कोरोना भाइरसले छेकेन बरी लै…

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, साउन ३२, २०७७

काठमाडौं– चार महिना लामो लकडाउनका कारण यो वर्षको तीज खल्लो हुने अनुमान गरिएको थियो । यद्यपि, पछिल्लो अवधि लकडाउन खुकुलो भएपछि यसपटकको तीज सांगीतिक रुपले भने खल्लो नहुने भएको छ । यद्यपि, तीज विशेष कार्यक्रमहरू भने आयोजना नहुने निश्चित छ ।

नजिँकिँदै गएको तीजलाई लक्षित गर्दै यो वर्ष विगतका वर्षहरू भन्दा केही कमै गीतहरू सार्वजनिक भैरहेका छन् ।

यो वर्ष यूट्यूबमार्फत सार्वजनिक भैरहेका तीज गीतहरूले घरमै नाचगान, रमाइलो गर्दै तीज मनाउन आग्रह गरिएका छन् ।

विगतका वर्षहरूमा झैं यो वर्ष पनि केही नयाँ तथा केही पुराना गायक–गायिकाहरूले तीज विशेष गीतहरू सार्वजनिक गरेका छन् ।

गायिका कला लम्सालले पनि तीजको पूर्व सन्ध्या पारेर ‘पातली–२ : ऐना हेरी हेरी’ शीर्षकको गीत सार्वजनिक गरेकी छिन् । शिव हमालको लय तथा शब्द संकलनको उक्त गीतको भिडियोमा समेत गायिका लम्सालकै आकर्षक नृत्य देख्न सकिन्छ ।

गायिका सुनिता दुलालले भने ‘बेसीं मेलैमा…’ शीर्षकको गीत सार्वजनिक गरेकी छिन् । गायक खुमन अधिकारीको पनि स्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा दिलिप रायमाझी र नम्रता सापकोटासंगै सुनिता र खुमनले पनि अभिनय तथा नृत्य गरेका छन् ।

सूर्य खड्का, मनमाया वाइवा तथा वसन्त लम्सालले ‘दिदी भाइको वेदना…’ शीर्षकको तीज गीत गाएका छन् । उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । राजकुमार बानियाँद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरू राजेश नेपालले रचना गरेका हुन् । उक्त गीतको भिडियोलाई सुमन सागर जंग केसीले निर्देशन गरेका हुन् जसमा ममता खड्का, शिशिर पौडेल, विश्वास नेपाल, बाबुहरी मरासिनी, बसन्त लम्साल आदिले अभिनय गरेका छन् ।

यसपटकको तीजलाई लक्षित गर्दै गायक बद्री पंगेनीले केही गीतहरू गाएका छन् । यसपटक उनले गायिका टिका सानु, एलिना रायमाझी तथा ललित केसीसंगको सहकार्यमा हाँस हाँस मायालु, कविता अर्यालसंगको सहकार्यमा ‘सेनिटाइज घसेर…’, गायिका राधिका हमाल तथा जमुना रानाको सहकार्यमा घरबेटी जस्ता तीज गीत गाएका छन् ।

गायिका प्रीति आले नयाँ तीज गीतमार्फत दर्शकमाझ आएकी छिन् । ‘हामी नाच्ने हो गाउने हो डिस्टर्ब नगर’ शीर्षकको भिडियोमार्फत उनी दर्शकमाझ आएकी हुन् । राजबहादुर सानेको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई कृष्ण परियारको निर्देशन छ । भिडियोमा प्रिती आलेसँगै रिया श्रेष्ठ, कसिस दाहाल, सबिता आले, विमला गुरुङ, कमला नेपाली, ज्याक गुरुङ, शिशिर राणा र दीपकजंग शाहीलगायतको अभिनय छ ।

गायक वसन्त थापा मगरले साडी राम्रो शीर्षकको तीज गीत गाएका छन् । उक्त गीतको भिडियोमा अभिनेता एसराज गराज तथा मोडल बिनु शाक्यले अभिनय गरेका छन् ।

चलचित्र अभिनेता विशाल विष्टद्वारा निर्देशित तीज गीतको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यो तीजमा नाच्ने हो घरैमा‘’ शीर्षकको तीज गीतको म्युजिक भिडियोको निर्देशन अभिनेता विष्टले गरेका हुन् । उक्त गीतमा सुभाष गौतमको शब्द तथा संगीत र बिर्ख धामी तथा मल्लिका कार्कीको स्वर सुन्न सकिन्छ ।

सञ्चारकर्मी तथा गीतकार गीता अधिकारी यसपटक पनि नयाँ तीज गीत लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । यसपटक भने उनले ‘बजाउँदै चुरा’ शीर्षको गीत लिएर आएकी हुन् । सारिका घिमिरेको स्वरमा रहेको उक्त गीतमा योगेश काजीको संगीत तथा संगीत तथा संगीत संयोजना छ ।

तीज गीतमा नयाँ–नयाँ प्रयोगहरू भैरहेकोमा यो वर्ष नौलो प्रयोगको रुपमा तीज ब्याटल सार्वजनिक भएको छ । तीज ब्याटल भेडा भर्सेस कोइलीमा गायिका ज्योती मगर तथा गायक नेत्र भण्डारीको स्वर सुन्न सकिन्छ । उक्त गीतको भिडियोमा भने गायिका ज्योती मगरर तथा अभिनेता एसराज गराचसहित रुबिना अधिकारी, पुजन घिमिरे, अनिता थापा, नरेशवीर सिंह, जेम्स बिसी, निरज एलजी आदिले अभिनय तथा नृत्य गरेका छन् ।

रेस्लर गायिका अस्मिता जुरेलीले पृथक शैलीको तीज गीत गाएकी छिन् । अस्मिताले गाएको ‘मान्देउ न शिवजी’ शीर्षकको गीतको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा गायिका अस्मिता निकै हट अवतारमा प्रस्तुत भएकी छन् ।

गायिका मञ्जु पौडेलले गायिका मीना निरौलासंग मिलेर नयाँ तीज गीत ‘तीजैमा…’ सार्वजनिक गरेकी छिन् । उक्त गीतमा गायिका पौडेलकै संगीत निर्देशन छ । शब्द रचना दिग्गज धौरालीको छ ।

गायक निशान भट्टराई तथा गायिका शान्ता खत्रीको स्वरमा रहेको तीज गीत ‘यसपालिको तीज’ को भिडियो सार्वजनिक गरिएको छ । डिपी खनालको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ । भिडियोमा दुर्गेश थापा र सुष्मा कार्कीले नृत्य गरेका छन् ।

गायिका इन्दिरा भट्टराईको स्वर तथा संगीत निर्देशनमा ‘नाचौं गाऔं रमाऔं’ शीर्षकको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमन कुमार श्रेष्ठद्वारा निर्देशित उक्त गीतको भिडियोमा भिडियोमा अभिनेत्री तथा समाजसेवी नीतु कोईरालाको अभिनय तथा नृत्य हेर्न सकिन्छ ।