प्रविधिको वर्ष २०१८

प्रविधिको क्षेत्रमा वर्ष २०१८ ले ठूलै फड्को मारेको छ । वितेको वर्ष मोबाइलदेखि कम्प्युटरसम्मको क्षेत्रमा ठूला–ठूला उपलब्धिहरु भएका छन् ।
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, माघ ९, २०७५

प्रविधिको क्षेत्रमा वर्ष २०१८ ले ठूलै फड्को मारेको छ । वितेको वर्ष मोबाइलदेखि कम्प्युटरसम्मको क्षेत्रमा ठूला–ठूला उपलब्धिहरु भएका छन् ।

—हाल सामान्य चार्जरको सहयोगले स्मार्टफोन चार्ज गर्न सकिन्छ । वायरलेस चार्जिङको प्रयोग बिस्तारै बढ्दैछ । कारको क्याविनमा समेत वायरलेस चार्जिङ पोड उपलब्ध हुन थालेको छ । आगामी दिनमा मोबाइलका लागि चार्जिङ केबुल र एड्याप्टर आवश्यक पर्नेछैन । मोबाइल फोन प्रयोगकर्ताहरूले चार्जर बोक्नु नपर्ने र वायरलेस पोडकै माध्यमबाट यसलाई चार्ज गर्नेछन् ।

—हाल स्मार्टफोन निर्माता कम्पनीहरूले पछिल्लो भागको मेन क्यामेरा मोड्युलमा मल्टिपल लेन्स राख्ने लहर नै चलेको छ । आगामी दिनमा स्मार्टफोन निर्माता कम्पनीहरूले सिंगल लेन्स क्यामेरा हटाएर कमसेकम दुई वा तीन लेन्स भएको क्यामेरा प्रयोग गर्ने सम्भावना छ । सामसुङ, हुवावे आदिले यस प्रकारका लेन्स भएका क्यामेरा उपलब्ध गराइसकेका छन् ।

—एप्पलले वर्ष २०१८ मै आएका नयाँ मोबाइलमा ईसिमको सहयोगले ड्युअल सिम सपोर्ट गर्न सकिने सुविधा उपलब्ध गराएको छ । एन्ड्रोइड फोन निर्माता कम्पनीहरू पनि यही अभियानमा लागेका छन् । फिजिकल सिमको प्रयोगलाई धेरैले हटाउदै गएका छन् । भारतमा समेत केही टेलिकम कम्पनीले इसिम उपलब्ध गराउन थालेका छन् । त्यसैले आगामी दिनमा सिम कार्ड राख्न छुट्टै स्लट आवश्यक हुने छैन ।

—बाहिरी रूपमा राखिने माइक्रो एसडी कार्डले स्मार्टफोनको पर्फमेन्समा असर पुर्याउँछ । त्यसैले मोबाइल निर्माता कम्पनीहरूले ५ सय १२ जीबी बराबरको उच्च स्तरीय क्षमताको इन्टरनल स्टोरेज उपलब्ध गराएका हुन्छन् । आगामी दिनमा बाहिरी रूपमा प्रयोग गरिने माइक्रो एसडी कार्डको प्रयोगमा कमी ल्याउन विभिन्न प्रविधि उपलब्ध हुने सम्भावना बढ्दो छ ।

—एप्पल र अन्य केही कम्पनीले हेडफोन ज्याक प्रयोग गर्न नपर्ने गरी स्मार्टफोन निर्माण गरिसकेका छन् । पारम्पारिक ३ दशमलव ५ मिलिमिटरको हेडफोन पहिले नै फेसनबाट हटिसकेको छ । अन्य कम्पनीहरूले पनि स्मार्टफोनमा मल्टी फङसनल पावर र चेक बटन ल्याउन सक्छन् । यसलाई भोल्युम बटनका रूपमा पनि प्रयोग गर्न सकिनेछ ।

—वर्ष २०१८ मा आईफोन इभेन्टमा एप्पलले ड्युअल फोन लाग्ने आईफोन सार्वजनिक गर्यो । सार्वजनिक गरिएको आईफोन एक्सएस, एक्सएस म्याक्स तथा एक्सआरमा एक इनसिम र अर्को फिजिकल सिम स्लट छ । पहिले एउटा मात्र सिम प्रयोग गर्न सकिने आईफोन भएकोमा अन्य कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न एप्पलले यस प्रकारको आईफोन निर्माण गरेको हो ।

—वर्ष २०१८ मा क्यालिफोर्नियाको मोबाइल निर्माता कम्पनी रोयोलेले फ्लेक्जिबल वा फोल्डेबल डिस्प्ले भएको स्मार्टफोन बजारमा उपलब्ध गरायो । यसलाई रोयोले फ्लेक्जिबल भनिएको छ । यसमा ७ दशमलव ८ इन्चको एमोलेड डिस्प्ले छ । फोल्ड गर्दा यो ४ इन्चको हुन्छ । यसमा अक्टाकोर स्न्यापड्रागन प्रोसेसर, ६ वा ८ जीबीको र्याम, १२८/२५६/५१२ जीबी स्टोरेज तथा ३ हजार ८ सय एमएएच ब्याट्री छ । यसमा १६ र २० मेगापिक्सेलको ड्युअल क्यामेरा छ । उक्त स्मार्टफोन एन्ड्रोइड ९.० मा आधारित कस्टम इन्टरफेसमा चल्छ ।

 

—नुबिया कम्पनीले अघिल्लो र पछिल्लो भागमा दुई रङका टचस्क्रिन भएको स्मार्टफोन लन्च गरेको छ । दुवै डिस्प्लेमा एउटै कन्टेन्ट राख्न मिल्ने सुविधा पनि छ । सेल्फी र भिडियो कलका लागि स्मार्टफोनलाई घुमाए पुग्छ । दुवैतर्फ फिंगरप्रिन्ट स्क्यानर सुविधा छ । यसमा स्न्यापड्रागन प्रोसेसर, ८ जीबी र्याम, २ सय ५६ जीबी सम्मको स्टोरेज, ३ हजार ८ सय एमएएच ब्याट्री, १६ र २४ मेगापिक्सेलको ड्युअल रियर क्यामेरा, ड्युअल सिम स्लट तथा यूएसबी पोर्ट आदि फिचर उपलब्ध छन् ।

—निकट भविष्यमा स्मार्टफोनमा फिंगरप्रिन्ट स्क्यानर रहनेछैन । एप्पलले यसको सुरुवात गरिसकेको छ । एप्पलले नयाँ स्मार्टफोन एक्सएस, एक्सएस म्याक्स तथा एक्सआरमा फिंगरप्रिन्ट स्क्यानर समावेश गरेको छैन । यसमा सेक्युरिटीका लागि फेस आईडी मात्र उपलब्ध छ । एन्ड्रोइड फोनमा भिभो र ओप्पोले इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर सामेल गरेका छन् । आगामी दिनमा वान प्लस ६टी र सामसुङ ग्यालेक्सी एस १० मा पनि फिंगरप्रिन्ट स्क्यानर हुने छैनन् ।