ब्ल्याक होलको तस्बिर सार्वजनिक

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, बैशाख ३१, २०७६

अन्तरिक्ष वैज्ञानिकहरूले पहिलोपटक ‘ब्ल्याक होल’ को तस्बिर सार्वजनिक गरेका छन् । इभेन्ट होराइजन टेलिस्कोप (ईएचटी) परियोजनामा सामेल वैज्ञानिकहरूले विश्वभरका ६ वटा दूरबिन उपयोग गर्दै उक्त तस्बिर लिएका हुन् । यसलाई अन्तरिक्ष विज्ञानमै ठूलो उपलब्धि मानिएको छ । यसअघि फिल्म, तस्बिर आदिमा देखाइने ब्ल्याक होलको तस्बिर काल्पनिक थियो । आकाशगंगा ‘एम ८७’ मा ५ करोड ५० लाख प्रकाशवर्ष टाढा रहेको यो ‘ब्ल्याक होल’ को तस्बिरमा ग्यास र प्लाज्माको सुन्तला रङको प्रकाश निस्किरहेको देखिएको छ । ब्ल्याक होलको तस्बिर खिच्न अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी तथा जर्मनीको म्याक्स प्लांक इन्स्टिच्युटको अगुवाइमा खगोल वैज्ञानिकहरूले विश्वभर फैलिएको रेडियो टेलिस्कोपको एउटा नेटवर्क बनाएका थिए । यसैलाई इभेन्ट होराइजन टेलिस्कोप परियोजना भनिन्छ । ब्ल्याक होल धेरै शक्तिशाली गुरुत्वाकर्षण क्षेत्र भएको खगोलीय शक्ति हो । तान्ने क्षमताका कारण यसको नजिक गएका केही पनि बाँच्न सक्दैनन् । ब्ल्याक होलको चारैतिर एउटा सीमा हुन्छ । त्यो सीमालाई इभेन्ट होराइजन भनिन्छ । त्यसमा वस्तु झर्न त सक्छ तर फिर्ता आउन सक्दैन । त्यसैले यसलाई ब्ल्याक होल भनिएको हो । यसले आफू माथि पर्ने सबै प्रकाशलाई अवशोषित गरेर त्यसको सट्टामा केही परावर्तित गर्दैन ।