अस्ट्रेलियाको चुनाबमा नेपाली समुदाय प्रभावी बन्दै

नेपाली सामुदायिक केन्द्रका लागि बजेट छुट्याइयो
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६

जव मुलुक एउटा तिब्र प्रतिस्पर्धापूर्ण निर्वाचनमा होमिन्छ तब दलहरु जनमत आफु तिर तान्न कुनै कसर बाकि राख्दैनन् | यति बेला अस्ट्रेलियाको निर्वाचन अभियान त्यस्तै छ | दुइ प्रमूख दलहरुको बीचमा प्राइमरी भोट बीचको फरक ५१ प्रतिशतको बिरुद्ध ४९ प्रतिशत छ | थुप्रै मतदाताहरु आफ्नो निर्णय लास्ट दिन वा एक दिन अगाडी गर्ने हुनाले पनि अनिर्णयमा बसेका मतदाता लाइ आफु तिर तान्न पनि नेता हरुलाई भ्याई नभ्याई छ यति बेला |

चुनावी तिब्र प्रतिस्पर्धा र उल्लेख्य संख्यामा नेपालीहरुले पनि यो मतदानमा भाग लिने अवस्थाले गर्दा दुवै प्रमुख दलहरुले नेपाली सामुदाएको मत आफूतिर तान्न आ-आफ्नो दलबाट सक्दो सहयोग गर्ने घोषणा गरेका छन् |

गत ११ मे एनआरएनए तेश्रो ओसेनिया क्षत्रीय बैठकमा अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मन्त्रि डेविड कोलम्यानले गठबन्धन सरकार पुन निर्वाचित भएमा नेपाली सामुदायिक केन्द्र निर्माणका लागि एक मिलियन डलर दिने घोषणा गरे | त्यसका लागि अस्ट्रेलियामा सबै भन्दा पुरानो नेपाली सामुदायिक संस्था नेप्लीज अस्ट्रेलियन एशोसिएन ( एनएए ) ले बिगतमा लामो समय देखि लबी गरेको थियो | गठबन्धन सरकारले प्रदान गर्ने अनुदान पनि एनएए मार्फत नै प्रदान गर्ने मन्त्रि कोल्म्यानले जानकारी दिए |

त्यसको पर्सि पल्ट मे १३ सोमबारका दिन बिपक्षी लेबर पार्टीले पनि त्यस्तै खालको घोषणा गरेको छ | अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मामिला सम्बन्धि छाया मन्त्रि टोनी वर्क ले पनि दक्षिण एसियन समुदायलाइ २.१ मिलियन प्रदान गर्ने र नेपाली समुदायलाइ सामुदायिक केन्द्र निर्माण गर्नका लागि १ मिलियन डलर प्रदान गर्ने घोषणा गरे |

नेपाली समुदायको बढोत्तरी संगै अस्ट्रेलियामा हाम्रो समुदायलाइ लक्षित गरि नीति तथा कार्यक्रमहरु बन्दै जन थालेका छन् | नेपाली भाषा सामुदायिक भाषा बनेको छ र  नेपाली भाषा पढ़शाला संचालनका लागि सरकारी सहयोग मिलेको छ | नेपालीहरु मन्त्रिस्तरीय सुझाब समितिमा बसेर काम गर्ने अवसर मिलेको छ भने  राजनीतिमा पनि  स्थानीय काउन्सिल देखि संघिय संसदसम्म नेपाली समुदायका सक्षम व्यक्ति हरुलाई उम्मेदवार बनाइ देशको मूलधार राजनीतिमा प्रवेश गराउने प्रक्रिया सुरु भैसकेको छ | आउदा दिनहरुमा बहुसांस्कृतिक मामिला सम्बन्धि भूमिकामा नेपाली हरुको प्रवेश र संलग्नता रहने देखिन्छ |

प्रवासमा दिन प्रतिदिन सशक्त र सबल बन्दै गरेको नेपाली समुदाय अस्ट्रेलियामा आफ्नो सकारात्मक प्रभाव जमाउदै गरेको देखिन्छ | हाम्रो समुदाय यहाँको मूलधार समाजमा बास्तबमै “नोटिसेबल” बनेको छ |   आउदा दिन हरुमा यस्ता थुप्रै अवसरको सम्भावनाहरु बोकेको हाम्रो समुदायमा समुदायका अग्रजहरुबाट निरन्तर मार्गदर्शन, बृहत एकता, समन्वय, पारस्परिक सहयोग र सद्भाव अत्याबस्यक छ |