थ्रीडी प्रिन्टेड मुटु

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६

इजरायली वैज्ञानिकहरूले थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनी सहितको मुटु निर्माणमा सफलता हासिल गरेका छन् । चिकित्सा विज्ञानको क्षेत्रमा यसलाई एक महत्वपूर्ण खोजका रूपमा लिइएको छ । यसअघि वैज्ञानिकहरूले मानव शरीरको कोषहरू मात्र बनाएका थिए । त्यसमा धमनी राख्न सकेका थिएनन् । यसको खास विशेषता भनेको यसलाई मानव कोशिकाहरूबाट निर्माण गरिनु हो । धमनीसहितको मुटु विकास गरिएको यो पहिलो घटना हो । इजरायलको तेल अभिव युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले तयार पारेको यो मुटु अहिले नै पूर्ण रुपमा काम गर्न भने सक्षम छैन । यद्यपि पहिलो पटक वैज्ञानिक थ्रीडी प्रविधिबाट कृत्रिम मुटु बनाउने दिशामा यति नजिक पुगेका छन् । थ्रीडी प्रिन्टेड यो मुटुको आकार भने खरायोको जत्रो मात्र छ । यद्यपि अनुसन्धानकर्ताहरू चाँडै नै मानवका लागि प्रयोग गर्न सकिने मुटु पनि तयार गर्न सकिनेमा विश्वस्त छन् । वास्तवमा यो पुस्ताको थ्रीडी प्रिन्ट रिजोलुसनमा मात्र सीमित छ । यस्तो स्थितिमा अत्यन्त मसिना रक्त धमनी बनाउन कठिन सावित हुनेछ । यो कठिनाइबाट पार पाएपछि नै मानवका लागि निर्माण सम्भव हुनेछ ।