अब इन्स्टाग्रामको ‘टिकटक’

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, भदौ ८, २०७७

भिडियो शेयरिङ एप टिकटकको लोकप्रियताले विश्वका दिग्गज प्रविधि कम्पनीहरुलाई लोभ्याइरहेको छ । पछिल्लो समय विवादित बनिरहेको चिनियाँ एप टिकटकको सिको गर्दै लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले आफ्नै ‘टिकटक’ ल्याउँदैछ । हालै एक घोषणा गर्दै टिकटकले आफ्नो भिडियो शेयरिङ फिचर लञ्च गर्ने तयारी गरिरहेको खुलासा गरेको हो । इन्स्टाग्रामको उक्त भिडियो शेयरिङ सर्भिसको नाम ‘रील्स’ हुनेछ । आगामी अगष्ट महिनामा अमेरिका तथा अन्य ५० वटा देशमा रील्स लञ्च हुनेछ । स्मरणरहोस् इन्स्टाग्रामले हालै मात्र भारतमा रील्सको परीक्षण सुरु गरेको छ । भारतले टिकटकमाथि प्रतिबन्ध लगाएको परिप्रेक्ष्यमा इन्स्टाग्रामले भारतमै रील्सलाई परीक्षणका रुपमा सुरुआत गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । इन्स्टाग्रामको भिडियो शेयरिङ फिचर रील्समा प्रयोगकर्ताहरुले १५ सेकेण्डको भिडियो रेकर्ड गर्न, इडिट गर्न, त्यसमा आफूलाई मनपर्ने संगीत तथा अडियो हालेर स्टोरिज तथा इन्स्टाग्रामको एक्सप्लोर फिचरमा अपलोड गर्न सक्नेछन् । टिकटकको बढ्दो लोकप्रियताको सिको गर्नेमा इन्स्टाग्राम मात्र एक्लो छैन । युट्युबले समेत आफ्नै टिकटक बनाउँदैछ, जसको नाम शर्टस् राखिएको छ । सन् २०२० को अन्त्यसम्ममा युट्यबुको शर्टस् सार्वजनिक गर्ने बताएको छ ।