बेलायतलाई ईयू छाड्न दवाव

-- NTA REP. / प्रकाशित मिति : शनिबार, साउन ८, २०७३

ईयूका संस्थापक सदस्य राष्ट्रहरूले ऐतिहासिक जनमतसंग्रहको परिणामपछि जतिसक्दो छिटो ईयू छाड्ने प्रक्रिया सुरु गर्न बेलायतलाई दबाब दिएका छन् । बेलायतको निर्णयबारे छलफल गर्न ६ संस्थापक सदस्यहरूबीच आयोजित आपत्तकालिन बैठकपछि यस्तो दवाव दिएका हुन् । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले भने आफ्ना उत्तराधिकारीले सम्झौताहरू गरून् भनेर अक्टोबारसम्ममा आफू बाहिरिने बताएका छन् । बर्लिनमा बैठकमा जर्मनी, फ्रान्स, इटाली, बेल्जियम, लक्जेमवर्ग र नेदरल्यान्ड सहभागी थिए । यी मुलुकहरू सन् १९५० ताका नै यो शक्तिमा समाहित भएका थिए र अहिले पनि ईयूको मुख्य देशका रूपमा रहेका छन् । बेलायती प्रतिनिधिबिनाको पहिलो ईयू शिखर बैठक जुन २९ का दिन बोलाइएको थियो । जनमतसंग्रहमा ईयू छोड्ने र नछोड्ने पक्षको क्रमश: ५२ र ४८ प्रतिशत मत आएको थियो । बेलायतले ईयूबाट बाहिरिन लिसबन सन्धिको धारा ५० सक्रिय बनाएर दुई वर्षभित्र विभिन्न सम्झौताहरू गर्नुपर्नेछ । यसैबीच, युरोपेली आयोगका अध्यक्ष जा क्लड योङकरले ईयूबाट बेलायतको बहिर्गमनको प्रक्रिया तीव्र रूपमा अघि बढाउन आफूले वार्ता सुरु गर्न चाहेको बताएका छन् ।