अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन नेपालमा , नोबेल विजेता सहित डेढसय बैज्ञानिक जम्मा हुने

-- / प्रकाशित मिति : बिहिबार, भदौ ९, २०७३

क्वाजीक्रिस्टल सम्वन्धी १३औं अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन असोज पहिलो साता काठमाडौंमा हुने भएको छ ।
यो सम्मेलनमा रसायन शास्त्रका नोबेल पुरस्कार बिजेता प्रोफेसर डानिएल सेक्टमान पनि सहभागि हुनेछन् । उनले यो सम्मेलनमा सहभागिता जनाउने निश्चित भइसकेको सम्मेलन आयोजक मध्येका डा हेमराज शर्माले जानकारी दिए । नोबेल बिजेता डानिएललगायत ४० देशका एक सय ५० जना भन्दा बढी बैज्ञानिकहरुको यो सम्मेलनमा सहभागि हुनेछन् । शर्मा बेलायतको लिभरपुल यूनिभर्सिटीसँग सम्बद्ध छ्न्। उनी गैरआवासीय नेपालीका अभियन्ता पनि हुन् ।

सम्मेलनका पूर्वश्रृखलाहरु फ्रान्स, चीन, मेक्सिको, अमेरिका, जापान, जर्मनी, भारत, स्विजरल्याण्ड र पोल्याण्डमा सम्पन्न भएका छन्। नेपालमा यो सम्मेलन पहिलो पटक र दक्षिण एशियामा दोश्रो पटक आयोजना गर्न लागिएको हो।

बेलायतको लिभरपुल यूनिभर्सिटी, जापानको तोकोकु यूनिभर्सिटी र त्रिभुवन विश्व विद्यालयमा कार्यरत प्राध्यापक तथा वैज्ञानिकहरुको संलग्नतामा आयोजना हुने उक्त सम्मेलनमा भौतिक शास्त्र, रसाय शास्त्र, गणित र इन्जिनियरिङ बिषयका एक सय १० भन्दा बढी कार्यपत्रहरु पेश हुने छन्।
सम्मेलनबाट स्थानीय वैज्ञानिक तथा युवाहरु लावान्भित हुन सकुन भनेर सम्मेलनको पहिलो दिन काठमाडौ विश्व विद्यालयका यूवा वैज्ञानिकहरुका लागि कार्यशाला आयोजना गरिने जानकारी डा शर्माले दिए । नोबेल विजेता प्रोफेसर सेक्टमानले त्रिभुवन विश्व विद्यालय किर्तिपुरमा सार्वजनिक मन्तव्य दिने कार्यक्रम छ । सम्मेलनका अरु कार्यक्रमहरु धुलिखेलमा हुनेछन् ।
उक्त सम्मेलनको बैज्ञानिक महत्वसँगै पर्यटन र राजनीतिक स्थितिका बारेमा पनि विश्वभर सकारात्मक सन्देश दिन सकिने डा शर्माले बताए । विश्व प्रसिद्ध वैज्ञानिक तथा प्राध्यापकहरुको उपस्थितिले भूकम्प पछि खस्केको पर्यटक व्यवसाय तथा नेपालको राजनैतिक परिवर्तनको बारे सकरात्मक सन्देश जाने विश्वास हामीले गरेका छौं, उनले भने ।

सम्मेलनमा गैरआवासीय नेपाली वैज्ञानिकहरु, नेपालका विज्ञान क्षेत्रमा कार्यरत पेशागत सँस्थाहरु र अन्तर्राष्ट्रिय वैज्ञानिकहरुबीचको सञ्जाल स्थापना गर्ने उद्देश्य रहेको जानकारी उनले दिए । यस्तो सञ्जाल निर्माण गर्न सक्ने नेपालमा वैज्ञानिक अध्ययन अनुसन्धानमा सहयोग पुग्नेछ ।

डा शर्मा र जापानको तोहोकु यूनिभर्सिटीका प्राध्यापक प्रो आङ पाङ चाईले सम्मेलनका बारेमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई जानकारी गराएरका छन् । प्रधानमन्त्रीले वैज्ञानिक सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।