दिल्लीमा दंगा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, फाल्गुन १८, २०७६

भारतको राजधानी नयाँ दिल्लीको उत्तरपूर्वी क्षेत्रमा फेब्रअरी २३ का दिनदेखि भड्किएको हिंसामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । दिल्लीको गुरु तेगबहादुर अस्पतालका निर्देशक सुनिल कुमारले फेब्रुअरी २६ का दिन थप ४ जनाको मृत्यु भएको जानकारी दिएका थिए । हिंसामा घाइते भएका चार जनालाई अस्पताल ल्याउँदा मृत्यु भइसकेको थियो । मृत्यु हुनेमा एक सुरक्षाकर्मी र बाँकी सर्वसाधारण रहेका छन् । हिंसामा ५० भन्दा बढी सुरक्षाकर्मीसहित २ सय ५० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । नयाँ दिल्लीमा दुई दशक यताकै ठूलो हिंसा फैलिएको बताइएको छ । घटनास्थल पुगेका एम्बुलेन्सलाई समेत अवरोध पुर्‍याइएपछि घाइतेलाई मोटरसाइकल र भ्यानमा राखेर अस्पताल पुर्‍याइएको थियो । उग्र भीडले पत्रकारहरूमाथि पनि हमला गरेको छ । हमलामा एनडीटीभी, एबीपीका पत्रकारहरू घाइते भएका छन्  । केही पत्रकारमाथि गोली प्रहार भएको छ  । भारतको केन्द्र सरकारले हिंसाग्रस्त क्षेत्रमा थप प्रहरी परिचालन गर्ने निर्णय गरेको छ  । उत्तरपूर्वीका दिल्लीका सबैजसो भागमा संविधानको धारा १४४ लगाइएको छ, जसअनुसार चार जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन पाइँदैन ।