आत्मकथा, कथा र सन्तहरूको जीवनी खोजी–खोजी पढ्छु : केदार पोखरेल

-- पुस्तकवार्ता डिसेम्बर अंक २०१६ / प्रकाशित मिति : सोमवार, पुस ४, २०७३

तपाईं अहिले कुन पुस्तक पढदै हुनुहुन्छ ?

अहिले म एस पी श्रेष्ठले संकलन गरेको ‘सन्त जीवनगाथा’ र रोशन दाहालले लेखेको ‘बुद्ध दर्शन’ पढ्दैछु ।

 

तपाईं पुस्तक किन पढनुहुन्छ ?

पुस्तक पढ्ने त ज्ञानको लागि नै हो । पुस्तक पढ्ने अभ्यास नभएको मान्छे जीवन र जगतको बारेमा अनभिज्ञ हुन्छ । जीवन र जगतको ज्ञान नहुनु भनेको मान्छेले आफैंलाई नचिन्नु हो । मेरो सकृय जीवन पूरै शिक्षण पेशामा वित्यो । पढाउने पेशामा लागेको मान्छेले विभिन्न किसिमका पुस्तकहरू पढ्नै पर्छ, अन्यथा विद्यार्थीलाई चित्त बुझाउन सकिदैन । अर्को कुरा म सामान्य लेखक पनि हुँ । लेख्नको लागि ज्ञान झनैं चाहिन्छ । अरूको पुस्तक नपढ्ने मान्छेसंग ज्ञान कसरी हुन्छ ?

 

तपाईंमा पुस्तक पढने बानी कसरी बस्न गयो ?

शिक्षकको काम नै पढ्ने र पढाउने हो । विद्यालयमा हजारौं थरी पुस्तकहरू हुन्छन्, छानी–छानी पढ्न पाइन्छ । विद्यार्थीहरू पनि अध्ययन गर्छन् अनि नजानेको कुरा कक्षामा सोध्छन् । शिक्षकको नाताले उत्तर दिनै पर्छ । आज सकिएनभने अर्को दिन भनुला है पनि भन्नुपर्छ । यसरी विद्यालयमा पढाउँदादेखि नै मलाई पुस्तक पढ्ने बानी बसेको हो ।

 

तपाईंलाई मन परेका पुस्तक र मन पर्ने लेखक ?

मलाई पहिले सबभन्दा बढी ‘लक्ष्मी निबन्धसंग्रह’ मन पर्थ्यो । यस भित्रको ‘के नेपाल सानो छ?’ भन्ने शीर्षकले नै यसको गरिमा बढाएको हुनुपर्छ । तर मन पर्ने कवि भूपी शेरचन हुन् । उनले लेखेको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ सदावहार कृति हो भन्ने मलाई लाग्छ । हालका लेखकहरूमा स्व. जगदीश घिमिरे र कृष्ण धारावासी बढी मन पर्छन् ।

 

तपाईंले दोहोर्याएर पढेको कुनै पुस्तक ?

जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा,’ विश्वेरश्वरप्रसाद कोइरालाको ‘आत्म कथा’, कविता पौडेलको ‘काँडेघारीको यात्रा,’ लगायत वीसौं पुस्तक दोहोर्याएर पढेको छु ।

 

पुस्तकमा महिनामा कति खर्च गर्नुहुन्छ? अथवा पुस्तक कत्तिको किन्नुहुन्छ ? साथीहरूसँग चाँहि कत्तिको आदान प्रदान गर्नुहुन्छ?

महिनामा निश्चित रकम भनेर खर्च गरिदैन । नयाँ पुस्तकहरू जुनसुकै लेखकको भए पनि थाहा पाएसम्म किन्छु । मैले एकपटकमा तीन हजारसम्मको पुस्तक किनेको छु । साथीहरूले लगेका पुस्तकहरू धेरै हराए त्यसले गर्दा भरसक साथीसंग माग्दिन्न र दिन्न पनि ।

 

कस्ता खालका पुस्तक बढी पढ्न रूचाउनुहुन्छ?

आत्मकथा, कथा र सन्तहरूको जीवनी खोजी–खोजी पढ्छु । उपन्यास पनि पढ्न मन लाग्छ, त्यसमा पनि जीवनी टाइपका छन् भने मेरो छनोटमा पक्कै पर्छन् । जस्तै :– शान्ता, राधा, अल्पविराम र आधा बाटो जस्ता उपन्यासहरू ।

 

पुस्तक के गरी र कसरी छनोट गर्नुहुन्छ?

पुस्तक छनोट गर्न सजिलो हुँदैन । विज्ञापनको जमाना छ । प्रचारको आधारमा किनेका पुस्तकको स्तर सोही अनुसार नहुन सक्छ । नयाँ पुस्तक (नेपाली) बजारमा आएको थाहा पाउनासाथ किन्ने म जस्तो पाठकलाई यो कुराले पनि खासै फरक चाहिं पार्दैन ।

 

तपाईंलाई मन परेकोरसधैं सम्झिरहनेर आफूलाई प्रभाव पारेको कुनै पुस्तकको कुनै हरफर अंश?

(क) विश्वेश्वरप्रसाद कोइरालाको ‘आत्मवृत्तान्त’ मा उनी जेल पर्दा आमा आफ्नो छोराको बारेमा केही भन्न भनेर प्र. म. मोहन शमशेरलाई भेट्न जानुहुन्छ त्यसबेला वहांले भनेका अंशहरू :– “यो तानाशाही सरकारको भन्दा मेरो छोराको इज्जत धेरै ठूलो छ । मैले यही ठाउँमा आफ्नो दुलाहालाई सेलाएं, आफ्नो छोरो यहीं सेलाउन आएको छु । यो धम्की मलाई दिनुपर्ने जरुरत छैन ।”

(ख) कविता पौडेलको ‘काँडेघारीको यात्रा’ मा उनी २०४५ सालतिर भैरहवा थानामा थुनिएकी हुन्छिन् । त्यो पुस्तकको १६७ र १६८ पेजमा यी अंशहरू छन् :– “चार जना महिला पुलिसलाई बोलायो र मलाई बेस्सरी कोर्राले हान्न लगायो । आफैं अघि सरेर उसले बुटले मलाई छातीमा हान्यो । अनि महिला पुलिसलाई ‘ठोक’ भन्ने इशारा गर्यो । उनीहरूले कोर्राले छातीमा, पीठमा र कम्मरमा हिर्काउन थाले । महिला पुलिसले भएन भनेर अर्को पुलिस बोलाएर बन्दुकका कुन्दाले हान्न लगायो ।”

 

तपाईंको जीवनमा प्रभाव पारेको कुनै किताबी पात्र छन् ? पात्रको नाम र प्रभाव पार्नाकोकारण?

‘सन्त जीवन गाथा’ मा तीस जना संतहरूको जीवनी समेटिएको छ । यिनीहरू मध्ये स्वामी विवेकानन्दको जीवनीबाट म बढी प्रभावित भएको छु । उनको देशभक्ति र ‘भगवान कृष्णले कसरी सोह्र हजार गोपिनीलाई आफ्नो पछि लगाउन सके ?’ भन्ने पत्रकारको जिज्ञासामा उनको उत्तर अत्यन्त घतलाग्दो छ ।

 

तपाईंले पढ्न चाहेर पनि नपाउनुभएको कुनै पुस्तक छ ? पुस्तकको नाम?

बुद्धि सागरको ‘कर्णालीको ब्लुज’ त पढियो तर उनको ‘फिरफिरे’ पढ्न पाएको छैन ।

 

तपाईंले मन नपरेर पढ्दापढ्दै बीचैमा छाडेको कुनै पुस्तक छ ? पुस्तकको नाम र मन नपर्नाको कारण ?

रेवतीरमण पौडेलद्वारा अनुदित वील क्लिन्टनको ‘मेरो जीवन’ पूरा पढ्न मन लागेन । त्यसमा धेरै ठाउँमा अंग्रेजी अनुच्छेदरू छन् । म अंग्रेजी त्यति बुझ्दिन ।

 

अरूलाई कुन पुस्तक पढ्न सल्लाह सुझाव दिनुहुन्छ?

पुस्तकहरू ज्ञानकै लागि लेखिन्छन् कुनै पनि पुस्तकले ज्ञान दिन्छ । पुस्तक पढ्ने बानी भएको मान्छे दुर्जन हुनसक्तैन । जुनसुकै किताब पढ्नुस् तर सन्तहरूको जीवनी पढ्न नविर्सिनुस् ।