१२ औं सागमा केही खुसी, केही चिन्ता
कास्य पदकको जितबाट प्रँरम्भ भएको नेपालको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को यात्रा फेब्रुअरी १६ का दिन भारतको गुवाहटीमा सम्पन्न हुँदा कास्य पदकबाटै अन्त्य भएको छ । इन्दिरा गान्धी स्टेडियममा १२ औं सागको भव्य समापन हुँदा नेपालको पदक तालिकामा ३ स्वर्ण, २३ रजत र ३४ कास्य पदक झुन्डिएको छ ।
आसामको गुवाहटी र मेघालयको सिलोङमा १२ दिनसम्म सञ्चालन भएको दक्षिण एसियाली खेलकुदमा नेपालको प्रदर्शन अपेक्षाअनुरुप हुन सकेन । सागको अन्तिम दिन सिलोङमा जुडोका तीन खेलाडीले कास्य दिलाएसँगै नेपालको १२ औं साग यात्रा टुंगिएको हो । अन्तिम दिन शिवबहादुर बराम, पुनम श्रेष्ठ र गंगा चौधरीले जुडोमा कास्य पदक जितेका थिए । भारोत्तोलनकी देवी चौधरीले जितेको कास्यबाटै नेपालको पदकयात्रा थालनी भएको थियो ।
यसपटकको सागमा कुल २३ खेल वटा खेलाइएने योजना भए पनि २२ खेलले मात्र खेल्ने मौका पाए । भारतीय बास्केटबल संघको आन्तरिक विवादका कारण बास्केटबलको प्रतिस्पर्धा नै भएन । हक्कीको पुरुष टोलीबाहेक अरु सबै खेलमा नेपालले महिला–पुरुष खेलाडी प्रतिस्पर्धामा उतारेको थियो ।
फुटबल, उसु, जुडो, पौडी, भारोत्तोलन, तेक्वान्दो, ट्रायथोलन, ब्याडमिन्डन, टेबलटेनिस, खो— खो, स्क्वास, आर्चरी, बक्सिङ, हक्की, कुस्ती, कब्ड्डी भलिबल, एथलेटिक्सका खेलाडीले कम्तिमा एउटा पदक दिलाए । पदक नजित्ने खेलमा सुटिङ, ह्यान्डबल, साइक्लिङ र टेनिस रह्यो । दक्षिण एसियाली खेलकुदको आठौं संस्करणयता नेपालको यो खराब प्रदर्शन हो । पहिलोपल्ट नेपालले ३ स्वर्णमै चित्त बुझाउनुपरेको हो ।
३ सय ८४ खेलाडी सहभागिता गराएको नेपाललाई सागको कान्छो टोली अफगानिस्तानले पहिलोपल्ट जितेको छ । तेक्वान्दोमा वर्चस्व जमाउँदै अफगानिस्तान ७ स्वर्णसहित कुल ३५ पदक जितेर चौथो स्थानमा रहन सफल भयो । नेपाल पहिलोपल्ट तेक्वान्दोबाट स्वर्ण पदक विहिन हुनु पर्यो । पछिल्लो सागकी एक्लो स्वर्णधारी आयशा शाक्यको स्वर्ण थप्ने लक्ष्य पनि पूरा हुन सकेन ।
आयोजक भारतले दक्षिण एसियालीमा आफ्नो शक्ति कायम राख्दै १ सय ८८ स्वर्ण जितेर अन्य प्रतिस्पर्धीलाई धेरै पछाडि छाड्न सफल भयो । पछिल्लो ढाका सागमा भन्दा भारतले दोब्बर स्वर्ण जित्यो । ढाकामा ९० स्वर्ण जितेको थियो । अन्य राष्ट्रको भागमा थोरै स्वर्ण जाँदा श्रीलंकाले २५, पाकिस्तानले १२, अफगानिस्तानले ७, बंगलादेशले ४ र नेपालले ३ वटा स्वर्ण पदक जित्न सफल रहे ।
नेपाली फुटबल र जुडोका लागि १२आैं साग स्वर्णिम बन्न पुग्यो । सन् १९९३ पछि नेपालले सागमा फुटबलको स्वर्ण जित्दा फुपुल्हामु खत्रीले १९९५ पछि जुडोबाट देशलाई पहिलो स्वर्ण दिलाइन् । विराज महर्जनको कप्तानीमा रहेको यु–२३ टोलीले भारतलाई उसकै मैदानमा २–१ ले हराएर स्वर्ण पदक जितेको हो । छैटौं सागमा स्वर्ण जित्दा पनि नेपालले टाइब्रेकरमा भारतविरुद्ध नै जित पाएको थियो ।
पौडीका लागि पनि यो साग ऐतिहासिक बन्यो । १३ वर्षीया पौडीवाज गौरिका सिंहले १ रजत र ३ कास्य जितेकी थिइन्, जुन दक्षिण एसियाली खेलकुद इतिहासमा नेपाली पौडीवाजले जितेको व्यक्तिगततर्फकै पहिलो पदक थियो । १६ वर्षे खेलाडी उसुकी निमा घर्तीमगरले स्वर्ण जिताएर मार्सल आर्टको छवि जोगाउने काम गरिन् ।
ट्रायाथोलनले पहिलो सहभागितामै रजतसहित दुई पदक जितेको छ । प्रेमप्रसाद पुनले आर्चरीमा व्यक्तिगत प्रतिस्पर्धाबाट पदक दिलाए । पहिलोपल्ट समावेश महिला भारोत्तोलनमा तीन खेलाडीले पदक जित्दा पहिलोपल्ट महिलाको समावेश बक्सिङ र हक्कीले पनि पदक जितेको थियो ।
नेपालले सफलता पाएका खेलाडीको प्रदर्शन हेर्ने हो भने उनीहरूको अन्तर्राष्ट्रिय एक्स्पोजर बढी छ । बंगबन्धु गोल्डकप जितेर मनोबल टोलीले साग फुटबलमा पनि त्यही लय कायम राखेको छ भने जुडोकी फुपु पनि वैदेसिक प्रशिक्षणप्राप्त खेलाडी हुन् । पौडीमा सफलता पाएकी गौरिका पनि बेलायतमा आफ्नै लगानीमा हुर्किरहेकी खेलाडी हुन् । राष्ट्रिय खेलकुद प्रतियोगितासमेत गर्ने नसकेका खेललाई पनि सागमा उतारिएको छ । त्यसैले पनि सागमा कमजोर प्रदर्शन देखियो हो ।
नेपालका लागि १२ औं दक्षिण एसियाली खेलकुद (साग) को नतिजा २३ वर्षयताकै सबैभन्दा खराब रह्यो । बृहत् खेलकुदमा स्वर्ण पदकका आधारमा पदक तालिका तयार पारिन्छ । यस आधारमा ३ स्वर्ण पदक जितेको नेपाल १२ औं सागमा छैटौं स्थानमा रह्यो । नेपालले यसपालि स्वर्ण पदक जित्न असफल दुई देश (भुटान र माल्दिभ्स) लाई मात्र उछिन्न सक्यो ।
भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२ औं सागमा नेपाललाई १६ वर्षीया उसु खेलाडी नीमा घर्तीमगर, जुडो खेलाडी फुपू ल्हामु खत्री तथा पुरुष फुटबल टिमले स्वर्ण पदक दिलाएका थिए । नेपालले थप २३ रजत एवं ३४ कांस्यसहित कुल ६० पदक हात पार्यो ।
पदक संख्या हेर्दा आठौं संस्करण (६५ पदक) पछि साग खेलकुदमा यसै पटक समग्रमा सबैभन्दा धेरै पदक प्राप्त भएको हो । यसैलाई लिएर राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट १२ औं सागको नतिजाबाट असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको बताउँछन् । ‘स्वर्ण पदकलाई मात्र हेरेर विश्लेषण गर्नुभएन,’ जुडोका पदक विजेता खेलाडीको सम्मानमा आयोजित कार्यक्रममा विष्टले भने, ‘कुल पदकको हिसाबमा हामीले ११ औं सागभन्दा झन्डै दोब्बर पदक जितेका छौं । यसलाई लिएर खुसी मान्नुपर्छ ।’
बक्सिङ, जुडो, टेबलटेनिस, बास्केटबल, खोखो, हकी आदि केही खेललाई मात्र वैदेशिक प्रशिक्षणमा पठाइयो । टिम गुवाहाटी पुगेर पनि भारतको आन्तरिक कलहका कारण फिवा एसियाले सागमा बास्केटबल सञ्चालन गर्ने स्वीकृति दिएन । बास्केटबलसहित सागमा समावेश २३ खेलमा ३ सय ८४ नेपाली खेलाडीको नाम दर्ता गरिएको थियो । हकीमा नेपाली पुरुष टिम थिएन र महिलातर्फ नेपालले खेल्नुअघि नै पदक प्राप्त गर्ने कुरा पक्का भैसकेको थियो । अरु सबै खेलको पुरुष र महिला स्पर्धामा नेपालको सहभागिता थियो । चार खेलमा मात्र पदकविहीन भए पनि धेरैमा नेपालको चुनौती सके कांस्य हात पार्ने, नसके अन्तिम स्थान प्राप्त गर्ने खालको देखियो ।
सागको इतिहासमा नेपाललाई सर्वाधिक २४ स्वर्ण पदक दिलाएको तेक्वान्दोमा यसपालि नेपालले स्वर्ण पदक जित्न सकेन, जुन कमजोरीको नयाँ अध्याय हो । तेक्वान्दोमा सहभागि १३ मध्ये ७ नेपाली खेलाडीले रजत पदक जिते भने ३ खेलाडीले कांस्य पदक जिते । एथलेटिक्समा नेपाललाई एक कांस्य पदक मात्र हात लाग्यो र नेपाल म्याराथनमा पहिलोपल्ट पदकविहीन रह्यो । बक्सिङमा प्राप्त ३ कांस्य पदक पनि अहिलेसम्मकै सबैभन्दा फितलो नतिजा हो । उसुमा एकमात्र स्वर्ण पदक पनि अर्को फितलो नतिजा हो । १ स्वर्ण, १० रजत तथा १ कांस्य हात पारेको उसुका धेरै खेलाडी जुनियर छन् । त्यसैले यो खेलमा भविष्यमा राम्रो नतिजाको आशा गर्ने ठाउँ छ ।
सन् २००४ को नवौं संस्करणको दक्षिण एसियाली खेलकुददेखि मात्र सहभागिता जनाउन थालेको अफगानिस्तानले ७ स्वर्ण पदक जित्दै यसैपालि नेपाललाई पदक तालिकामा पछाडि पार्यो । दक्षिण एसियाली महारथी भारतले १ सय ८८ स्वर्ण पदक जित्यो भने श्रीलंकाले २५ तथा बंगलादेशले ४ स्वर्ण पदक हात पारे ।
नेपालले फुटबलमा २३ वर्षपछि स्वर्ण पदक जित्यो र यो यु–२३ टिमको पहिलो उपाधि पनि हो । ढाकामा सम्पन्न छैटौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) मा भने राष्ट्रिय टिमले नेपालका लागि एकमात्र स्वर्ण पदक जितेको थियो । नेपालका लागि त्यसयताकै खराब प्रतियोगिता सावित भयो १२ औं साग । नेपालले मद्रासमा भएको सातौं साफ गेम्समा ४, काठमाडौंमा भएको आठौंमा ३१, इस्लामावादमा भएको नवौंमा ७, कोलोम्बोमा भएको दसौंमा ७ तथा ढाकामा भएको ११ औं संस्करणमा ८ स्वर्ण पदक हात पारेको थियो ।
जुडोमा फुपुले प्राप्त गरेको स्वर्ण पदक दक्षिण एसियाली खेलकुदमा नेपाली महिलाले जुडोतर्फ प्राप्त गरेको पहिलो स्वर्ण पदक हो र जुडोमा २१ वर्षयताको पहिलो स्वर्णपदक । जुडोमा यसपालि नेपालले १ स्वर्ण, २ रजत र ६ कांस्य जित्दै राम्रो सम्भावना देखायो । यू–२३ फुटबल टिम (पुरुष) को प्रदर्शन पनि गतिलो थियो । त्यसैले त २३ वर्षपछि स्वर्ण हात लाग्यो ।
अर्को सकारात्मक नतिजा पौडीमा देखियो । लन्डनमा प्रशिक्षण गरिरहेकी १३ वर्षीया स्वीमर गौरिका सिंहले नेपाललाई ऐतिहासिक रजतसहित चार पदक दिलाइन् र १२ औं सागमा पौडीतर्फ नेपालका लागि २० राष्ट्रिय कीर्तिमान बने । त्यसमध्ये १० कीर्तिमानमा गौरिकाको योगदान छ । यिनै गौरिका, यू–२३ फुटबल टिम, नीमा एवं फुपूले १२ औं सागमा नेपाली अनुहारलाई उज्यालो बनाउने प्रयास गरे ।
आगामी १३ औं साग नेपालमा हुने निश्चित भैसकेको छ ।
१२ औं सागमा नेपाल
पदक : ३ स्वर्ण, २३ रजत, ३४ कांस्य
नेपालले पदक जितेकाे खेल
फुटबल, उसु, जुडो, पौडी, भारोत्तोलन, तेक्वान्दो, ट्रायथलन, ब्याडमिन्टन, टेबलटेनिस, खो–खो, स्क्वास, आर्चरी, बक्सिङ, हकी, कुस्ती, भलिबल, एथलेटिक्स तथा कबड्डी ।
पदकविहीन खेल
सुटिङ, ह्यान्डबल, साइक्लिङ तथा टेनिस ।
साफ गेम्स/सागमा नेपाल
वर्ष स्थान स्वर्ण रजत कांस्य कुल
१९८४ काठमाडौं ४ १२ ८ २४
१९८५ ढाका १ ९ २२ ३२
१९८७ कोलकाता २ ७ ३३ ४२
१९८९ इस्लामाबाद १ १२ २४ ३७
१९९१ कोलोम्बो २ ८ २९ ३९
१९९३ ढाका १ ६ १५ २२
१९९५ मद्रास ४ ८ १६ २८
१९९९ काठमाडौं ३१ १० २४ ६५
२००४ इस्लामाबाद ७ ६ २० ३३
२००६ कोलोम्बो ७ १५ २९ ५१
२०१० ढाका ८ ९ १९ ३६
२०१६ गुवाहाटी–सिलोङ ३ २३ ३४ ६०
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...