चाडपर्वमय नेपाली मन, एनआरएनएमय नेपाल

-- सम्पादकीय अक्टाेबर अंक २०१९, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, अशोज २२, २०७६

शरद ऋतुको शुरुवाती संगै, आकाश खुल्न थाल्छ प्रकृति आफै सिङ्गारिदै मुस्कुराउछिन् अनि सुरु हुन्छ हाम्रा चाडपर्बहरू । कृषिप्रधान देश नेपालमा ऋतुको विचार गर्दै खेतीपाती लगाएर थन्काउनु भन्दा अगाडिको समयमा मनाइने हाम्रा चाडपर्वहरूले सवैलाई प्रशन्न बनाएका हुन्छन् । रोजगार र व्यवसायको सिलसिलामा देशभरी र अहिले त संसारभरी नै छरिएका नेपालीहरू यही चाडपर्वको मेसो मिलाएर आफ्नाहरू सँग सुख–दुःख साट्न आफ्नै घर आँगनी पुग्छन् । कम्तिमा वर्षको एक पटक आफ्ना ईष्टभित्र र नाता गोताहरूलाई भेटछन् । कृष्णजन्माष्टमीको वरपरबाटै सुरु भएको यस पटकको चाडपर्बमय माहोल देशमा मात्र होइन परदेशमा समेत महिना दिन अगाडिदेखि रातो पहिरनले धपक्क बल्यो, तीजका गीतहरू भूगोलको सिमाहरू पार गर्दै गुञ्जिए र मिष्ठान भोजनका स्वादमा हाम्रा चेली बेटीहरू आफू मात्रै रमाएनन् आफू वरपरका वातावरण नै रमणीय बनाए । तीज सकिनासाथ मुस्लिम समुदायको इद उल अजाह त्यस पछि हिन्दूहरूले सोह्र श्राद्धमा पितृहरू सम्झिसकेपछि दसैं, तिहार र छठ पर्वसंगै सारा नेपाली मन एकचोटी फेरि चाडपर्वमय हुँदैछ । देशमा बिकास निर्माण र नीति नियमहरू कछुवा कै गतिमा रहेको अवस्थाका वावजुद उल्लास र विजयको प्रतीकको रुपमा मनाइने हाम्रा चाडपर्बहरूले एक चोटी फेरी हामी सवैलाई धार्मिक आस्था भन्दा माथि उठेर सांस्कृतिक महत्व, सहिष्णुता र आपसी सद्भावको सन्देशले भातृत्वमा गाँस्ने छ ।

यस पटकको दसैं–तिहारको सेरोफेरोमा अक्टोबर १६ देखि १८ सम्म एनआरएनएको केन्द्रिय सम्मेलन काठमाडौंमा हुँदैछ । त्यसैले पनि एक काम दो पन्थ भने जस्तै बिश्व भरि छरिएर बसेका धेरै भन्दा धेरै एनआरएनए अभियानकर्ता र प्रबासी नेपालीहरू यतिबेला नेपाल पुगेका छन् । ८० देशमा फैलिएको एनआरएनए बिश्व संजालको प्रत्येक २÷२ वर्षमा नेपालमा हुने बिश्व सम्मेलन धेरै प्रबासी नेपालीहरूका लागि आफैमा एउटा चाड हो । सम्मेलनले नयाँ नेतृत्व त छान्छ नै त्यो भन्दा पनि नेपाल सरकारले प्रबासी नेपालीहरू संगका सबालमा लिने बिबिध नीति निर्माणमा एनआरएनका हक हितमा लबिङ्ग गर्छ भन्ने धेरैको बिश्वास पनि छ । त्यो बाहेक प्रबासमा सिकेको ज्ञान शिप र आर्जेको अर्थलाई देशसम्म पुगेर लगानी गर्दा सहज वाताबरण बनोस बर्षौदेखिको अलमल नीति नियम र कर्मचारीको रबैयाले देशमा केहि गर्न खोज्नेको मन नअमिलियोस् । एनआरएनए अभियानकर्ताहरू ले पद कै लागि रस्सा कस्सि मै सम्मेलनको ३ दिन बिताउनु भन्दा यस्ता कुराहरू मा पनि ध्यान दिउन् ।

अन्त्यमा, प्रबासको पीडा, आफ्ना सँग टाढिनुको व्यथा, वर्षभरीका थकान, तनावका क्षणहरूलाई विर्साउँदै हामी सबै आफ्ना आस्था र विश्वास अनुसारका चाडपर्वमा रमाऔं । सदियौंंदेखि हामीले मनाएका चालचलन र परिपूरकका रुपमा रहेका हाम्रा भिन्न–भिन्न संस्कृतीलाई त्यही नै सुन्दरताले छोप्दै सवैको सु–स्वास्थ्य र दिर्घायुको कामना गरौं । एक अर्कामा सहभागी हुँदै हाम्रा सवै चाडपर्वहरू सामञ्जस्य र उल्लासमय तरिकाले स्वागत गर्दा हामीबीचको आत्मियता, माया र आफ्नोपन झन् वढ्दै जानेछ । सत्य र विजयको प्रतीक अनि यसैको सेरोफेरोमा मनाइने हाम्रा चाडपर्वहरू ले हामी सबैलाई सकारात्मक सोच सहित अगाडि बढ्न पे्ररणा दिओस् । चाडबाड मनाउन अनि एनआरआरएनएको सम्मेलनमा नेपाल पुगेका सबैको समय राम्रो बितोस् आ–आफ्नो लक्ष्य पूरा गरि सबैको सकुशल कर्मभूमिको यात्राको सबैले कामना गरौं । सवैको जय होस् । सवैको भलो होस् ।

ॐ असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतंगमय । ॐ शान्ति शान्ति शान्ति ।