एनटिसीको फोरजी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६

नेपाल टेलिकमले नेपालमा फोरजी प्रविधिको मोबाइल नेटवर्क विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । यसका लागि हङकङको सीसीएसआई तथा चिनियाँ कम्पनी जेडटीईलाई जिम्मेवारी प्रदान गरिएको छ । यही गतिमा कार्य भैरहे आगामी दसैं–तिहारसम्ममा देशभर फोरजी नेटवर्क विस्तार सम्पन्न हुने टेलिकमले बताएको छ । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोरजी नेटवर्क धेरै गुणस्तरीय हुनेछ र यसको माध्यमबाट तीव्र गतिमा डाटा चलाउने मात्र होइन, भ्वाइस सेवा समेत गुणस्तरीय रूपमा प्रयोग गर्न सकिनेछ । टेलिकमले विस्तार गर्न लागेको फोरजी नेटवर्कको अधिकतम स्पिड १३० एमबीपीएस हुनेछ । भ्वाइस ओभर एलटीई नाम दिइएको यो सुविधाले मोबाइल नेटवर्कमा हुने भ्वाइस कलको गुणस्तर बढाउनेछ । यसमा हुने सुविधा भ्वाइस ओभर वाईफाई अर्थात भीओवाइफाई पनि हो । भिओवाइफाई भिओएलटीईकै विस्तारित रूप हो । यसको सबैभन्दा ठूलो विशेषता भनेको मोबाइलको नेटवर्क बिना पनि वाइफाइको सहयोगमा फोन लाग्नु हो । टेलिकमको फोरजी नेटवर्कमा पूर्णरुपमा स्वचालित सेल्फ अर्गनाइजिङ नेटवर्क (एसओएन) प्रविधि रहनेछ । फोरजी विस्तारका क्रममा घना बस्ती र ठूला घरहरू भएका स्थानमा नेटवर्कलाई सुचारु बनाउन करिब ६ हजार साना टावर राखिने टेलिकमले जनाएको छ । टेलिकमले देशभर विस्तार गर्ने फोरजी नेटवर्क पछि फाइभजीको विस्तार गर्नेछ ।