झापामा पीसिआर ल्याब संचालनका लागि अन्तराष्ट्रिय झापाली समाजको सहयोग

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, साउन १६, २०७७

अन्तराष्ट्रिय झापाली समाजका तर्फबाट झापामा पिसिआर ल्याब खरिदका लागि आर्थिक सहयोग गरेको छ । यसका लागि “एकका लागि एक” अभियान संचालन गरि रकम संकलन गर्न सुरु गरिएको हो । अर्थ संकलनका संयोजक तथा वरिष्ठ उपाध्यक्ष दिपक खनालले साउन १२ गते बिर्तामोडमा एक कार्यक्रमकाबीच अभियानलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको जानकारी दिएका छन् । खनालले यो अभियानको उद्देश्यको बारेमा प्रकाश पार्दै यसलाई सार्थक बनाउन संसारभर रहेका झापाली समाज, सामाजिक व्यक्तित्वहरु लगायत बिभिन्न संघसँस्थाहरुले गरेको सहयोगको प्रशंसा गरेका छन् । यसैगरि विपदका बेलामा आफ्नो मातृभूमि झापा हाल संसार भरि रहेका नेपाली दाजुभाइहरुले गरेको यो अमुल्य सहयोग खेर नजाने र यसले झापालीहरुलाई मात्र नभई सम्पुर्ण नेपालीका लागी उपयोगी हुने बताए ।

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न झापामा शुरु गरिएको एकका लागि एक अभियानलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहेको र यस अभियान अन्तर्गत ल्याव संचालन गर्न केही प्रकृया बाँकी रहे त्यसलाई आफ्नो तर्फबाट पहल गरी पूरा गर्ने प्रतिबद्दता जनाएका छन् ।

अन्तर्राष्ट्रिय झापाली समाजले गत शुक्रबार साँझ आयोजना गरेको भच्र्युअल बैठकमा प्रमुख अतिथीको रुपना बोल्नुहुँदै मन्त्री कार्कीले कोरोना भाइरस पहिचानका लागि गरिने ल्याबको संख्या बढाउनुपर्नेमा स्थापना भइसकेको ल्याब चल्न नदिने कुरा आउनु सान्दर्भिक नरहेको बताउदै त्यसका लागि प्रदेश सरकारले सहयोग पुरयाउने स्पष्ट पारे ।

कहीँकतैबाट अवरोध आए त्यसलाई हटाउन आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दे उनले प्रदेश १ मा कम्तिमा पाँचवटा ल्याब हुनुपर्नेमा हाल तीनवटा मात्र रहेको र स्थापना भइसकेको ल्याब तुरुन्त सञ्चालनमा ल्याउन आवश्यक भएको बताए ।

प्रदेशमा ल्याब पर्याप्त नरहेको र बढीभन्दा बढी ल्याब सञ्चालनमा ल्याउन खाँचो भएको औल्याउँदै मन्त्री कार्कीले भने, ‘यो पवित्र अभियानलाई कसैले मनोबल कमजोर पार्ने गर्नु हुँदैन । तपाईंहरु (एकका लागि एक) अघि बढ्नुहोस्, कहाँ के मिल्दैन म कुरा गर्छु ।’

अभियानले कनकाईको कोटिहोमस्थित समर्पण भवनमा ल्याब स्थापना गरेर सरकारलाई हस्तान्तरण गर्ने यसअघि नै बताएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइको नाममा झापामा मेची अस्पताललाई मात्र ल्याब सञ्चालनको स्वीकृति दिने पत्र आएको बताइएको छ । जनस्तरवाट सञ्चालनमा आउन लागेको यो ल्याब कुनै हालतमा रोकिनु नहुने उनले बताए । बैठकमा जिल्ला समन्वय प्रमुख सोमनाथ विश्वकर्माले मेची अस्पतालबाहेक अन्यत्र ल्याबको आवश्यकता नरहेको बताएपछि मन्त्री कार्कीले सरकारले निजी क्षेत्रलाई पनि न्यूनतम शुल्क लिएर ल्याब सञ्चालनको अधिकार दिइसकेकाले सञ्चालनमा अवरोध आउन नहुने प्रस्ट पारे । मेची अस्पतालको मातहतमा ल्याब सञ्चालन हुन नसके एकका लागि एक अभियानलाई कानुन संशोधन गरेर भए पनि अनुमति दिनुपर्ने उनको भनाइ छ ।

अभियान सुरु हुनुभन्दा अगाडि आफूसँग पटकपटक छलफल भएको बताउदै मन्त्री कार्कीले ल्याबका विषयमा पनि आफू र सामाजिक विकास मन्त्रालयलाई अगाडि नै जानकारी गराइएको र कोटिहोम क्षेत्र भौगोलिक तथा अन्य हिसाबले पनि उपयुक्त स्थान रहेको भनाई राखे ।

बैठकमा संघीय सांसद एलपी साँवा, राजेन्द्र लिङदेन, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालगायत झापाली राजनीतिज्ञ सहभागी थिए । उनीहरुले कोटिहोममा पिसिआर ल्याब स्थापना भइसकेको र यथासक्य चाँडो सञ्चालनमा ल्याउन सरकार लाग्नुपर्ने धारणा राखेका थिए भने अन्तराष्ट्रिय झापाली समाजले हालसम्म गृह जिल्लामा गरेको परोपकारी काम उदाहरणीय रहेको र आउँदा दिनमा पनि आफ्नो क्षेत्रबाट केही सहयोग गर्नु परेमा त्यसमा पुर्ण सहयोग रहने प्रतिबद्दता व्यक्त गरे ।

बैठकमा अभियानका संयोजक महेन्द्रकमार गिरीले समुदाय, सहकारी र सरकारको सहकार्यमा ल्याब सञ्चालनमा आउने लागेको र हालसम्म एक करोड ६८ लाख रुपैयाँ संकलन भइसकेको र रु४७ लाख रुपैयाँ खाद्यान्न, भिटिएम, आरडिटी लगायतमा खर्च भएको जानकारी दिए ।

त्यस्तै, बैठकमा समाजका संरक्षक दिनेश पोखरेल, समाजका बरिष्ठ उपाध्यक्ष दिपक खनाल, उपाध्यक्ष दिपक चुडाल, ओसेनिया सह–संयोजक अजय राजबंशी, झापाली समाज अष्ट्रेलियाका अध्यक्ष उमेश पोखरेल सहित समाजका पदाधिकारी तथा सदस्यहरु तथा सल्लाहकारहरु, राष्ट्रिय समितिका सदस्यहरु, अभियानका सदस्यहरु तथा पत्रकारको सहभागिता रहेको थियो ।

कार्यक्रम अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष दिपक ओलीले संचालन गरेका थिए भने महासचिव खेमराज जम्मरकट्टेलले सहजकर्ताको भुमिका खेलेका थिए । समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।