सत्ताको उन्माद

-- अभय श्रेष्ठ / प्रकाशित मिति : शनिबार, अशोज २४, २०७७

शक्तिको उन्माद अत्यन्त अविवेकी र उत्ताउलो हुन्छ । जंगबहादुर राणाका छोरीहरूको उन्माद र उनकै छोराहरूको पतनले धेरै कुरा प्रष्ट पार्छन् । पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहको हत्या गर्ने शेरबहादुर शाहलाई त्यही ठाउँमा काटेर बालनरसिंह कुँवरले दरबारमा आफ्नो उल्लेख्य स्थान बनाएका थिए । उनका सात छोरामध्ये अत्यन्त महत्वाकांक्षी जेठा जंगबहादुरले रानी राज्यलक्ष्मीको साखुल्ले बन्न पहिला आफ्नै मामा प्रधानमन्त्री माथवरसिंह थापालाई गोली ठोके । त्यसपछि राजा राजेन्द्रविक्रम र उनकी कान्छी रानी राज्यलक्ष्मीबीच शक्ति सन्तुलन बिगार्न लाल झा नामक गुन्डा प्रयोग गरेर काजी गगनसिंह खवासलाई स्वर्गको टिकट काटिदिए । आफ्ना भाइहरू र सैनिक शक्तिको प्रयोग गरेर जर्नेल जंगबहादुरले गगनसिंहको हत्यारा पत्ता लगाउन कोतमा भेला भएका विरोधी पक्षका ३१ जनालाई एक चिहान बनाइदिए ।
जेठा राजकुमार सुरेन्द्रविक्रमको सट्टा राज्यलक्ष्मीको छोरा रणेन्द्रलाई राजा बनाउने लोभ देखाएर उनी १९०३ सालमा प्रधानमन्त्री भए । पछि उनैले रानी राज्यलक्ष्मी र राजा राजेन्द्र दुवैलाई नजरबन्द गरेर सुरेन्द्रलाई राजा बनाए । सुरेन्द्रबाट कास्की र लमजुङ राज्य प्राप्त गरी महाशक्तिशाली श्री ३ महाराज घोषित भए र देशलाई लुट्नुसम्म लुटे । उनले आफ्नो जेठा छोरा जगतजंग र सुरेन्द्रकी जेठी छोरीको बिहे गराएर शाही परिवारसँग रगतको अभिन्न साइनो गाँसे । आफ्ना दुई छोरी तारा र ललितकुमारी सुरेन्द्रका जेठा छोरा त्रैलोक्यलाई तथा एक छोरी सुरेन्द्रकै कान्छा छोरा नरेन्द्रलाई टाँसो लगाइदिए । अनि यो क्रम जारी रह्यो । भाइ धीर शमशेरको जेठा छोरा वीर शमशेरको बिहे सुरेन्द्रकी भतिजी मुनिन्द्र राज्यलक्ष्मीसँग र आफ्ना अन्य दुई छोरी कान्छी मैया र चिरबिरे मैयाको बिहे सुरेन्द्रकै भतिजा धीरेन्द्रसँग गराइदिए । यसरी यीबाट जन्मेका छोराहरू जन्मदै जर्नेल–कर्नेल हुने भए ।

स्त्री अनुराग
प्रमोदशमशेर राणाको किताब ‘राणा शासनको वृत्तान्त’ अनुसार जंगबहादुर मैथुन र महिलाका असली पारखी थिए । यिनलाई स्त्री मोहित भनिदिए फरक पर्दैनथ्यो । प्रधानमन्त्री भइसकेपछि पनि उनी नानी, धाई, सधवा, विधवा जोसुकैलाई पत्नी बनाएर घर भित्र्याउँथे । उनका घोषित रानी नै चालीस जनाभन्दा बढी थिए । अरू त कति थिए कति । उमेरमा उनले प्रसादसिंहकी छोरी सिद्धिगजेन्द्रलक्ष्मीसँग बिहे गर्न चाहेका थिए । त्यस बेला उनको गरिबीका कारण प्रसादसिंहले छोरी दिन मानेनन् । प्रधानमन्त्री भइसकेपछि एक दिन उनलाई तिनको याद आयो । तिनको घर पत्ता लगाएर उज्यालै नभई एक बिहान उनी हात्ती चढेर गए । हौदाबाटै सिसाको झ्याल फोडी लोग्नेसँग सुतिरहेकी सिद्धिलाई तानेर घर लगी सिन्दुर, पोते लगाइदिए । उनीबाट जन्मेका छोरा रणवीरजंग जंगी लाठसम्म भए भने छोरी चिरबिरे मैयाको बिहे साहेब उपेन्द्रविक्रमको छोरा धीरेन्द्रविक्रमसित भयो । अर्कोपल्ट उनलाई राजखलकसित बिहे गर्ने रहर लाग्यो । त्यहाँ उनलाई सुहाउँदा कुनै कन्या बाँकी थिएनन् । त्यसपछि उनको ध्यान चौतारियाहरूतर्फ गयो । उनले कोतपर्वमा मारिएका चौतारिया फत्तेजंग शाहकी अविवाहित बहिनी हिरण्यगर्भकुमारीको हात मागे । राजा सुरेन्द्रको आग्रहमा हिरण्यकी आमा आफ्नै छोरा र नातिको हत्यारालाई कन्या दिन तयार भइन् । त्यतिले नपुगेर उनले हिरण्यगर्भकुमारीकै तीन भदैलाई पालैपालो बिहे गरे ।
कुनै पनि कुरा चिताएपछि बिताउनैपर्ने यिनै जंगबहादुर मरेपछि उनका छोरा, नातिहरू रोलक्रमबाट मात्र हटाइएनन्, जेठा छोरा तथा राजा सुरेन्द्रका ज्वाइँ जगतजंग र नाति युद्धप्रतापजंगको क्रूरतापूर्वक हत्या भयो । तिनका टाउको किस्तीमा राखेर वीरशमशेरसामु प्रस्तुत गरियो । अन्य छोरानाति तथा युवराज त्रैलोक्यसँग बिहे भएकी छोरी ताराकुमारीले ब्रिटिस इन्डियामा लुकेर ज्यान जोगाउनुपर्यो ।

सम्बन्धविरुद्ध शक्ति
जंगबहादुरलाई सत्तामा पुर्याउन उनका भाइहरूले पनि ज्यान बाजी लगाएका थिए । यसकारण उनले यस पदलाई राजाको जस्तो क्रमशः जेठा छोरामा सर्दै जाने बनाएनन् । आफ्नो सेखापछि भाइहरूमा र उनीहरूपछि आफ्ना छोराहरू र नातिमा सर्ने बनाए । भाइका छोराहरूभन्दा अगाडि नाति युद्धप्रताप जंगलाई रोलमा राखेपछि जण्ड धीर शमशेरले जंगबहादुरका छोरानातिलाई पन्छाई आफ्ना छोराहरूलाई उत्तराधिकारी बनाउने योजना बुने । बारम्बार उनी आफ्ना १७ छोरालाई उकास्दै भन्थे, ‘जसको तरबार, उसैको दरबार ।’ अर्थात् जसले मौकामा बल प्रयोग गर्नसक्छ, शक्ति र सोख–सयल उसकै अधिनमा हुन्छ । वि.स. १९३३ सालमा जंगबहादुरको मृत्युपछि राणोद्दीप सिंह प्रधानमन्त्री भए पनि अत्यन्त जण्ड स्वभावका कमान्डर इन चिफ धीर शमशेर नै डि–फ्याक्टो शासक (वैधानिक रूपले नदेखिने तर वास्तविक) थिए । यहीँबाट जंग खलक र शमशेर खलक अघोषित दुस्मन भए । शमशेरहरू दरिद्र तर जंगबहादुरको उत्तरदान पाएझैँ अत्यन्त आँटी थिए । सुखसयलमा हुर्केकाले जंगबहादुरका छोराहरू भने मारामुंग्रीमा भन्दा भोगबिलासमा रमाउँथे ।
धीरले जगतजंगलाई राणा शासनविरुद्ध साँठगाठमा संलग्न भएको आरोप लगाएर प्रधानमन्त्रीको रोलबाट हटाई देश निकाला गरे । उनको रोलमा उनकै भाइ जितजंगलाई ल्याइयो । घाँटीमा कालिजको हाड अड्केर धीरको मृत्युपछि रणोद्दीपले जगतलाई माफ गरी स्वदेश बोलाए । जितजंग कानको उपचार गर्न भारत गएको मौका पारी जगतजंगलाई महाराजले कमान्डर इन चिफ बनाएर आफ्नो उत्तराधिकारी बनाउँदैछन् भन्ने हल्ला कसैले चलाइदियो । यसो भए ज्यादै खतरा हुने शमशेर दाजुभाइको मनमा प¥यो । भारतमा हुने सैनिक मार्चपास र अभ्यासका लागि जर्नेल वीर शमशेरलाई चार पल्टनको जिम्मा लगाइयो । उनले महाराजबाट हातहतियार र खरखजानासमेत पाएपछि त्यसै रात वीरले आफ्ना भाइहरू डम्बरशमशेर, खड्ग, रण, चन्द्र र भीमलाई प्रयोग गरी रणोद्दीप सिंहको हत्या गराए र सत्ता हातमा पारे ।
स्मरणीय छ, वीरले जंगबहादुरकै छोरी तथा राजमाता ललितकुमारी, कान्छी मैया र चिरबिरे मैयाको सहयोगमा रणोद्दीपको हत्या सफल पार्ने योजना बुनेका थिए । ललितकुमारीले ‘गोरे जर्नेल (आफ्नै भाइ रणवीर जंग) ले महाराज रणोद्दीपलाई मार्यो’ भनेर सेनालाई सुनाउँदै आमागी योजना बुन्न वीर शमशेर र छोरा पृथ्वीविक्रमसँगै बग्गीमा बसेर कान्छीमैयाको बाघदरबार गइन् । उता, काकाको हत्यारा खड्गशमशेरसँग बग्गीमा बसेर कान्छी मैया आगामी योजना बुन्न बागदरबार आएकी थिइन् । त्यसै रात शमशेर खलकका मामा कर्नेल ललितमान बस्न्यातको टोलीले जगतजंग र उनका छोरा युद्धप्रताप जंगलाई अत्यन्त क्रूरतापूर्वक गोली ठोकी, टाउको काटी किस्तीमा राखेर वीरशमशेरलाई बुझाए । रणोद्दीपकी पत्नी हरिप्रिया, राजमाता ललितकुमारीकै सौता तथा आफ्नै दिदी तारा र जंग भाइहरूले ब्रिटिस दूतावासमा शरण लिएर ज्यान जोगाए । आफ्नै काका, दाजु र भदाहाको हत्या गर्न गोप्य सूचना दिएबापत जंगबहादुरका दुई छोरी कान्छी मैया र चिरबिरे मैयालाई वीरशमशेरले पुरस्कृत गरे । यसरी जंगबहादुरले तरबारले सिर्जना गरेको जहानिया शासनको दरबार उनका छोराहरूमा नगई शमशेर खलकमा गयो । पछि सत्ता हत्याउने षड्यन्त्र गरेको आरोपमा खड्गशमशेर पाल्पा धपाइए । उनलाई सहयोग गरेको आरोपमा तिनै कान्छी मैया देश निकालामा परिन् । चिरबिरे मैयालाई पनि पोल्टामा रिभोल्भर राखेर वीरशमशेरको लालदरबार आएको आरोपमा काठमाडौँबाट धपाइयो ।
जंगबहादुरका दुई छोरी कान्छी मैया र चिरबिरे मैयाको कथा पढ्दा हामीलाई विश्वास गर्नै गाह्रो पर्छ जसले आफ्नै दाजु, काका र भदाहाको हत्यारालाई साथ दिएका थिए । सत्ता र शक्तिको उन्मादमा मान्छेले केसम्म गर्न सक्छ भन्ने यसले प्रस्ट देखाउँछ । तर, त्यसको परिणाम पनि तिनकै नियतिले प्रस्ट पार्छ । सत्तासीन पार्टी र मन्त्रिपरिषद्का सदस्यहरूले बेलैमा यो कुरा मनन गरून् ।

twitter@avayashrestha