महामारीमा किन अक्कासियो प्रोपर्टी मार्केट ?

-- महेन्द्र कुमार लम्साल / प्रकाशित मिति : बुधबार, फाल्गुन २६, २०७७

यतिबेला समग्र अष्ट्रेलियाको प्रोपर्टी मार्केट तातेको छ । कोरलजिक विश्लेषणका अनुसार यतिबेलाको वृद्धिदर बिगत १७ वर्ष पछिको द्रूत वृद्धि हो । रियल स्टेट एजेन्टहरू लाई प्रोपर्टी किन्ने ग्राहकहरूको मागलाई सम्बोधन गर्न भ्याई नभ्याई देखिन्छ । माग भन्दा आपूर्ति कम देखिएकोले अक्सन क्लियरेन्सको दर करिब ९० प्रतिशत पुगेको छ । ओपन होमदेखि अक्सनमा घर किन्नेहरूको लाइन यत्रतत्र देखिन्छ । र यतिबेलाको वृद्धि बिशेष गरि जग्गा सहितको घरको माग अप्रत्यासित रुपमा बढेको देखिन्छ ।

सामान्यतया जब अर्थतन्त्र सबल हुन्छ, समग्र देशको आर्थिक वृद्धि दर उच्च हुन्छ, रोजगारीको दर बढेको हुन्छ अनि मानिसहरूमा क्रयशक्ति बढी हुन्छ तब प्रोपर्टीको माग बढ्छ । बजारमा प्रोपर्टी किन्ने धेरै मानिसहरू आउँदा आपूर्ति भन्दा माग बढी हुन गइ प्रोपर्टीको मूल्य बढ्ने गर्दछ ।

तर यति बेला माथिका सबै पक्षहरूमा परिणाम नकारात्मक छन् । थुप्रै व्यापार व्यवसाय बन्द भएका छन्, बेरोजगारी बढेको छ, जनसंख्यामा पनि त्यस्तो तिब्र वृद्धि छैन, अन्तर्राष्ट्रिय बिद्यार्थी तथा यात्रुहरूको आवागमन रोकिएको छ तैपनि प्रोपर्टीको मूल्य बढेको छ ।

 

प्रोपर्टी मार्केट उतार–चढावको क्रम

अब एकछिन प्रोपर्टी मार्केटको उतार चढावको छोटो बिवरण हेरौं  । २०१६ देखि सुस्ताएको अष्ट्रेलियन प्रोपर्टी मार्केट २०१९ को जुलाई–अगस्तसम्म आइपुग्दा क्रमसः तात्दै थियो । यो क्रम २०२० फेब्रुअरीसम्म जारी रह्यो । मार्च २०२० को सुरुमै कोभिड–१९ को महामारी देखिन सुरुभयो । फलतः मार्चको तेश्रो हप्तादेखि सरकारले मानिसहरूको आवागमनमा लगाएको बन्देजका कारण देशको आर्थिक क्षेत्रमा ठूलो र अकल्पनीय झट्का महशूस भयो । र प्रोपर्टी मार्केट पनि लगभग ठप्पको स्थितिमा पुग्यो ।

नयाँ खालको संक्रामक र सरुवा रोग कोभिड–१९ को विश्वब्यापी तीव्र फैलावटका कारण संसार त्रसित थियो । यसलाई नियन्त्रण गर्नका लागि लागू गरिएको बन्दाबन्दिका कारण २०२० को मध्यतिर मानिसहरूमा एक खालको अनिश्चितता र अन्योल छाएको थियो । अर्थतन्त्र र जनजीवनलाई तहस नहस बनाएको कोभिड १९ ले जनजीवन र समग्र मानव सभ्यतालाई कतिसम्म असर पुर्याउछ भन्ने कसैले पनि अनुमान लगाउन सकेको थिएन ।

यस्तो कठिन समस्याका घडीमा विश्वका सबै देश र सरकारले समन्वयात्मक ढंगले काम गर्न थाले । यति बेला आर्थिक विकास भन्दा पनि जनताको ज्यान बचाउने पहिलो प्राथमिकता ठाने । आफ्नो हैसियतले भ्याएसम्म र सकेसम्म जनतालाई राहत प्याकेजको व्यवस्था गर्ने, कोभिड संक्रमण फैलावटलाई नियन्त्रण गरि जनजीवन सामान्य बनाउने र उपचारको लागि खोपको आविस्कार गर्ने ३ महत्वपूर्ण काम सरकारले संगसंगै गर्दै गयो ।

कोभिड–१९ ले निम्त्याएको भयावह स्थितिका कारण अष्ट्रेलियाको प्रोपर्टी मार्केटमा ठूलो गिरावट आउने अनुमान गत वर्ष नै बिज्ञहरूको थियो । कोभिड–१९ का कारण अष्ट्रेलियाको प्रोपर्टी मार्केट २० देखि ३० प्रतिशतसम्म गिरावट आउने सम्भावना रहेको बैंक लगायत अर्थविदहरूको थियो । २०२० को मार्चदेखि जुनसम्म गरिएको यो अनुमान २०२० जुलाई पश्चात उल्टा हुन पुग्यो । कसैले अनुमान गरेको थिएनकि अष्ट्रेलियाको प्रोपर्टी मार्केट यो गतिमा वृद्धि हुन्छ भन्ने । आज २०२१ को सुरुवातमा आइपुग्दा गत वर्षको तुलनामा सिड्नीको प्रोपर्टी मार्केट करिब १० प्रतिशतले बढेको छ । यो वृद्धि जग्गा सहितको घरमा भएको छ र टाउनहाउसको बृद्दी घरको भन्दा कम छ भने, अपार्टमेन्टको मूल्य समग्रमा स्थिर नै देखिन्छ ।

 

महामारीमा किन अक्कासियो त प्रोपर्टी मार्केट?

गत मार्च २०२० को मध्यतिर कोभिड–१९ संक्रमण व्यापक बन्दै जाँदा अष्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूको जन, धनमा ठूलो क्षति नहोस र जीवनशैलीलाई सामान्य रुपमा चलोस् भन्ने उद्देश्यले थुप्रै राहत प्याकेजको घोषणा गर्ने निर्णय गर्यो । रोजगारी नभएकालाई अतिरिक्त नगद वितरण, रोजगारी गुमाउने स्थितिमा पुगेकाहरूलाई प्रति हप्ता ७५० डलरसम्म तलब, व्यापार व्यवसायहरू लाई नगद राहत, संचय कोषको रकम २० हजार डलरसम्म निकाल्न पाउने सुबिधा जस्ता सहुलियतले मानिसहरूमा एक खालको आर्थिक आत्मबिश्वास जगाई दियो । त्यसै गरि सरकारले घरकर्जाको व्याजदार इतिहासमै न्यून मात्र गरेन घर किन्नेहरूलाई २५ हजार डलरसम्मको सहायता प्याकेज करमा छुट दिने घोषणा  पनि गर्यो ।

सरकारले न्युन ब्याजदर र पहिलो वा नयाँ घर किन्नेहरूका लागि आकर्षक नगद सहयोग र सहुलियत समेत प्रदान गरेकोले थुप्रै सम्भावित घर किन्ने मानिसहरू आफू छिटो भन्दा छिटो भाडाबाट मुक्त भइ घर किन्ने पंक्तिमा उभिन पुगे । एकातिर न्यून ब्याजदरका कारण घरको भाडा भन्दा कर्जा गरि किनेको घरको किस्ता कम हुने बातावरण सिर्जना भयो भने अर्कातिर इन्भेस्टरहरू प्रोपर्टीमा गरेको आफ्नो लगानीको मुनाफा (रेन्टल रिटर्न) वास्तविक तिर्नुपर्ने बैंक कर्जा भन्दा बढी हुने स्थिति सिर्जना भयो । जसले गर्दा थुप्रै प्रोपर्टीहरू इन्भेस्टरहरूले होल्ड गरि राख्न सक्ने स्थिति छ । मार्केटमा प्रोपर्टी बिक्रीमा आउने क्रम घटेर गयो तर घर किन्नेहरूको माग दिनानुदिन बढ्न पुग्यो । माग र आपूर्तिको बीचको ठूलो ग्याप अर्थात माग धेरै र आपूर्ति कम भएका कारणले प्रोपर्टीको मूल्य अप्रत्यासित रुपमा बढ्न गयो । र यसको मुख्य कारण न्यून ब्याजदर र घर किन्नेलाई सरकारले प्रदान गरेको आकर्षक सुबिधा र छुट नै हो ।

हुन त बिज्ञहरू अबको २–३ बर्षसम्म प्रोपर्टीको मूल्य निरन्तर बढ्ने भविष्यवाणी गरेको सुनिएको छ तर माथि उल्लेख गरिए अनुसार अर्थतन्त्रको सूचकांक (रोजगारी तथा आर्थिक बिकास) हेर्दा यतिबेलाको “क्रेजी” प्रोपर्टी मार्केट लामो समयसम्म दिगो होला जस्तो देखिदैन र निकट भविष्यमै केहि सहज हुने अनुमान गर्न सकिन्छ ।

The writer is sales executive at Ray White can be reached at 0412 001 769