व्यवसाय गर्दै गर्दा आफ्नो लागि मात्र हुँदैन यसले थप रोजगारी सिर्जना गर्छ : भावना श्रेष्ठ

-- विज टक, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, मंसिर २२, २०७८

नेपालको काठमाडौंकी भावना श्रेष्ठले नेपालमा चार्टड एकाउण्टेण्टको पढाइ पूरा गरि नेपालको राष्ट्रिय बाणिज्य बैंकमा चार्टड एकाउण्टेण्ट पदमा कार्यरत थिइन । नेपाल सरकारको सेकन्ड क्लास अफिसरको रुपमा खुल्ला प्रतिस्पर्धामा एक नम्बरमा नाम निकालेर जागिर खाएको क्षण भावनालाई अझै ताजै छ । सबै ठिक ठाक चल्दै थियो तर थप जान्ने थप पढ्ने भोकले भावनालाई नेपालको जागिरमा अडाएर राख्न सकेन । अनि थप उच्च शिक्षाको सपना बोकेर २००८ मा उनी अष्ट्रेलिया आइपुगिन । अष्ट्रेलियाबाट उनले सर्टिफाइड पब्लिक एकाउण्टेण्ट ( CPA) को अध्यान पूरा गरिन । अध्ययन कै क्रममा उनले अष्ट्रेलियाको BRW मा लिस्टेड रेपुटेड कम्पनी ग्रुप फाइनान्सियल कन्ट्रोलर एण्ड ट्याक्स म्यानेजरको रुपमा ७ वर्ष काम गरिन् । CPA को अध्ययन सके संगै उनले CPA Public Practice, Registered Tax Agent, ASIC Agent को लाइसेन्स लिईन् । नेपाल र अष्ट्रेलियाको लामो अनुभब CA / CPA को अध्ययनले खारिएकि भावना श्रेष्ठलाई आफ्नै ब्यानरमा केहि गर्ने उच्च चाहना अन्ततः उनले २०१६ SBS Business Advisors and Tax Specialists स्थापना गरेर पूरा गरिन । अष्ट्रेलियाको सिड्नीलाई केन्द्र बनाएर संंचालित यस व्यवसायको भावना लगाएतको अनुभबी टिमले Taxation, Accounting, Business Advisory / Mortgage Broking का सेवाहरु अष्ट्रेलिया भरि नै पुराउँदै आएको छ । SBS Business Advisors and Tax Specialists की डाइरेक्टर अध्ययनशिल, मिजासिली स्वभाबकी उनै भावना श्रेष्ठ संग द नेपाली टाईम्स अष्ट्रेलियाको बिज टल्क जुलाई २०२१ अंकका लागि छोटो कुराकानी अवसर मिल्यो । प्रस्तुत छ कुराकानीको संक्षेप ।

१. तपाइँको व्यवसायको बारेमा केहि बताई दिनुस न ?
बिगतका अनुभबहरुबाट परिपक्क बन्दै हामीले २०१६ देखि SBS Business Advisors and Tax Specialists मार्फत एकाउण्टिङ्ग, ट्याक्स सम्बन्धि र बिजिनेस एडभाइजरको रुपमा सेवामुलक व्यवसाय गर्दै आइरहेकी छु । ट्याक्सेसन सम्बन्धि सेवा अष्ट्रेलियामा रहेका सबैलाई आबश्यक पर्ने सेवा हो भने साना ठुला व्यवसाय गर्नेहरुको लागि एकाउण्टिङ्ग र बिजिनेस एडभाइजरी सेवा आवश्यक हुन्छ । यी कामहरु गर्दै र ठुलो संख्यामा सन्तुष्टि ग्राहकहरुको अनुरोध र सल्लाहालाई ध्यान दिंदै गत सालबाट हाम्रो व्यवसायले मोर्टगेज ब्रोकिङ्गको सेवा पनि थप गरेको छ जसले होम लोन, कारलोन लगायतका अन्य लोन आबश्यक पर्ने ग्राहकहरु लाई सेवा दिन्छ । यसै संग one stop shop को रुपमा एकै ठाउँबाट हामीले यी सबै सेवाहरु दिदै आएका छौं ।

२. किन यो व्यवसाय रोज्नु भो ?
मेरो आफ्नो अध्ययन नेपालमा चाटर्ड एकाउण्टेण्ट हुँदै यहाँ सिपिएसम्म नेपालको बैंकको जागिर हँुदै यहाँको जागिरसम्मको अनुभबले म यो ट्याक्स, एकाउन्टिंग, बिजिनेस, फाइनान्स र बैंंङ्किङ या लोनका बिषय बस्तुहरु मा रमाउने भै सकेको थिएँ । आफ्नो यहि शिक्षा र अनुभब एवं यस क्षेत्रमा काम गर्दै गर्दा देखेको भोगेको चुनौती र त्यसलाई सामना गर्दै जाँदा त्यसले दिने थप शिक्षा र अनुभबले मलाई संधै उत्साहित बनाउने गर्छ । यसै गरि व्यवसाय गर्दै गर्दा आफ्नो लागि मात्र हुँदैन यसले थप रोजगारी सिर्जना गर्छ र अन्ततः सबैको आर्थिक बृद्दी यी सबै कुरा संग संगै आउने ग्रहाकको सन्तुष्टि लगाएतका कुराले गर्दा मलाई आफ्नै व्यवसाय गर्न संधै उत्साहित बनाउने गर्दथ्यो । मलाई जीवनको सार नै आफ्नो शिप र ज्ञानलाई बढाउँदै जाने हो भन्ने लाग्छ र त्यसबाट धेरै भन्दा धेरै लाभान्वित हुने बाताबरण तयार गर्ने हो भन्ने लाग्छ । यी सबैको संयोजनको रुपमा मैले यो व्यवसाय रोजें र थपिएको मोर्टगेज ब्रोकिंगको सेवा बिस्तारको एउटा पाटो हो । भविष्यमा पनि सिक्दै भोग्दै जाँदा ग्राहाकहरुलाई हामीले पुराउने थप अरु कुरै कुराहरुको सेवा महसुस भएमा थप्दै जाने छौं ।

३. यो व्यवसायमा रहदै गर्दा कस्ता किसिमका अबसर र चुनौती देख्दैहुनुहुन्छ / सामना गर्दै हुनुहुन्छ ?
व्यवसाय भनेकै अवसर र चुनौतीहरु को मिश्रण हो जस्तो लाग्छ, प्रत्येक चुनौतिले बर्षौ पढेको शिक्षा भन्दा ठूलो शिक्षा सिकाएर जान्छ । यति बेला बिश्व नै कोभिड महामारीको चपेटामा छ । यो महामारी सबैको लागि जस्तै हामी संग आबद्द धेरै व्यवसायी र ग्राहकहरुकोलागि चुनौती पूर्ण रह्यो । आफ्नो अनुभब र सिकाइलाई प्रयोग गर्दै यो अफ्ठ्यारो समयमा हामीले हाम्रा ग्रहाकको लागि बिभिन्न फाइनान्सियल म्यानेजमेन्टका कुराहरुमा सहयोग गर्यौं ।Australian Government Stimulus measures and tax incentives for job–seeker, job–keeper, cash flow boost, Government Grants in NSW, QLD, VIC, SA, WA , Payroll tax relief/waiver in NSW, SA, VIC, WA जस्ता अष्ट्रेलियन सरकारको आर्थिक सहयोगका प्याकेजहरु लाई कोरना भाइरसका कारण मर्कामा परेका व्यवसायीहरुलाई सहि सदुपयोग सहयोग पुरायौं । यो एक खाले विषम परिस्थितको चुनौतीलाई हामीले अवसरमा बदल्दै धेरैलाई सेवा पुरायौं । अन्य अबसरका कुराहरु गर्दै गर्दा कामकाजि महिला व्यवसायीलाई समय व्यवस्थापन, आर्थिक स्वन्त्रता, गर्न सकिने थुप्रै सम्भावनाहरु हुन् भने सबै पेशा जस्तै कम्प्लाईन्सका कुराहरु, सानो भुलले ग्राहकलाई पर्न सक्ने नोक्सानी लगाएतका कुराहरु लाई चुनौतीको रुपमा लिदै अगाडी बढ्दा त्यसले झन् परिपक्कता बनाउदै लाग्छ जस्तो लाग्छ ।

४. अबको पाँच वर्षमा तपाईँको व्यवसाय कहाँ पुग्ला ? हामीले तपाईँ आबद्द व्यवसाय (SBS Business Advisors and Tax Specialists) अबको पाँच बर्षमा कहाँ देखौंला ?

अबको पाँच वर्षमा मैले मेरो व्यवसायलाई सबल बनाउँदै, व्यवसाय भित्र थप रोजगारीहरु सृजना गर्दै, चुस्त टिमका लागि प्रोफेसनल ट्रेनिङ्ग गर्दै लाग्ने छु । एकाउण्टिङ्ग ग्र्याजुएट विद्यार्थीहरु लाई ध्यानमा राखि एकाउण्टिङ्ग सफ्टवेयर सम्बद्द भोलि रोजगारीको लागि दक्ष बन्न सक्ने गरि व्यवसायिक ट्रेनिङ्ग दिदै लैजाने योजना छ । नेपाली समुदाय र अन्य माइग्रेसन समुदायको विस्तार संगै हामीलाई यो क्षेत्रका अरु धेरै दक्ष जनशक्ति चाहिन्छ । त्यसैले त्यसरी काम गर्न इच्छुक युवा वर्गको लागि सेवा र शाखा बिस्तारको लागि मैले हाम्रो व्यवसायलाई खुल्ला राख्नेछु । अर्को तर्फ समुदायमा रहेर व्यवसाय गर्दै गर्दा समुदायलाई पनि साथ र सहयोग गर्नु पर्छ भन्ने मेरो मान्यता हो त्यसैले सबको समयमा आफु सामुदायिक काममा भिज्दै समुदायको हर परोपकारी र सामाजिक कार्यमा मेरो व्यवसाय साथ रहेको आभस हुने किसिमबाट अगाडि बढ्ने छु । अहिलेको प्रबिधि मैत्री संसारमा मेरो व्यवसायको शाखा या सपोर्ट अफिस नेपालमा समेत खोलेर नेपालमा पनि जति सक्छौ रोजगारीको अवसर सृजना गर्न हर सम्भब प्रयासरत रहनेछु ।

५. नेपाली समुदायमा व्यवसाय गर्न चाहनेहरु लाई तपाई कस्ता सुझाब दिन चाहनुहुन्छ ?
किन अर्थात अंग्रेजीमा Why भन्ने शब्द तिन छोटो शब्द भए पनि यो निकै गहन लाग्छ मलाई । कुनै पनि कार्य गर्नु भन्दा अगाडि म यो किन गर्दैछु अर्थात “why I  am doing this ?” भनेर आफूले आफूलाई प्रश्न गर्ने र त्यसको उत्तर आफ्नो शिक्षा अनुभब प्यासनको मिश्रणबाट आफ्नो अन्तरहृदयबाट आएको छ भने लक्ष्य आफै निर्धारण हुन्छ अनि रोडम्याप आफै तयार हुन्छ । त्यसरी गरेको किन प्रश्नमा आउने उत्तरले प्रबल इच्छा, दृढ अठोटले आत्मबल बढाउँछ । अब त्यस पछि चाहिने कुरा भनेको मेहनत र निरन्तरता हो, सफलताको बाटो कहिले काँही लामो र घुमाउरो पनि हुन्छ नथाक्ने, नहार्ने र लक्ष्य प्राप्तिका लागि रहने सकरात्मक सोच सहित जे सुकै व्यवसाय रोज्नुस सफलता तपाई कै पक्षमा हुनेछ ।