैदर र अस्फाक अहमदले समान २–२ विकेट लिए ।
यसअघि आइसिसी एकेडेमी दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन जोडेपछि नेपालले सिरिज जित्न २ सय ५५ रनको लक्ष्य पाएको थियो ।
खराव सुरुवात गरेको युएईका मध्यक्रमका व्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्दा युएई सम्मानजनक योगफल तर्फ उन्मुख भएको थियो । ओपनिङ व्याट्सम्यान अस्फाक अहमद र चिराग सुरीलाई शुन्य रनमा गुमाएको युएईले पाँचौ विकेटका लागि सिपी रिजवान र सैमान अनवरबीच एक सय रनको पार्टनरसिप भएपछि सम्मानजनक योगफल तयार पारेको थियो । युएईका अनवरले सर्वाधिक ८७ रन बनाए । त्यस्तै रिजवानले ४५ रन बनाउँदा मोहम्मद बुटा ५९ रनमा अविजित रहे । नेपालका पारस खड्का र करण केसीले समान २–२ विकेट लिए । नेपालले एकदिवसीय मान्यता पाएपछि यसअघि नेदरल्याण्ड्ससँग खेलेको पहिलो सिरिज १–१ को बराबरीमा सकिएको थियो ।

नेपाल पहिलो पटक बरियतामा
पहिलो एक दिवसिय श्रृंखला जिते लगत्तै नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा प्रवेश गरेको छ । नेपालले युएईलाई ४ विकेटले पराजित गर्दै तीन खेलको सिरिज २–१ ले जिते लगत्तै आइसीसीले वरियतामा समावेश गरेको हो । पहिलो एकदिवसीय अन्तर्रा्ष्ट्रिय सिरिज जितेको नेपाल आइसीसीको वरियतामा १५ औं स्थानमा छ । वरियतामा नेपालले १० खेल खेल्दा १५२ अंक पाएको छ । आइसीसीले गत मार्चमा विश्वकप छनोटमा खेलेका ४, नेदरल्याण्ड्सविरुद्धको १, एसिया कप छनोटमा युएईसंग खेलेको १ खेललाई पनि समावेश गर्दै वरियतामा नेपाललाई राखेको हो ।
नेपालले नेदरल्याण्ड्सविरुद्धको २ खेलको सिरिजसंगै एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा डेब्यू गरेको थियो । उक्त सिरिज एक–एकको बराबरीमा सकिएको थियो । नेपालले गत मार्चमा भएको विश्वकप छनोटबाट ४ वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको हो ।
वरियताको पहिलोदेखि १० औं स्थानमा क्रमशः इङ्ल्याण्ड, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तान रहेका छन् । त्यस्तै जिम्बावे ११, आयरल्याण्ड १२, स्कटल्याण्ड १३ र युएई १४ औं स्थानमा रहेका छन् ।