सक्षम संसारका लागि समानता

-- सम्पादकीय मार्च अंक २०२०, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, फाल्गुन २७, २०७६

“यत्र नारी पुज्यन्ते, रमन्ते तत्र देवता” अर्थात जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता पनि खुसी रहन्छन् भन्ने हरफ हजारौं वर्ष अगाडि हिन्दू शास्त्रमा रचित भइ यसलाई हाम्रा ऋषी मुनिहरु ले पालना गर्दै आएको बिश्वास गरिन्छ । यी हरफहरु बाट नारीको महिमा हाम्रो हिन्दू शास्त्रले सदियौंदेखि गर्दै आएको छ भन्ने देखिन्छ । अर्को तिरबाट हेर्दा जब जब नारी अधिकारका कुराहरु उठ्छन् धेरै पटक यी हरफ दोहोरिने गर्छन् । त्यसमा पनि जब नारी दिवस नजिकिन्छ यी हरफहरुबाट फेरि धुलो टकटकिन्छ तर व्यबहारिक नारी हकहितका सबालमा हाम्रो समाज र देश सोचे अनुसार माथि उठ्न पटक्कै सकेको छैन ।
बलात्कार पछाडिको हत्या र दाइजोको नाममा हाम्रा चेलीहरु जिउँदै जल्न अझै छोडेका छैनन् । एसिड प्रहारले विक्षिप्त चेलीहरु र छाउपडीको नाम कति किशोरीहरु कोठेरीमा थुनिएका छन् भने उचित महिला शौचालय नहुँदा दुरदजाका मात्र होइन सदरमुकाम छेउछाउका छात्राहरु ले महिनामा ४/५ दिन स्कुल छोड्ने गरेका छन् । यही सेरोफेरोमा फेरि पनि हामी अन्तराष्ट्रिय नारी दिवस मनाउँदै छौं । नारी दिवसका नाममा कयांै होटेल र रिसोर्टहरु बुक भइसके हुन्, कतिले भाषणका ठेली लेखिसके हुन् । राज्य संधै उदासिन रहने हाम्रो देशमा नारी उत्सब आउँछन् जान्छन् तर महिलाका समस्या जस्ताको तस्तै ।
जव राज्यका नियमन गर्ने निकायहरु कमजोर हुन्छन्, प्रहरी प्रशासन महिला मैत्री हुदैनन्, अदालतको ढिला सुस्तीले अपराधी उम्कि सक्छन् आफ्ना नागरिकका जनजीविकाका सबालमा राज्य निरही देखिदा चनाखो हुनु पर्ने नागरिक समाज हो । महिला हिंसाको सबालमा नागरिक समाजले आफ्नो भूमिका बढाउन नसक्नु हाम्रो सामाजको अर्को दुःखद पाटो हो ।
त्यसो त नियम काननुको तगारो देखाउँदै महिला हिंसाका कयौं सबालमा राज्य पन्छिन खोज्छ । जब एउटी चेली दिन दहाडै कथित पुरुषार्थी मर्दको काम बासनाको शिकार हुन्छे, अदालतको ढोका ढक्ढकाउन पुग्नु अगाडि नै समाजले उसलाई उसको लबाई खवाईको प्रश्न तेर्साउँछ । यस्ता प्रश्नको सामना गर्दै पुलिस प्रशासन र अदालतको ढोकासम्म पुगेकी चेली र तिनका बाबु आमा, सोध खोज र अपराधीसम्म पुग्नु पर्ने पुलिस प्रशासनको उल्टो केरकारले झन् विक्षिप्त हुन्छन् । उदाहरणको लागि बिगत २ वर्ष देखि छोरीको बलात्कार पछाडिको हत्यामा न्याय खोज्दै गरेका निर्मला पन्तका बाबु आमा वा स्कुल जादै गर्दा एसिड प्रहारको शिकार बनेकी मुस्कान खातुनको परिवार हेरे पुग्छ ।
बाहय कुराहरु छोडेर घर भित्र हेर्दै गर्दा पनि ठूला ठूला गफ गर्दै सभा सम्मेलनमा नारी आधिकारका ठूलै कुरा गर्नेहरु पनि जब घर छिर्छन श्रीमतीलाई मोजा खोलाउन रमाउँछन् । छोरी जन्मेकोमा स्वास्नी कुट्छन्, सन्तानमा देखिएको कमजोरी सुस्ताउन रंगी बिरंगी कोठा छिर्छन र फेरि मौका पाउँदा नारी अधिकारका सभाहरुमा खादा ओढिरहन्छन् ।
फेरि पनि प्रसङ्ग “यत्र नारी पुज्यन्ते, रमन्ते तत्र देवता” को अब यसमा पनि परिबर्तन हुनु जरुरि छ । पुज्न त हामी ढुंगालाई पनि पुज्छाैं, जब ईश्वरको प्रतीक मानेर ढुंगा पुज्छौं आस्था त त्यति बेला पनि त चुलिन्छ । नत्र ढुंगा त ढुंगा नै हो । त्यसैले जबसम्म एउटी नारी छोरी, दिदी ,बैनी, श्रीमती, बुहारी र आमा बन्दासम्म पनि हाम्रो समाजमा साक्षत देबीलाई प्रतिस्थापन गर्न सकिदैन तब नारी पुज्दैमा देवता खुसी हुन्छन भन्नुको आसय रहँदैन । अर्को तर्फ यो बाक्यले देवता खुसी पार्नका लागि मात्रै भए पनि नारीलाई पुज भनेर भनेको हो भनेर बुझ्ने बहुलठ्ठि पुरोहितहरु पनि हाम्रो समाजमा कम छैनन् ।
तसर्थ नारीलाई पुज्ने भन्दापनि समान अधिकार, सामाजिक कदर र अवसरको श्रीखण्डले सिंचित गरेर कुनै मैदानमा छोडाैं । अनि भनौंला नारी पुज्नका लागि होइनन्, प्रकृति र मानब जीवनलाई सार्थक पार्ने अतुलनीय मानब प्रणालीका जोडदार हिस्सा हुन् । यहि सेरोफेरोमा फेरि पनि आशा गरौं अन्तराष्ट्रिय नारी दिवसले यो पटकको नारी दिवसको बिम्ब “An equal world is an enabled world” अर्थात “समानतामूलक संसार नै सक्षम संसार” #EachforEqual कागजमुखी होइन सुगन्धमय फूल बनेर हरनारीको आत्मसम्मान सहित वर्षभरि नै सुगन्ध छर्न सकोस् । शुभकामना !!!