कस्तो हुन्छ फाइभजी ?

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६

दक्षिण कोरिया फाइभजी नेटवर्क प्रयोगमा ल्याएर विश्वकै पहिलो फाइभजी नेटवर्क प्रयोग गर्ने देश भएको छ । अब अन्य देशमा पनि विस्तारै यसको प्रयोग सुरु हुनेछ । सबैभन्दा तीव्र गतिको फोरजी नेटवर्कमा डाटाको स्पिड करिब ४५ एमबीपीएस अर्थात मेगाबिट्स प्रतिसेकेन्ड छ भने फाइभजीको गतिलाई करिब एक हजार एमबीपीएस सम्म बढाउन सकिने बताइएको छ । यसको अर्थ फोरजीको तुलनामा फाइभजीको गति करिब १० देखि २० गुणासम्म बढी हुनेछ । फाइभजीलाई अलग–अलग प्रविधिको संगम पनि भनिन्छ । यसमा मिलिमिटर वेब्स, स्मल सेल, म्यासिभ माइमो, बिमफमिङ तथा फुल डुप्लेक्स जस्ता प्रविधि प्रयोग हुन्छ । डाटा ट्रान्सफरका लागि ठूलो टावरको नजिकै स्मल सेलमा आधारित बेस प्वाइन्ट राखिन्छ । यी प्वाइन्टले टावरको फ्रिक्वेन्सीलाई विभिन्न स्थानमा फैलिन सहयोग गर्छन् । त्यसैगरी मल्टिपल इनपुट र मल्टिपल आउटपुट भनिने प्रविधि म्यासिभ माइमो पनि प्रयोग गरिन्छ । फोरजीको टावरमा एन्टेनाका लागि करिब एक दर्जन पोर्ट्स प्रयोग गरिन्छ भने म्यासिभ माइमो बेस स्टेशनमा एन्टेनामा १ सय भन्दा बढी पोर्ट्स हुन्छन् । विभिन्न सिग्नल क्रस कनेक्सन नहोस् भनेर बिमफमिङ प्रविधिलाई प्रयोगमा ल्याइन्छ । यसको सहयोगले सिग्नल निर्धारित दिशामा बग्न सहयोग पुग्छ । त्यसैगरी फुल डुप्लेक्स प्रविधिले इनकमिङ तथा आउटगोइङ डाटालाई सम्हालेर राख्न सक्छ । फाइभजी प्रविधि निकै हाइटेक प्रविधि हो । यसका कारण वायरलेस नेटवर्क निकै तीव्र हुन्छ । मोबाइलमा फुल एचडी भिडियो केही सेकेन्डमै डाउनलोड हुन्छ । यद्यपि स्मार्टफोनमा भिडियो हेर्न मात्र यसको प्रयोग सीमित हुँदैन । यसको सहयोगले ड्राइभरलेस ट्रान्सपोर्ट, स्मार्ट सिटी, भर्चुअल रियालिटी तथा अत्यन्तै तीव्र गतिको रियल टाइम अपडेट प्राप्त गर्न सकिन्छ । फाइभजी आपसमा सम्वाद गर्नका लागि सिग्नलमा आधारित प्रविधि हो । यसको सहयोगले एउटा गाडीबाट अर्को गाडीमा भएको मानिससँग संवाद गर्न मात्र होइन, उनीहरू दुईका बीच कति दूरी र गति हुनुपर्छ भन्ने वारेमा समेत डाटाको सहयोगले सम्वाद गर्न सक्छन् ।