लर्ड्समा नेपालको शानदार प्रदर्शन

-- कृष्ण भट्टराई / प्रकाशित मिति : सोमवार, साउन २४, २०७३

Nepali Cricketer in UKलन्डन— लर्डसमा एमसीसीसंग मैत्रीपूर्ण खेल खेलेर लन्डनबाट नेपाली क्रिकेट टोली जुलाई २२ का दिन स्वदेश फर्किएको छ । नेपाली टोलीले जुलाइृ १९ मा एमसीसीलाई ४१ रनले हराएको थियो । कप्तान पारस खड्काको नेतृत्वमा रहेको टोलीले लन्डनको लर्डस मैदानमा शानदार प्रदर्शन गर्दै सबैको मन जितेको थियो ।

विश्व क्रिकेटको घर मानिने बेलायतको लर्ड्स क्रिकेट मैदानमा जुलाइृ १९ का दिन नेपाली दर्शकको बाक्लो उपस्थिति देखिन्थ्यो । नेपाली राष्ट्रिय टोलीले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) संग ऐतिहासिक मैदानमा खेल खेल्ने भएपछि नेपाली समर्थकहरूको ठूलो संख्या खेल हेर्न भेला भएको थियो । उक्त खेलमा नेपालले ४१ रनको जित निकाल्न विलद भयो ।

उक्त खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । नेपालका स्पिनरहरूले उत्कृष्ट बलिङ गरेपछि २ सय १८ रनको लक्ष्य पछ्याएको एमसिसीले ४२.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७६ रनमात्र जोड्न सकेको थियो ।

नेपालले इङ्ल्यान्ड भ्रमणलाई अगष्ट १३ तथा १५ मा नेदरल्यान्डविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका रूपमा लिएको छ । नेपाल–बेलायतबीचको दौत्यसम्बन्ध स्थापनाको दुई सय वर्षगाँठमा उक्त खेल खेलिएको हो ।

एमसिसीको ८ विकेट नेपालका स्पिनरले लिएका थिए । वसन्त रेग्मी र सागर पुनले ३–३ विकेट लिँदा सन्दिप लामिछाने र शक्ति गौचन १–१ विकेट लिन सफल भए । सोमपाल कामीको नाममा २ विकेट रह्यो ।

एमसिसीका जिए एडैरले शतक प्रहार गरे पनि टोलीलाई जितको हकदार बनाउन सकेनन् । ओपनर एडैरले १ सय २३ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै १ सय रन बनाए । उनलाई वसन्त रेग्मीले राजु रिजालको हातबाट क्याचआउट गराए । अन्य ब्याट्सम्यानले नेपाली स्पिनरसामु खुलेर खेल्न सकेनन् । आइएम विल्किन्सलेले २० र एस क्लार्कले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । विल्किन्सनलाई सोमपाल कामीले बोल्ड गरे भने ओपनर क्लार्क शक्ति गौचनबाट बोल्ड हुन पुगे ।

त्यसअघि टस जितेको नेपालले तेस्रो ओभरमै ओपनर अनिल मण्डललाई २ रनमा गुमाएको थियो । ४ बल खेलेका अनिल केपी डुचको बलमा कट एन्ड बोल्ड भएका थिए । त्यसपछि ब्याटिङ आएका शरद भेषावकरले पनि लामो इनिङ खेल्न सकेनन् । १३औं ओभरको पाँचौं बलमा शरद एस क्लार्कको बलमा बोल्ड भए । ४० बल खेलेका शरदले ५ चौका प्रहार गरे । पछिल्लो समय टोलीमा शरद लयमा देखिएका छन् । फिनिसरका रूमा खेल्ने शरदले नामिबियाविरुद्धको खेलपछि टोलीको इनिङ सम्हाल्ने जिम्मेवारी पाएका छन् । त्यसमा उनी सफल हुँदै आएका छन् ।

२/५८ को स्थितिमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालको इनिङ सम्हाले । उनीहरूले तेस्रो विकेटका लागि ४६ रनको रनको साझेदारी गरेका थिए । २३औं ओभरको पहिलो बलमै ज्ञानेन्द्र केथ फिलिप डचको बलमा कट एन्ड बोल्ड भए । ६३ बल खेलेका उनले ५ चौकाको मद्धतमा ३९ रनको योगदान गरे । लगत्तै पारस पनि पवेलियन फर्किए । २८ बलमा २ चौका र १ छक्का प्रहार गरेका पारस ३० रन बनाउँदा एमएस रनगोल्डको बलमा एस क्लार्कबाट समातिए । राजु रिजाल २४ रनमा आउट भए । ३५ बल खेलेका उनले २ चौका प्रहार गरे। विनोद भण्डारी ९ रनमा आउट हुादा सोमपाल (२०) रनआउट भएका थिए । वसन्तले अविजित २४ रन बनाए । इङ्ल्यान्ड भ्रमणमा नेपाल यसअघि चार अभ्यास खेल खेलेको थियो । ती सबै खेलमा नेपाली टोली विजयी भएको थियो ।

lords_cricket_Nepalयसैबीच, नेपालबाट लर्ड्समा एमसीसीसंग मैत्रीपूर्ण खेल खेल्न लन्डन आएको नेपाली क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेपछि लन्डनमै सम्मानित हुने अवसर पाएको छ । गन जुलाई २१ मा नेपाली टिमले सम्मानसहितको विदाइ पाएको थियो । नेपाल उड्नुअघि एनआरएनए युरोपका संयोजक कुल आचार्य तथा नेपाली व्यवसायी रवि लामिछानेले दिवाभोजसहित खेलाडीको विदाइ गरेका हुन् ।

नेपालले एमसीसीसंग भएको म्याच ४१ रनले जितेर नेपाल र नेपालीकै गौरव बढाएको थियो । त्यसैका लागि खेलाडीलाई प्रशंसा र बधाइ दिइएको हो । सहभागीले नेपालको राजनीतिक अस्थिरताले मन खिन्न हुनु परेपनि खेलाडीले नेपाली हुनुमा गौरव र सान बढाएको धारणा राखेका थिए ।

सम्मान समारोहमा कप्तान पारस खड्काले बेलायतस्थित नेपाली समुदायले खेल अवधिभर ठूलो हौसला प्रदान गरेकामा आभार व्यक्त गरे । उनले लर्डसमा खेल्ने आफूहरूको सपना पुरा भएको बताउँदै त्यसले आगामी दिनमा अझ आत्मविश्वास बढाएको उल्लेख गरे ।

एनआरएनए युरोप संयोजक आचार्यले नेपालको क्रिकेट विकासका लागि एनआरएनबाट हुने आर्थिक तथा नैतिक सहयोग निरन्तर रहने धारणा राखे । व्यवसायी लामिछानेले प्रस्ताव आए खेलाडीका लागि आर्थिक सहयोग गर्न आफू सदा तत्पर रहेको बताए ।