आशाबादी नराम्रो पनि राम्रोलाई खोज्दछन्  ! राम्रोमा पनि नराम्रोलाई देख्दछन्  !! धार्मिक व्यक्ति दुवैबाट पार हुन्छन्  !!!

-- उत्तमराज पण्डित , आसन, प्रणायाम एवं ध्यान प्रचारक / प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५

उन्नती प्रगति गर्ने व्यत्तिहरू नराम्रो कुराहरूमा पनि राम्रो खोज्ने प्रयास गरिरहन्छन् भने उन्नती प्रगति नगर्ने व्यक्तिहरू राम्रोमा पनि नराम्रोलाई देख्ने प्रयास गरिरहन्छन् तर दुवै अवस्थामा आशा जोडिएको आशाबाट नै अशन्तोषको जन्म हुन्छ । आशाबादी र निराशाबादीको दृष्टिकोण अलग अलग हुन्छ । तर मनको अवस्था एउटै हुन्छ । दुवै अवस्थामा मन हुन्छ । मनले कहिल्यै पनि समग्रलाई देख्न सक्दैन । सही धार्मिक व्यक्ति दुवै अवस्थाबाट अलग हुन्छन् अर्थात चुनाव रहित हुन्छन् । कि दुबैलाई एकैसाथ देख्दछन् अर्थात जन्ममा मृत्युपनि देख्दछन् मृत्युमा जन्म पनि । मृत्युमा जन्म देख्न परिधि र केन्द्र दुबैको बोध भएमा यो अवस्था प्रकट हुन्छ तव नै चुनाव रहित हुन पुगिन्छ । आशा एवं निराशा दुवैबाट पार हुन पुगिन्छ । एक पटक मात्र केन्द्रित हुन जानेमा सारा पकडहरू स्वतः छुट्न पुग्दछ । सारा पकडहरू छुट्न पुगेपछि नै उत्तेजना रहित हुन पुगिन्छ । उत्तेजना रहित अवस्थानै आनन्दको अवस्था हो नब नै बिना कुनै कारण प्रसन्नता उत्पन्न हुन थाल्दछ । स्वयंमा केन्द्रित हुन थालेपछि समग्रतालाई जान्न सक्ने सम्भाबना बढ्न थाल्दछ । समग्रतालाई जान्नासाथ सारा समस्याहरू बाट मुक्त हुन पुगिन्छ । र यही नै सही धार्मिक अवस्था हो ।

बाहिर एवं भित्रको सन्तुलत
सबै जीवहरूलाई श्वास लिनु पर्दछ र श्वास फाल्नु पनि पर्दछ । शरीरलाई भोक र प्यास लाग्दछ त्यसैले आहार एवं पानीको आवश्यकता पनि पर्दछ । बाहिरी चीज विना शरीर जीवित रहन सक्दैन । बाहिरी चीजको विरोधमा मात्र जानु शरीरको विरोध गर्नु हो । मानव शरीर विना स्वयंको बोध असम्भव छ । श्वास–प्रश्वास विना दुई चार मिनेट पनि जीवित रहन सकिदैन । श्वास बाहिरी तत्व हो । शरीरलाई जीवित राख्न श्वास–प्रश्वासको आवश्यकता पल पल छ । शरीरलाई आहार एवं विश्राम पनि त्यत्तिकै आवश्यक छ । त्यसैले जीवन भित्र र बाहिर दुवैसंग समान रुपमा सम्बन्धित छ । चेतना र शरीर बीच एक आपसमा अन्तर सम्बन्ध छ । यही अन्तर सम्बन्ध कायम रहिरहँदा सम्म शरीर जीवित रहन्छ । बाहिरको सम्बन्ध पदार्थ सँग हुन्छ । पदार्थ सँग सम्बन्धित कुराहरूलाई विज्ञान भनिन्छ । भित्रको सम्बन्ध अ–पदार्थ सँग हुन्छ । अ–पदार्थको खोजलाई नै धार्मिक खोज भनिन्छ । भित्रको सन्तुलन धर्मले गर्दछ भने बाहिरको सन्तुलन विज्ञानले गर्दछ । धर्म र विज्ञानको सन्तुलनबाट नै व्यक्ति सहि धार्मिक हुन पुग्दछ । विज्ञानले पदार्थलाई ठीक पार्दछ भने धर्मले मनलाई । पदार्थ र मनको सन्तुलनबाट अ–मनको जन्म हुन पुग्दछ । अ–मनको अवस्था नै धार्मिक अवस्था हो ।

त्यहा“ कुनै कर्म पुग्न सक्दैन
यदि आफ्नो आन्तरिक स्वभावलाई जान्न सकेमा कुनै किसिमका बादलहरूले प्रभाव पार्न सक्दैनन् । अर्थात कर्महरू आउँदछन् जान्छन्, धारणाहरू आउँदछन् जान्छन् तर अन्तर आकाशमा कुनै प्रभाव पर्दैन । अन्तर आकाश अस्तित्वको असिम सागर हो । अन्तर आकाशमा कुनै कर्म र विचारहरू पुग्न सक्दैन । शरीर पदार्थहरूबाट बनेको हो र यो पदार्थमा नै विलिन हुन्छ । शारिरीक मृत्युपछि सारा तत्व आफ्नै स्वभावमा फर्किन्छन् अर्थात आफ्नै धारमा प्रवेश गर्दछन् । यी सबै तत्वहरूको पार एक एक अ–तत्व छ । त्यही अ–तत्वलाई जान्नु नै धर्म हो । अ–तत्वलाई जान्न सकेमा सबै कार्यहरू स्वतः भइरहेको थाहा हुन पुग्दछ । जव भित्रको आयामलाई जानिन्छ तव नै रोग र शोकको पीडाले असर पार्न सक्दैन । रोग र शोक त आउँदछ तर आँफू अप्रभावित भइन्छ । यही अवस्थामा नै कर्ता आँफू होइन भन्ने बोध हुन्छ । यस अवस्थामा नै सारा घमण्ड, अंहकार, चिन्ता सबै विलिन हुन पुग्दछ । द्धन्द्ध समाप्त हुन्छ र्निद्धन्द्धको जन्म हुन्छ । र्निद्धन्द्धको अवस्थामा नै कर्म गरिरहिन्छ तर कर्मबाट अलग अप्रभावित हुन पुगिन्छ ।

क्रान्तिकारी एवं प्रतिक्रियाबादी
अरुको अनुकरण गर्नुलाई प्रतिक्रियाबादी भनिन्छ भने अरुको विरोधमा उर्तिनुलाई क्रान्तिकारी भनिन्छ । दुवै अवस्था अरुसँग सम्बन्धित छ । अरुसँग सम्बन्धित अवस्था धार्मिक अवस्था होइन । धार्मिक व्यक्ति केवल सजगतामा बाँच्दछ । धार्मिक व्यक्ति न त कसैको विरोधमा हुन्छ न त कसैको पक्षमा । धार्मिक व्यक्ति त केवल बोधपूर्ण अवस्थामा मात्र हुन्छ । धार्मिक व्यक्ति न त कसैलाई नीतिनियम दिन्छ न त ऊ सँग कुनै नीतिनियम हुन्छ । धार्मिक व्यक्ति स्वयंमा केन्द्रित हुन्छ । धार्मिक व्यक्ति सारा नीतिनियम बाट अछुतो रहिरहन्छ । धार्मिक व्यक्ति न त समाजको पक्षमा हुन्छ न त समाजको विपक्षमा । धार्मिक व्यक्ति सम्भव भएसम्म सिक्दछ, जान्न खोज्दछ र सबै अवस्थाहरूबाट पार हुन्छ । सारा नीति नियम, चरित्र, नैतिकता, भाषा, परिभाषा, शब्द, अर्थ आदिबाट पार भएको अवस्थामा नै धार्मिक घटना घट्दछ । अरुलाई सुन्दा आफ्नो केन्द्रबाट हट्न पुगिन्छ । आफ्नै केन्द्रमा रहिरहेर मात्र अरुलाई सुन्नु पर्दछ तव नै डामाडोल हुनबाट बच्न सकिन्छ । आफ्नो केन्द्रमा बसिरहँदा नै सत्य र असत्यलाई प्रष्ट सँग थाह पाउन सकिन्छ । तर आफ्नो होसलाई डामाडोल बनाउन सकिदैन किनकी उसले जान्दछ कि कुन मृत्यु हो र कुन अमृत हो । अमृतलाई जानेमा व्यक्ति सदा अमृत संगै रहिरहन्छ ।

झूटो हा“सो भन्दा क्रोध नै राम्रो
यस बौद्धिकबादी युगमा जहाँ शिक्षा एवं भौतिक विकास पहिलाको तुलनामा चरम अवस्थामा पुगिरहेको छ । विकसित मुलुकमा सबै शिक्षित छन् । सबै भौतिक सुख सुविधामा सु–सम्पन्न छन् । अहिलेका धनी मुलुकहरूमा गरिव व्यक्तिले पनि पहिलेका सम्राटहरूको भन्दा राम्रा घर, राम्रा कपडाहरू, राम्रा सुख सुविधाका साधनहरू प्रयोग गर्न सकेका छन् । यी आदि सबै सुख सुविधाहरू हुँदा पनि यिनीहरूमा बास्तविक हाँसो छैन । हाँस्नको लागि रमाउनको लागि नसाहरूको आवश्यक्ता परिरहेको छ । हर हाँसोमा बेहोसीपन छ, झुट छ, भित्र ईष्र्या लुकेको छ तर झूटपूर्ण हाँसो बाहिर प्रकट गरिएको छ । धार्मिक यात्राको लागि झूटपूर्ण हाँसोभन्दा क्रोध नै राम्रो हुन्छ । क्रोधलाई लुकाएर हाँसेको व्यक्तिले धार्मिक यात्रा सुरु गर्न कठिन छ । यथार्थताबाट नै सही धार्मिक यात्रा सुरु हुन्छ । झूटबाट सुरु गरिएको यात्राले झूट ठाउँमा नै पुर्याउँदछ । यही कारण धार्मिक यात्राको लागि झूट हाँसो भन्दा सत्य क्रोध नै राम्रो हुन्छ ।

धनीहरू समृद्ध नरकमा
शारिरीक आवश्यकता पूरा गर्न धन चाहिन्छ तर धनको मात्र चाहना गर्ने व्यक्तिहरू सदा सन्तापमा भइरहन्छन् । धनलाई आवश्यकताको रुपमा लिने स्वस्थता र प्रसन्नतालाई महत्व दिने व्यक्ति सदा चिन्ता मुक्त हुन्छन् । नरक र स्वर्ग कुनै भौगोलिक अवस्था होइन स्वर्ग र नरक त मानसिक अवस्था हो । यस सत्यलाई जान्न अति आवश्यक छ । मानसिक अवस्थालाई ठीक पार्न शारिरीक आवश्यकता र आत्माको आवश्यकतालाई जान्नु पर्दछ । शरीरलाई नभइ नहुने आवश्यकताहरू जस्तै आहार, निन्द्रा, प्यास, विश्राम आदि । शारिरीक आवश्यकता पूरा गर्न साधारण मेहनत बाटै सम्भव छ । आत्मिक आवश्यकता हो चिन्ता मुक्त अवस्था । चिन्तामुक्त अवस्था धन र पदबाट पूरा हुन असम्भव नै छ । ज्यादा धन र पदबाट मन शान्ति बढ्न थाल्दछ । आत्मिक आवश्यकता पूरा गर्नको लागि सत्संगका अभ्यासहरू गरिरहनु पर्दछ । मनप्रति जागरण ल्याइरहनु पर्दछ । कर्म गर्दै आध्यात्मिक साधनामा लागिरहनु पर्दछ तव नै विस्तारै आत्मिक आवश्यकता पूरा हुन थाल्दछ । यसरी शारिरीक एवं आत्मिक आवश्यकता पूरा गर्न लागिरहनु नै आध्यात्मिक साधना हो । धन एवं पदको मात्र खोजी गरिरहने व्यक्तिले कहिल्यै पनि मानसिक शान्ति प्राप्त गर्न सक्दैन । त्यसमा धर्म जोड्नै पर्दछ शब्दबाट त शान्तिको कुरा गर्ला तर व्यबहारबाट असम्भव छ । त्यसैले केवल धन र पद मात्र प्राप्त गरेका व्यक्तिले मात्र यसैको खोजीमा लागिरहेका व्यक्तिहरू सदा समृद्ध नरकमा डुविरहन्छन् । समृद्ध नरकको अर्थ हो भएर पनि मन सदा दुःखी ।