चलायमान हुने बाटोमा नेपाली फिल्म

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, साउन ३२, २०७७

कोरोना भाइरस संक्रमणबाट थला परेकोे नेपाली फिल्म उद्योग बिस्तारै गतिशिल हुने तरखर गर्न थालेको छ ।

जनजीवन सामान्य बन्न थालेपछि फिल्मकर्मीहरू यो क्षेत्रलाई पुरानै अवस्थामा ल्याउन सकिन्छ कि भन्ने वहसमा जुटेका छन् ।

फिल्म क्षेत्रलाई पुरानै अवस्थामा फर्काउनका लागि फिल्म निर्माता, सिनमा हल सञ्चालक, निर्देशक, कलाकार, प्राविधिकसहित सबैलाई राहत पुग्ने गरी कार्ययोजना ल्याउनुपर्नेमा सम्बद्ध व्यक्तिहरूले जोड दिएका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले समस्यामा परेका फिल्म तथा फिल्मकर्मीको तथ्याङ्क सङ्कलन गरिरहेको जानकारी दिनु भएको छ ।

अध्यक्ष दाहालले कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा विभिन्न फिल्मकर्मी तथा सरोकारवालासित निरन्तर विचार–विमर्श भइरहेको बताउनुभयो ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले फिल्मकर्मीहरू फिल्म क्षेत्रभन्दा अन्य वहसमा रुमल्लिएको चर्चा गर्दै यस विषयमा सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

अध्यक्ष अधिकारीले फिल्म उद्योगबारे फिल्मकर्मीलाई नै जानकारी नभएको गुनासो गर्नुभयो ।

अधिकारीको भनाइ छ—‘चलचित्र क्षेत्रमा अब के गर्ने, सरकारले के गर्दैछ, सङ्घसंस्थाले के गरिरहेका छन् भन्ने कसैलाई चासो छैन ।’

यो महामारी सामना गर्दै चलचित्र क्षेत्रले आफूलाई चलायमान बनाउनैपर्ने धारणा अधिकारीको छ ।

अहिलेको सङ्कटको अवस्थामा चलचित्र विकास बोर्ड र आफ्नो व्यक्तिगत तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

 

कोरोना पीडित नेपाली फिल्म

कोरोना संक्रमणको महामारीसंगै लागू गरिएको लकडाउनका कारण करिव ३३ वटा फिल्महरू प्रभावित भएको तथ्यांक सार्वजनिक भएको छ । यसैगरी घाटा व्यहोरेका फिल्महरूको संख्या भने ११ छ । फूलमान बल निर्देशित फिल्म ‘नीरफूल’ प्रदर्शनको अघिल्लो हप्ता रोकिनु प¥यो । अघिल्लो वर्षको फागुन ३० गते प्रदर्शन मिति तय गरेर प्रचार सुरु गरिसकिएको सुदर्शन थापाको फिल्म ‘म यस्तो गीत गाउँछु–२’, अर्जुनकुमारद्वारा निर्मित फिल्म ‘चपली हाइट–३’ तथा सन्तोष सेनद्वारा निर्माण गरिएको फिल्म ‘प्रेम गीत–३’ पनि रोकिएका थिए । त्यस्तै झरना थापा निर्देशित ‘ए मेरो हजुर–४’, दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ का साथै ‘तीन जन्तु’, ‘परदेशी २’, ‘गुञ्जन’, ‘देशान’, ‘विच्छेद’ लगायतका फिल्मको छायाङ्कन बीचमै रोकिएको थियो ।

 

मौद्रिक नीतिमा नेपाली फिल्म

सरकारले अघिल्लो महिना सार्वजनिक गरेको बजेटमा नेपाली फिल्म उद्योगलाई नसमेटे पनि हालै जारी गरेको मौद्रिक नीतिमा भने फिल्म क्षेत्रलाई पनि समेटेकोले समग्र फिल्म क्षेत्र उत्साहित भएको छ । हालै नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा फिल्म क्षेत्र समेटिएको छ । मौद्रिक नीतिले नेपालको फिल्म उद्योग तथा मनोरञ्जन क्षेत्रलाई अति प्रभावित क्षेत्रमा पारेको छ । त्यसेले गर्दा फिल्मकर्मीहरू आशावादी बनेका छन् । मौद्रिक नीतिमा समेटिएका विषयहरूलाई यथाशिघ्र कार्वान्वयनमा ल्याउनका लागि फिल्मसंग सम्बन्धित विभिन्न संघ–संस्थाहरूले अनुरोध गरेका छन् ।

 

सुटिङमा जान तयार फिल्महरू

लकडाउन खुकुलो भए पनि नेपालको फिल्म तथा मनोरञ्जन क्षेत्रमा लागेको लकडाउन खुकुलो भएको छैन । सरकारले उचित समय आएपछि यो क्षेत्रको लकडाउन पनि हटाउने बताइसकेको छ । उक्त घोषणासंगै बन्द भएका सिनेमा हल तथा छायांकनस्थलहरू खुल्ला हुनेछन् । यसैबीच केही फिल्महरू सरकारको सूचना आउने बित्तिकै छायांकनमा जानका लागि तयार भएर बसेका छन् । निर्माता रोज राणाले आफ्नो नयाँ फिल्म खलनायक २ को छायांकन भदौदेखि प्रारम्भ गर्ने घोषणा गरिसकेका छन् । अभिनेत्री रेखा थापाले पनि भदौदेखि नै नयाँ फिल्मको छायांकन प्रारम्भ गर्ने घोषणा गरिसकेकी छिन् ।

रेखाको फिल्मलाई निर्देशक सबिर श्रेष्ठले निर्देशन गर्दैछन्, जसमा सौगात मल्ल र रेखा थापाको मुख्य भूमिका रहने छ । निर्माता मौनता श्रेष्ठले ‘आँधी तुफान २’ शीर्षकको फिल्म निर्माण गर्दैछन्, जसको छायांकन भदौदेखि प्रारम्भ हुनेछ । निर्देशक सुरेन्द्र पौडेल फिल्म ‘बाबरी क्याफे’ को छायांकन पनि चाँडै नै थाल्ने बताइसकेका छन् । दीपकराज गिरीको समुहले छक्का पञ्जा–४ को छायांकनको तयारी पुरा गरिसकेको छ । यसका साथै आइ एम ट्वान्टि वान, अल्लारे २, के घर के डेरा जस्ता फिल्म पनि छायांकनका लागि तयार भएर बसेका छन् । यी बाहेक ए मेरो हजुर ४, परदेशी तथा दुई नम्बरी जस्ता फिल्महरूले भने रोकिएको छायांकनलाई पुरा गर्ने दिनको प्रतिक्षा गरेर बसेका छन् ।