ट्रम्पको भारत भ्रमण

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, चैत्र १९, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको दुई दिन भ्रमण गरेका छन् । फेब्रुअरी २४ का दिन गुजरातको अहमदाबादमा ओर्लिएका ट्रम्प विमानस्थलबाट सिधै महात्मा गान्धीको सावरमती आश्रम पुगेका थिए । त्यहाँ करिव १५ मिनेट बसेर उनी सिधै विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशाला दाबी गरिएको मोटेरा रंगशालातर्फ लागे । मोटेरा रंगशालाको ‘नमस्ते ट्रम्प’ कार्यक्रममा ट्रम्पले भाषण गर्दै विवेकानन्द, वेद, सचिन तेन्दुल्कर, विराट कोहलीलगायतको उल्लेख गरे  । ‘अमेरिकाले भारतलाई माया गर्छ र अमेरिकाले भारतलाई सम्मान पनि गर्छ साथै अमेरिका भारतीय जनताका लागि सधैं विश्वासिलो मित्र रहि रहनेछ’  रंगशालामा उपस्थित भारतीयलाई सम्बोधन गर्दै ट्रम्पले भने । आफ्नो पहिलो कार्यकालको अन्तिममा भारत आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा अमेरिकामा रहेका भारतीय डायस्पोरालाई आफ्नो पक्षमा पार्न मोदीसंगको सम्बन्धमा विशेष जोड दिएका छन् । अमेरिकामा रहेका करिव ४५ लाख भारतीयमध्ये अधिकांश मोदीका समर्थक भएकाले उनीसंगको सम्बन्धले राष्ट्रपतिमा पुन: निर्वाचित हुन सहयोग पुग्ने ट्रम्पको ठम्याइ छ । ट्रम्प भ्रमणको अर्को प्रमुख उद्देश्य भनेको उदाउँदो आर्थिक शक्ति चीनको विश्वशक्ति बन्ने महत्वाकांक्षामाथि अंकुश लगाउनु रहेको राजनीतिक विश्लेषकहरुको तर्क रहेको छ । ट्रम्प करिव ३६ घण्टा भारतमा रहेका थिए ।