ब्रिसबेन बिसौनीको काब्य बाचनको तेश्रो शृंखला सम्पन्न

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, चैत्र २३, २०७३

ब्रिसबेन बिसौनीको काब्य बाचनको तेश्रो शृंखला गत अप्रेल १, २०१६ शनिबारका दिन ब्रिसबेन को ग्रेंज़ स्थित ब्रिसबेन सिटी काउन्सिलको सार्बजनिक पुस्तकालयको हलमा सम्पन्न भएको छ । नेपाली साहित्य अनुरागीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रमको अतिथि मदन पुरस्कारद्वारा सम्मानित साहित्यकार, लेखक, समालोचक र भाषाविद प्रा. मोहन राज शर्मा हुनुहुन्थ्यो । कार्यक्रमको सुरुवातमा नेपलिज असोसिएसन अफ क्विन्स्लैंडका सभापति गोविन्द बराल ले प्रा. शर्मा लाई खादा र सयपत्रीको मालाले स्वागत गर्नुभएको थियो । बिक्रम तिमिल्सिनाले संचालन गर्नु भएको उक्त कार्यक्रमको पहिलो चरणमा २० जना स्थानीय कविहरुले आ-आफ्ना रचनाहरु बाचन गर्नु भएको थियो । रचना बाचन गर्ने कबिहरुमा क्रमश: सन्तोषी लामिछाने (मकाई बाट भिडिओ मार्फत), तारा डाँगी (अडियो मार्फत), राजेश्वरी रेग्मी, गोविन्द बराल, राजन कोइराला, सुदर्शन दाहाल, बुना दाहाल, सुदर्शन चालिसे, बिनोद भक्त आचार्य, मन्दिरा सापकोटा, भरत पौडेल, यमन अधिकारी, राज शर्मन, बिक्रम तिमिल्सिना, प्रकाश सुबेदी, गिरीराज खनाल, केशब शर्मा, ईशा शर्मा कोइराला, प्रेम राइ र प्रमोद सापकोटा हुनुहुन्थ्यो । काब्यबाचन शृंखला मा ८ जना कविहरुले पहिलो पटक आफ्नो सहभागिता जनाउनु भएको थियो ।

 

कार्यक्रमको दोश्रो चरणमा प्रा. मोहन राज शर्मा संग अन्तरक्रिया गरिएको थियो जसमा प्रा. शर्मा ले नेपाली भाषा र साहित्यमा पुरयाउनुभएको योगदानको चर्चा गरिएको थियो । अन्तरक्रियाको क्रममा प्रा. शर्मा ले आफ्नो लेखन शैली र सोच, आफ्ना कृतिहरुमा समाबेश गरिएका बिषयहरु, र आफ्नो शैक्षिक र साहित्यिक जीवनका अनुभवहरुमा प्रकाश पार्नु भएको थियो । अघिल्लो चरणमा प्रस्तुत रचनाहरुमा टिप्पणी गर्ने क्रममा वहाँले सबै रचनाहरु सुन्दर रहेको विचार व्यक्तगर्दै रचनाहरुमा थप निखारको लागि कविता/गजल लेखनको थप अध्ययन र निरन्तर अभ्यास गर्न सुझाव दिनुभएको थियो । अन्तरक्रियाको क्रममा प्रा. शर्माले सहभागीहरुका केहि जिज्ञासा र प्रश्नहरुको पनि जवाफ दिनुभएको थियो। आफ्नो बोल्ने क्रमको अन्तमा प्रा. शर्माले अस्ट्रेलियाको आफ्नो पारिवारिक भ्रमणको सिलसिलामा यस्तो साहित्यिक कार्यक्रममा सहभागी हुन पाउनु आफ्नो लागि अविस्मरणीय क्षण भएको उल्लेख गर्दै यसको लागि चांजोपाजो मिलाउने सबैलाई धन्यबाद दिनुभएको थियो । कार्यक्रममा सहभागी श्रोताहरु निकै अभिरुचिकासाथ कार्यक्रममा बाचन गरिएका रचनाहरु श्रवण गर्नुका साथै अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु भएको थियो। यस किसिमको साहित्यिक कार्यक्रमको आगामी दिनहरुमा पनि निरन्तरता रहने ब्रिसबेन बिसौनीले जनाएको छ ।