कार्यभार हस्तान्तरण समारोहमा देउवाले ७ जना मनोनित गरे

-- / प्रकाशित मिति : बुधबार, चैत्र ३, २०७२

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले ७ जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
बुधबार अपराह्न पार्टी कार्यालय सानेपामा आयोजित नवनिर्वाचितलाई प्रमाण पत्र वितरण तथा कार्यभार हस्तान्तरण समारोहमा देउवाले १३ औं महाधिवेशनमा पराजित भएका अनुहारलाई केन्द्रीय सदस्यमा मनोनित गरेको घोषणा गरेका हुन् ।
यसरी मनोनित हुनेमा देउवाका प्रतिस्पर्धी रामचन्द्र पौडेल, अर्का प्रतिस्पर्धी कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित अर्जुन नरसिंह केसी, गगन थापा कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरी रहेका छन् ।
यसैगरीको निवर्तमान सभापति सुशील कोइरालाको निधनको खबरले बिरामी भएर चुनावी प्रतिस्पर्धामा भाग लिन नपाएका नरहरि आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
कांग्रेसको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचित ६४ जना पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरे ।
उक्त समारोहमा बोल्ने सबै नेताले पार्टीलाई एक ढिक्का बनाउने उदघोष गरेका थिए ।