मंगोलिया जाँदै दुई रोबोट

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६

मंगोलियामा हुने एसिया प्यासिफिक रोबोट कन्टेस्ट–२०१९ मा दुई नेपाली रोबोटले भाग लिने भएका छन् । मेसेन्जर–१ तथा मेसेन्जर–२ नाम राखिएका ती रोबोट पुल्चोक इन्जिनियरिङ क्याम्पस रोबोटिक्स क्लबका विद्यार्थीहरूले निर्माण गरेका हुन् । नेपालले सन् २००१ देखि यो प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । आगामी अगस्ट २५ मा हुने प्रतियोगितामा नेपालका तर्फबाट यी दुई रोबोटले भाग लिनेछन् । पुल्चोक क्याम्पसको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स तेस्रो वर्षमा अध्ययनरत १९ जना विद्यार्थीको समूहले एक वर्ष लगाएर यो रोबोट तयार पारेका हुन् । समीप श्रेष्ठ, डेनिस खतिवडा, निश्चल नेपाल, नवीन नेपाली, प्रशान्त भट्ट, रिषभमणि शर्मा आदिको समूहले दुईवटा रोबोट बनाएको शिशिर पन्तले बताए । ती दुईमध्ये एक स्वचालित र अर्को म्यानुअल रोबोट हो । उक्त रोबोट बनाउन चार लाख खर्च लागेको क्लबले जनाएको छ । उक्त प्रतियोगितामा नेपालसहित चीन, भारत, जापान, भियतनाम आदि १८ देशको सहभागिता रहनेछ । तयारी अवस्थामा रहेका नेपालका दुई रोबोट मंगोलियाको स्वीकृतिपछि त्यसतर्फ लाग्ने रोबोटिक्स क्लबका शिशिर पन्तले जानकारी दिए । गत जुलाई २२ का दिनदेखि नै दुवै रोबोट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ । अगष्ट २१ का दिन ती रोबोट मंगोलिया पुग्नेछन् ।