युवालाई जन्माउन नचाहने अन्धो पुस्ता

-- सुदिक्षा लम्साल / प्रकाशित मिति : आइतवार, कार्तिक ३०, २०७७

हरेक व्यक्ति जीवनचक्रमा एकपटक युवा अवस्थामा पुग्दछ । जवानीले नछोडेको, बुढ्याइँले नछोएको, अदम्य आँटसाहास भएका, दृष्टिले परिपक्व, शारीरिक र मानसिक रुपले निकै नै शक्तिशाली अवस्था हो, युवा अवस्था । युवा भनेका कुनै पनि राष्ट्रका लागि राष्ट्रिय मेरुदण्ड, भबिष्यका कर्णधार, बर्तमानका साझेदार, बिकासका उत्प्रेरक, परिवर्तनका सम्बाहक र उत्साहका परिचायक हुन् । त्यसैले बिश्वका सबै राष्ट्रहरुले राष्ट्रिय नीति तर्जुमा गर्दा युवाजनशक्तिलाई नै केन्द्रबिन्दु मानेका हुन्छन् । उमेरका हिसाबले, संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समुहका व्यक्तिलाई युवा भन्दछ भने नेपालको युवा राष्ट्रिय नीति २०७२ का अनुसार १६ वर्षदेखि ४० वर्ष उमेर समुहका व्यक्तिलाई युवा भनिन्छ ।
नेपालको २०६८ सालको जनगणनाअनुसार कुल जनसंख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या रहेको छ । ती मध्ये १९.२ प्रतिशत युवा पूर्ण रुपमा बेरोजगार छन् भने ३६ प्रतिशत भन्दा बढी युवाहरु अर्धबेरोजगार भएर बस्नुपरेको अवस्था छ । सोही बेरोजगारीका कारण परराष्ट्र मन्त्रालयमा घन्टांै लाईनमा बसेर पासपोर्ट बोकी प्रतिदिन १५०० र प्रतिवर्ष ५ लाख ३८ हजार युवा रोजगारीका लागि बिदेशीने गर्दछन् । वैदेशिक रोजगारीमा गएका युवाले पठाएको पैसा नेपालमा रेमिटेन्सको रूपमा भित्रने गर्दछ, जसको नेपालको अर्थतन्त्रमा २९ प्रतिशत योगदान रहेको छ । यसरी बिदेश पलायन भएका अत्याधिक उर्जावान उमेर समुहका व्यक्तिलाई जबसम्म स्वदेशमा रोजगारी दिन सकिदैन तबसम्म देशले फड्को मार्न नसक्ने कुरा निश्चित छ ।
देशको बिकास र समृद्धिका लागि नेतृत्वदायी भूमिका खेल्ने युवाहरुको राजनीतिमा निकै नै चासो हुनुपर्छ । राजनीतिले राज्यको आकार र संरचना तय गरेको हुन्छ । अझ भनौ राज्य बनाउने नीति नै राजनीति हो । जसमा युवाको उल्लेखनीय सहभागीता हुनुपर्ने हो तर बिडम्बना नेपालको संसदमा युवाको प्रतिनिधित्व जम्मा १४ प्रतिशत मात्र रहेको छ भने ४१ देखि ६० बर्ष उमेरसमुहका संसदको संख्या ६८ प्रतिशत रहेको छ । जुन हेर्दा र सुन्दा निकै नै लज्जास्पद छ । देशमा राजनीतिक अस्थिरता बर्षौदेखि यथावत नै छ । राजनीतिक स्थिरताको लागि युवा राजनीतिमा आउनु आजको आवश्यकता हो । राजनीतिक बिकास होस या आर्थिक बिकास वा देश बिकास यी सबै कुरामा युवा सहभागिता भएको खण्डमा मात्र क्रान्तिको सुरुवात भई आमूल परिवर्तन सम्भव छ ।
नेपालको आधुनिक राज्य प्रणाली पृथ्वीनारायण शाहले बि.स १८२४ साल भाद्रमा काठमाडौं उपत्यकामा बिजय गरेपछि सुरुवात भएको मानिन्छ तरपनि राजनीतिमा आम जनताको सहभागिताको शुरूवात १९९३ नेपाल प्रजा परिषद् पार्टीको स्थापना र जुद्धशमशेरले १९९७ साल माघमा चार जना वीर सपूत ( धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द ) युवालाई फाँसी दिए पश्चात् युवा आन्दोलनबाट सुरुभएको हो । जंगबहादुर राणाले १९०३ मा कोतपर्ब गरि निरंकुश जहानिया राणाशासनको सुरुवात गरेका थिए । त्यसको अन्त्य गरि जनतालाई राज्य सत्ताको मालिक बनाउने उदेश्यका साथ विभिन्न पार्टीको स्थापना भए । युवाको नेतृत्वमा भएको आन्दोलनले प्रजातान्त्रको स्थापना भई नेपालको राजनीति आधुनिक युगमा प्रवेश गरेको थियो । २००७ सालको होस वा २०३६ को जनमत सङ्ग्रह वा २०४७ को प्रजातान्त्रिक आन्दोलन वा २०६२/०६३ सालको जन–आन्दोलनमा ९० प्रतिशत युवाको सहभागिता भएकाले नै देशमा केही हदसम्म परिवर्तन आए । वर्तमान अवस्थामा राजनीतिमा युवालाई अर्थहीन सम्झँदा नेपाली युवा वर्गमा चरम निराशा छाएको छ ।
हाल नेपालको राजनीतिमा गुण्डागर्दी, अपराधिकरण, भ्रष्ट्राचार बड्दै गएकाले राजनीतिप्रति धेरै युवाहरूको बितृष्णा रहेको छ । युवालाई युवा संगठनको नाममा राजनैतिक दुरुपयोग गरेर युवाको जीन्दगी बर्बाद गर्नाले युवा राजनीतिमा आउन चाहँदैनन् । युवाले भन्छन् – राजनीति फोहोरी खेल हो । जबसम्म फोहोर पोखरीमा डुबेर पोखरी सफा गर्न थालिदैन पोखरी झन दुर्गन्धित हुँदै जान्छ । त्यसैले फोहोरी राजनीतिलाई सुगन्धित पार्न राजनीतिको बागडोर सम्हाल्ने जिम्मा युवा बर्गलाई दिईनुपर्छ । दलिय संरचना युवामैत्री बनाई क्षमता नभएका, योग्यता नभएका ब्यक्तिलाई सत्ताबाट बहिष्कार गरि परम्परागत राजनीति खारेज गर्नुपर्छ । अब आउने पुस्तालाई हतोत्साहित होईन राजनीति गर्न अभिप्रेरित गर्नुपर्छ । ५० वर्ष माथिका राजनीतिज्ञलाई राजनीतिबाट रिटाएर गराई राजनीतिक शिक्षक बनाएर परिचालन गरांै । आफू जलेर अरुलाई प्रकाश छर्ने दियो युवा वर्गलाई राजनीतिमा शतप्रतिशत सहभागी गराएर मात्र सुखी र समृद्ध मुलुक नेपालको परिकल्पना गरौं ।