यसरी मनाइयो सिड्नीमा संबिधान दिवस !

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, अशोज ३, २०७७

कोभिड-१९ बन्दाबन्दिका बीच अष्ट्रेलियाको प्रमुख शहर सिड्नीमा पाचौ संबिधान दिवस मनाइएको छ ।

न्यूसाउथवेल्स नेपाली महाबाणिज्यदूत दिपक खड्काको संयोजकत्वमा नर्थ सिड्नीस्थित कन्सुलेट अफिसमा आयोजित संबिधान दिवस शुभकामना आदान-प्रदान कार्यक्रममा प्रत्यक्ष र अनलाइन जूम मार्फत सहभागीहरुको उपस्थिति थियो।

कार्यक्रममा बिशेष अतिथिको रुपमा लेबर सांसद मिशेल रोल्याण्डले आफ्नो निर्वाचन क्षेत्र लगाएत समग्र अष्ट्रेलियामा नेपालीहरुको बलियो उपस्थिति रहेको बताइन। बहुसांस्कृतिक अष्ट्रेलियामा द्रुत गतिमा बढ्दै गरेको नेपाली समुदायमा थुप्रै नेपालीहरुका सफलताका कथा रहेकोमा आफू गौरवान्वित भएको बताउदै यो शुभ दिनमा सबै नेपालीहरुलाई हार्दिक बधाई दिइन्।

यसैगरि अर्का अतिथि, सिनेटर एन्ड्रयु ब्रागले आजको महत्पूर्ण दिनमा सबै नेपालीहरुलाई बधाई दिदै अष्ट्रेलियामा रहेका नेपालीहरु पनि बिस्तारै मूलधार राजनीतिको माथिल्लो तहसम्म पहुच राख्न सफल भएको बताए। एन्ड्रयु ब्राग अष्ट्रेलिया- नेपाल पार्लियामेन्ट्री कमिटिका को-चेयर हुन्।

संबिधान दिवस शुभकामना कार्यक्रमका अर्का अतिथि बक्ता एनएसडब्लु प्रमुख प्रतिपक्षी दलकि नेतृ जोडी म्याकेले कोभिड-१९ क्राइसिसका बेला यहाँ रहेका नेपाली समुदायले थुप्रै नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गरिन। नेपालीहरुका लागि यो दिन बिशेष रहेकोले ठुलो त्याग र बलिदानद्वारा प्राप्त नेपालको संबिधानको आज परेको पाचौ वार्षिकोत्सवको उपलक्षमा सबैप्रति हार्दिक शुभकामना व्यक्त गरिन।

शुभकामान आदान-प्रदान कार्यक्रममा बोल्दै एनआरएनए आइसीसीका उपाध्यक्ष मन केसीले यो संबिधान लामो संघर्ष र नेपाली जनताको उत्कट चाहनाको उपज हो भन्दै अष्ट्रेलियन नेताहरुलाई गत चुनाव अगाडी नेपाली समुदायमाझ समुदायिक भवन बनाउनकालागि गरेको सहयोगको वाचा पूरा गर्नकालागि स्मरण गराए।

त्यसैगरि एनआरएनए  ओसेनिया महिला क्षेत्रीय संयोजक जानकी पौडेलले संबिधान दिवस हाम्रो एउटा महान पर्व जस्तो हो भन्दै यो संबिधानले हरेक खालका विभेदको अन्त्य गरोस भन्ने मन्तब्य व्यक्त गरिन।

कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गर्ने क्रममा एनआरएनए अभियन्ता भवानी ओलीले यो संबिधान उत्तम संबिधान रहेको र यसका पछाडी थुप्रै अग्रजहरुले आधार तयार परेको बताउदै नेपाली राजनीतिमा  बिपी कोइराला, पुष्पलाल र मदन भण्डारीको योगदानको स्मरण गराए।

कार्यक्रममा प्रवासी नेपाली एकता मंचका अध्यक्ष रमेश पाण्डेले बर्तमान संबिधानको मूल मर्म भनेको नै संघियता र समबेशिता हो भन्दै संबिधान घोषणा पश्चात् सम्पन्न पहिलो निर्वाचनमा बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले सुखी नेपाली र संवृद्ध नेपालको परिकल्पना अनुसार काम गरेको बताए।

कार्यक्रममा शुभकामना मन्तब्यको क्रममा  एनआरएनएका उपाध्यक्ष देब गुरुङले एनआरएनएले यहाँ रहेका नेपाली बुवा-आमाहरुलाई चार्टर फ्लाइट मार्फत नेपाल पठाउन ठुलो भूमिका खेलेको बताउदै अर्को संबिधान दिवस आउनु अगावै एनआरएनए नागरिकताको टुंगो लागोस भन्दै नेपाली नेताहरुको ध्यानाकर्षण गराए।

कार्यक्रममा बोल्दै एनआरएन अभियन्ता तथा कनूनविद् डाक्टर समशेर सिंह थापाले हाम्रो संबिधानमा नागरिकका मौलिक अधिकार सम्बन्धि आधारभूत कुरा समेटिएको छ तर ति मूल्य र मान्यताहरुलाइ इमान्दारीपूर्वक लागू गर्ने राजनीतिक इच्छाशक्तिको अभाव रहेको औल्याउदै माथिल्लो तहको हस्तक्षेप रोक्नु पर्ने बताए।

संयोजकको तर्फबाट बोल्दै न्यूसाउथवेल्सका लागि नेपाली महाबाणिज्यटूत दिपक खड्काले संबिधान सभाबाट लिखित यो पहिलो संबिधान भएकोले यसले सम्पूर्ण नेपालीको भावना समेटेको र अधिकार सुरक्षित गरेको बताए। कतिपय मानिसहरु अझैपनि संबिधानप्रति सम्बेदनशिल रहेको अवस्थामा यसमा संलग्न व्यवस्थाका बारेमा सबैलाई सुसूचित गराउनु जरुरि रहेको बताए। घर राम्रो बनेको छ तर भित्र सिंगार गर्ने काम निरन्तर हुदै जानेछ भन्दै संबिधानमा सुधार गर्दै सरकार “सुखी नेपाली र संवृद्ध नेपाल” को मार्गमा लाग्ने बताए।

छोटो सूचनाका बाबजूद पनि उपस्थितिका लागि सबैलाई हार्दिक धन्यवाद दिदै कोभिड-१९ महामारीबाट सुरक्षित रहन कन्सुलेट जनरल दिपक खड्काले सबैलाई आग्रह गरे।

नेपाल र अष्ट्रेलिया दुवै देशका राष्ट्रिय गानबाट प्रारम्भ गरिएको संबिधान दिवस शुभकामना आदान-प्रदान कार्यक्रम एनआरएनए ओसेनिया सम्योजक होम पाण्डेले संचालन गरेका थिए।