ढिला आयो तर कडा आयो : बन्ने भयो नेपाली सामुदायिक भवन

-- निरु त्रिपाठी / प्रकाशित मिति : बिहिबार, असार १२, २०७६

भिक्टोरीया मेल्वनबासी नेपालीहरुको आफ्नै सामुदायीक केन्द्र बनाउने उद्देश्य लिएको पनि लगभग दुई दशक भइसकेको छ । त्यही उद्देश्यलाई सफल बनाउन अष्ट्रेलियन नेप्लीज मल्टिकल्चर्रल सेन्टर (एएनएमसी)संस्थापनि खोलियो । उक्त उद्देश्य र सपनालाई मूर्तगति दिन संस्थाबाट विभिन्न निकायहरुमा आर्थिक सहयोगको लागि धाउन थालियो । यसरी विभिन्न चरण, विभिन्न छलफल, विभिन्न कार्यसमिति, विभिन्न प्रपोजल, विभिन्न फण्डरेजिङ्ग, सप्ताह र हरेक व्यक्तिको दान–योगदानपछि बल्ल नेपालीहरुको देखेको साझा सपना “आफ्नै सामुदायिक भवन” बल्ल साकार हुने भएको छ ।

हिजो एएनएमसीका अध्यक्ष डा चन्द्र दिपक पोख्रेलले प्रेस विज्ञप्ती प्रकाशित गर्दै नेपाली सामुदायिक केन्द्रको लागि घरसहितको जग्गा किन्ने प्रकृया अन्तिम चरणमा रहेको जानकारी दिएका छन् । साईट सेलेक्सन कमिटिका अध्यक्ष पनि रहेका डा पोख्रेलले स्टाम्प ड्युटी सहित १५ लाख डलरमा घर सहितको जग्गा पाएको उल्लेख गरेका छन् । यससँगै प्रतिबद्धता गरिएको तथा हाल एनएमसी कोषमा जम्मा भइसकेको रकम हिसाब गर्दा १४ लाख डलर हुने र जग्गा खरिद गर्न लागि अझ थप २ लाख डलर आवश्यक रहेको बताइएको छ । रकम पूरा भएको खण्डमा १५ एकडमा फैलिएको उक्त घरसहित जग्गाको सेटलमेन्ट गर्न पाँचदेखि ६ महिना लाग्ने छ ।


नेपाली टाइम्स मेल्वर्नसँग कुरा गर्दै डा पोख्रेलले नेपाली समुदायको लागि पक्कैपनि खुसीको खबर रहेको र यो सम्भव बनाउन जग्गा सेलेक्सन कमिटिदेखि लिएर हरेक समुदायको नेपालीहरुको ठूलो हात रहेको बताएका छन् । जग्गा सेलेक्सन कमिटिले एकसय भन्दा बढी ठाउँहरुमा गरिएको खोज र अनुसन्धानपछि अन्ततः यो जग्गा किन्ने अन्तिम निर्णय गरिएको हो । यसरी जग्गा खोज्न रातदिन अहोरात खट्ने सबैजनालाई अध्यक्ष पोख्रेलले विशेष धन्यबाद दिएका छन् । यदि समुदायको यसरी सर सहयोग, हौसला र साथ भईरहे एउटा मात्रै होइन भविष्यमा ठाउँठाउँमा थुप्रै नेपाली क्म्यूनिटि हल बनाउन सम्भव रहेको पनि उनले बताए ।


उक्त जग्गाको दूरी हेर्ने हो भने यो जग्गा सिटिबाट जम्मा ३३ किलोमिटर रहेको छ, ग्लेनरोयबाट २४ किलोमिटर, क्रेगीबनकाट २७ किलोमिटर, होपर क्रसिबाट ३५ किलोमिटर, वान्तिरनाबाट ५८ किलोमिटर, ड्यान्डिनोबाट ६९ किलोमिटर र क्यानबर्नबाट ८० किलोमिटर रहेको छ ।
विज्ञप्तीमा उल्लेख गरे अनुसार संरचनामा मर्मत गरेर तत्काल केन्द्र संचालन गर्न समेत सकिने र दुई सय जनासम्म अट्ने प्रार्थना कक्ष बनाउन सकिने छ ।