मिजौरीमा आन्मा र नासाको संयूक्त सम्मेलन हुँदै

-- / प्रकाशित मिति : शुक्रबार, बैशाख १७, २०७३

न्यूयोर्क,
मध्यपश्चिम तथा दक्षिण पुर्वि अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था आन्मा र नासाको संयूक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । गैरआवासिय नेपालीहरुको साझा दुई संस्थाको १२ औ संयूक्त सम्मेलन आगामी सेप्टेम्बर २ देखि ४ सम्म सेन्ट लुईसस्थित मिजौरी राज्यको डबल ट्रि हिल्टन होटलमा हुने भएको हो । अमेरिकामा रहेका नेपालीहरु र नेपालबाट आउने विशिष्ट पाहुना तथा कलाकारहरुसहित करिब सात सय जति नेपाली सहभागी हुने सो कार्यक्रम सम्मेलनको संयोजन सेन्ट लुईसस्थित नेपाल चौतारीले गरिरहेको छ ।
संयूक्त सम्मेलनका लागि नेपाल चौतारीका अध्यक्ष बलराम पन्थिको अध्यक्षतामा नासा र आन्माको संयुक्त नौ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । सम्मेलनको सफलताका लागि अमेरिकामा रहेका नेपाली समुदायलाई सहभागी हुन नासाका अध्यक्ष विमल नेपाल, आन्माका अध्यक्ष शुसिल शर्माले संयूक्त आव्हान गरेका छन । सम्मेलनमा नेपालबाट विशिष्ठ पाहुनाहरु, ख्याती प्राप्त कलाकारहरुको समुह तथा अमेरिकामा रहेका व्यवसायिक तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति हुने नासाका महासचिव शिव विष्टले बताए ।

प्रवासमा नेपाली भाषा साहित्य संस्कृतिको संरक्षण, नेपालीहरुबीच आपसी भाईचारा बढाउन एकताका लागि फलदायी हुने भएकोले कार्यक्रममा विभिन्न विषयमा विचार गोष्ठि, नेपाली संस्कृति झल्काउने गीत संगीत, मनोरन्जनात्मक कार्यक्रम, खेलकुद र सुचना प्रविधि बारेमासमेत जानकारीमुलक हुने भएकोले सो सम्मेलन ऐतिहासिक हुने नासाका महासचिव विष्टले बताए । हरेक बर्ष आयोजना हुँदै आईरहेकोे ११ औ संयूक्त सम्मेलन नर्थ क्यारोलिनाको हाई प्वाईन्टमा टिएनसिसिको संयोजनमा सम्पन्न भएको थियो ।