‘यत्र नारी पुज्यन्ते, रमन्ते तत्र देवताको’ हुदै ‘बि बोल्ड फर चेञ्ज’ सम्म

नारीलाई पुज्नेभन्दा पनि समान अधिकार, सामाजिक कदर र अवसरको श्रीखण्डले सिंचित गरेर कुनै मैदानमा छोडौ
-- सम्पादकीय मार्च अंक २०१७ / प्रकाशित मिति : बिहिबार, फाल्गुन १९, २०७३

‘यत्र नारी पुज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको पूजा हुन्छ, देवता पनि त्यहाँ खुसी रहन्छन् । हजारौं बर्ष अगाडि रचिएको हिन्दु शास्त्रमा सज्जित यी हरफहरूबाटै प्रष्ट हुन्छ नारीको महिमा शास्त्रले पनि गाएको छ । नारी अधिकारका कुरा उठ्ना साथ धेरै पटक दोहोरिए यी हरफहरू, त्यसमा पनि जब नारी दिबस नजिकिन्छ यी हरफहरूबाट एक पटक धुलो टक टकिन्छ तर व्यबहारिक रुपमा नारी हकहितका सबालमा हाम्रो समाज र देश अझै सोचे अनुसार माथि उठ्न सकेको छैन ।

दाइजोको नाममा हाम्रा चेलीहरू जिउदै जल्न अझै छोडेका छैनन्, छाउपडीको नाममा कति किशोरीहरू कोठेरीमा थुनिएका छन्, उचित महिला शौचालय नहुदाँ महिनामा ४/५ दिन धेरै छात्राहरूले स्कुल छोडेका छन् । र फेरि यही सेरोफेरोमा हामी नारि दिबस मनाउदै छौं । नारी दिबसका नाममा कयांै होटेल र रिसोर्टहरू बुक भइसके हुन्, कतिले भाषणका ठेली लेखि सके हुन् । तर समस्या जिउँको तिउँ छ । त्यसमा पनि हाम्रो जस्तो देश जहाँ राज्य निक्कै कमजोर देखिन्छ, आफ्ना नागरिकका जनजीविकाका सबालमा राज्य यति निरही रहदा नागरिक समाज चनाखो हुनु पर्ने हो । महिला हिंसाको सबालमा नागरिक समाज पनि संधै उदाशीन देखिनु हाम्रो अर्को दु:खद बिडम्बना हो ।

त्यसो त नियम काननुको तगारो देखाउदै महिला हिंसाका कयौं सबालमा राज्य पन्छिन खोज्छ । नियम कानुन संगसंगै आउने सबाल हो मानबीय संबेदना । जब एउटी चेली दिन दहाडै कथित पुरुषार्थी मर्दको काम बासनाको शिकार हुन्छे, अदालतको ढोका ढक्ढकाउन पुग्नु अगाडि नै समाजले उसलाई उसको लबाई खवाईको प्रश्न तेर्साउँछ । यस्ता प्रश्नको सामना गर्दै यदी कोहि पुलिस, प्रशासन र अदालतको ढोकासम्म पुग्यो भने प्रशासनमा बसेको पुरुष महाशयले प्रश्न तेर्साउछ कसरि भयो बलात्कार ? अदालतको जुंगे न्यायधिस प्रश्न गर्छ बलात्कारको सुरुवात कसरि भयो ल भन ? अनि कसरी पाउन सक्छे एउटी चेलीले न्याय ।

चाहे जस्तो सुकै नारी मैत्री कानुन बनोस् जबसम्म नारी संबेदनासँग जोडिने यी सबालका लागि न्यायको तराजु लिएर एउटा पुरुष आफ्नो पुरुस्वत्वमा ढसमस्स बसी रहन्छ कानुनले भाँडा अनुसारको पानी झैँ आकार बदलि रहनेछ । सबाल नेपालको भूगोलको रेखामा मात्र सिमित छैन, हवाई यात्रा तय गर्दै दिनहुँ शुट टाइ कस्दै बडे बडे गफ र एजेन्डा तयार गर्ने बिकशित देश बसेकाहरू घर भित्र छिरेपछि मोजा खोलाउन रमाउँछन् । छोरी जन्मेकोमा स्वास्नी कुट्छन, सन्तानमा देखिएको कमजोरी सुस्ताउन रंगी बिरंगी कोठा छिर्छन् र फेरि मौका पाउँदा नारी अधिकारका सभाहरूमा खादा ओढीरहन्छन ।

फेरि पनि प्रस∙ ‘यत्र नारी पुज्यन्ते, रमन्ते तत्र देवता’ को अब यसमा पनि परिबर्तन हुनु जरुरी छ । पुज्न त हामी ढुंगालाई पनि पुज्छौ, जब ईश्वरको प्रतीक मानेर ढुंगा पुज्छौ आस्था त त्यति बेला पनि त चुलिन्छ । नत्र ढुंगा त ढुंगा नै हो । त्यसैले जबसम्म एउटी नारी छोरी, दिदी, बैनी, श्रीमती, बुहारी र आमा बन्दासम्म पनि हाम्रो समाजमा साक्षत देबीलाई प्रतिस्थापन गर्न सक्दिन तब नारी पुज्दैमा देवता खुसी हुन्छन् भन्नुको आसय रहँदैन । अर्को तर्फ यो बाक्यले देवता खुसी पार्नका लागि मात्रै भए पनि नारीलाई पुज भनेर भनेको हो भनेर बुझ्ने बहुलठ्ठि पुरोहितहरू पनि हाम्रो समाजमा कम छैनन् ।

तसर्थ नारीलाई पुज्नेभन्दा पनि समान अधिकार, सामाजिक कदर र अवसरको श्रीखण्डले सिंचित गरेर कुनै मैदानमा छोडौ । अनि भनौला नारी पुज्नका लागि होइनन्, प्रकृति र मानब जीबनलाई सार्थक पार्ने अतुलनिय मानब प्रणालीका जोडदार हिस्सा हुन् । यहि सेरोफेरोमा फेरि पनि आशा गरौं अन्तर्राष्ट्रिय नारी दिबसले यो पटकको नारी दिबसको बिम्ब ‘बि बोल्ड फर चेञ्ज’ कागजमुखी होइन सुगन्धमय फूल बनेर नारीको आत्मसम्मान सहित सुगन्ध छर्न सकोस् ।