ट्रम्पको नयाँ काइदा

-- NTA REP. / प्रकाशित मिति : शनिबार, पुस २३, २०७३

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचकहरूलाई नै आफ्नो सहयोगीका रूपमा नियुक्तिका लागि चयन गरेका छन् । साउथ क्यारोलीनाकी ४४ वर्षीया गभर्नर निक्की हेलीलाई उनले संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको राजदूतका रूपमा नियुक्त गरेका छन् । हेलीले ट्रम्पको प्रस्तावअनुसार राष्ट्रसंघका लागि अमेरिकी राजदूतको मन्त्रीस्तरीय पद स्विकार्ने निर्णय गरेकी छन् । भारतीय आप्रवासी परिवारकी हेलीले अमेरिकामा मुसलमानहरूलाई प्रवेश गर्न प्रतिबन्ध लगाउने ट्रम्पको प्रस्तावको चर्को आलोचना गरेकी थिइन् । त्यसैगरी, वेट्सी डेभोसलाई शिक्षा मन्त्रीको रूपमा ट्रम्पले रोजेका छन् । डेभोस स्थानीय सरकारी विद्यालयको अध्यक्ष थिइन् । डेभोसले निर्वाचन अभियानका बेला ट्रम्पले रिपब्लिकन पार्टीको वास्तविक प्रतिनिधित्व नगर्ने बताउँदै खरो आलोचना गरेकी थिइन् । दुवै मनोनयनलाई रिपब्लिकन पार्टी नियन्त्रणमा रहेको अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्छ ।