अछाममा १५ वटा सरकारी कार्यालय प्रमुखविहीन

-- / प्रकाशित मिति : शुक्रबार, कार्तिक १३, २०७२

भीमदत्तनगर । सुदूरपश्चिमको पहाडी जिल्ला अछाम १५ वटा सरकारी कार्यालय प्रमुखविहीन रहेको भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामले बिहीबार गरेको निरीक्षणका क्रममा यहाँका १५ वटा सरकारी कार्यालयका प्रमुख गरी ९३ जना कर्मचारी कार्यालयमा अनुपस्थित रहेको भेटिएको हो ।

दसैँको बिदापछि जिल्लाका विभिन्न सरकारी कार्यालयको छड्के निरीक्षण गरेपछि यस्तो अवस्था भेटिएको अछामका प्रमुख जिल्ला अधिकारी यामप्रसाद सुवेदीले जानकारी दिए ।

त्यसैगरी केही दिनअघि जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले पनि जिल्लाका सरकारी कार्यालयको निरीक्षणका क्रममा ७६ जना कर्मचारी कार्यालयमा अनुपस्थित रहेको फेला पारेको थियो । कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीले समस्या खेप्नुपरेका छन् । रासस