नेपाली राजनीतिले संधै पछ्याइरहने प्रबासी समाज

-- सम्पादकीय , नेपाली टाईम्स अष्ट्रेलिया जुन २०१९ / प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६

नेपाल गए कपाल संगै, बर्मा गए कर्म संगै भन्ने नेपाली उखान उ बेला अर्कै अर्थले भनिएको भए पनि यो संधैजस्तो मिल्ने देखियो । कुनै बेला देशका दूरदराजबाट मानिसहरू अवसर खोज्दै कि त देशको राजधानी पुग्थे जसलाई चलनचल्तीको भाषामा नेपाल भनिन्थ्यो र विदेश जाने भनेको त्यति बेला बर्मा मात्र हँुदो हो । यी दुवै ठाउँमा पुग्दैमा भाग्य एकाएक परिवर्तन हुने होइन भन्ने यो उखानको अर्थ हुँदो हो । तर आहिले अबसरको खोजिमा नेपालीहरू लगभग सबै महादेश छिचोली सके । बिश्वको जुन कुनामा पुगे पनि नेपालमा रहँदा कुन पार्टीको सदस्य थियो, नेपालमा हुँदा कुन पार्टीमा भोट हाल्थ्यो भन्ने कुराले प्रबासमा पुगेको पहिलो पुस्ताका नेपालीहरू लाई छायाँ जस्तै पछ्यारहेको देखिन्छ ।

प्रबासका जमघटहरू मा प्रायः राजनीतिक बिषय, प्रबासका संघ संस्थामा राजनीतिक आस्था कै आधारमा संस्थाको नेतृत्व चयनका लागि रस्साकस्सी हेर्दा लाग्छ माथि भनिएको उखान हामी जुन भूगोलमा बसे पनि ठ्याक्क मिल्छ । यति बेला अष्ट्रेलियामा एनआरएनएको नयाँ नेतृत्व चयनको बिषयले यहाँको नेपाली समुदाय तातेको छ । तात्त्दै गर्दा सामाजिक संजालहरू नेतृत्व लिन इच्छुकका अनुहारहरू र तिनका बिभिन्न खाले भोट माग्ने काइदाले रंगिएको छ । प्रबासको सामाजिक संस्थाका उदेश्यहरू प्रायः जो आए पनि एकै हुनु पर्ने हो तै पनि मान्छे पिच्छेका, समुह पिच्छेका एजेन्डाहरू हेर्दा लाग्छ नेपाली पाराको राजनीति यहाँ पनि भइरहेछ ।

यति बेला एनआरएनए अष्ट्रेलियाको नेतृत्व लिन चाहनेहरू तीन भिन्न–भिन्न समूहमा अघोषित प्यानल सहित आएका देखिन्छन् । तपाईहरू राजनीतिक आस्थाका आधारमा कुनै समुहबाट उम्मेदवार हुँदै हुनुहुन्छ ? भनि सोध्दा प्रायः सबैको उतार हुन्छ होइन राजनीतिकको कुनै आस्था या त्यस्तो खालको प्यानल होइन मात्र “लाईक माइन्डेड” साथीहरू ले मलाई समर्थन गर्नु भएको छ । सबै पक्षबाट लगभग एउटै उत्तर आउँछ । तर अचम्म त त्यति बेला मान्नु पर्दछ यहाँको उम्मेदवारीको बिषयमा नेपालका ठूला पार्टीका नेताहरू समेत एकदमै उत्सुक देखिन्छन् र उनीहरू लाई यतैबाट के हुँदैछ भनि दिनहुँ अपडेट समेत गरि रहिएको हुन्छ । अझ अचम्म त त्यति बेला मान्नु पर्दछ जब यहाँका बिबाद मिलाई दिन वा फलानोले भन्दा मैले टिकट पाउनु पर्ने माग सहित यहाँको झगडा नेपालको राजनीतिक दलको कार्यलयसम्म पुग्छ । अनि उताबाट फर्मान जारि हुन्छ, यो पटक यो पदको लागि यो, अनि अर्को पदको लागि यो व्यक्ति मिलेर चुनाव लड्नु ।

तीन समुहमा विभाजित भएर नेतृत्वमा आफ्नो दाबि गर्दै गर्दा निर्बाचनमा जान चाहेका मध्ये धेरैका अनुहारहरू समुदायमा भिजेका संस्थालाई चाहिने अनुहारहरू छन् । भिन्न–भिन्न समुहमा देखिएका ती अनुहारबाट सबै भोलिको नेतृत्वमा आउन पक्कै सक्दैनन् किनकी निर्वाचनमा जाँदै गर्दा राम्रा अनुहारहरू पक्कै छुटछन्, जुन आँफैमा दुःखद छ ।

यतिका वर्ष प्रबासमा बसेर हाम्रो परिचय नेपाली मात्र हो भनेर नथाक्ने जत्था नै जब–जब चुनाव आउँछ अनि राजनीतिक आस्थाको आधारमा विभाजित हुनु हामी जस्तो नेपालको असफल राजनीतिको भुक्त भोगीलाई पक्कै सुहाएको छैन । त्यसैले विश्व एनआरएनए कै संजालमा ठूलो र मजबुत एनआरएनएको रुपमा परिचय बनाएको एनआरएनए अष्ट्रेलियाले बिश्व डायस्पोरा मै एउटा राम्रो नजीर स्थापित गर्दै सर्बसम्मत नेतृत्व चयन गरि सक्षम व्यक्तिहरू लाई संस्था जिम्मा लगाउन सफल होस् । शुभकामना !!