एनआरएनए अष्ट्रेलिया वर्तमान नेतृत्वको एक वर्ष

-- सुजित सिग्देल / प्रकाशित मिति : शुक्रबार, साउन २१, २०७३

Sujit Sigdelएनआरएनए डायस्पोराका नेपाली संघ संस्थाहरू बीच एउटा छुट्टै पहिचान र उचाई सहित स्थापित संस्था रहेको कुरामा दुई मत रहेन । ७३ देशमा राष्ट्रिय समन्यवय समिति रही सकेको यस संस्था सम्भबत डायोस्पोरामा प्रबासीहरूले खोलेको विश्वमै धेरै शाखा भएको संस्था हो भन्दा तथ्य र प्रमाणहरू पनि खोजि रहन नपर्ला । त्यसमा पनि बिगतका मानवीय र परोपकारी कार्यहरूलाई आत्मसाथ गर्ने हो भने पनि देशका अनेक प्राकृतिक प्रकोप र देश बाहिर नेपालीहरूमा परेका हरेक समस्यामा सहारा बनेको छ एनआरएनए । गत साल देशले भोगेको भूकम्पको पीडामा जसरी स्वत: स्फूर्त रुपमा बिश्व भरका नेपालीहरूले मन फुकाए, जसरी बिदेशका आफ्ना सबै व्यस्तताहरूलाई बिर्सेर वा एकछिन पर राखेर गैर आबासीय नेपालीहरू भूकम्प पिडित क्षेत्र मै पुगेर आफ्नो लागे पुगेको गरे नि:सन्देह उनीहरूले सबै नेपालीको मन मुटु छोए । अर्को तर्फ नेपाल सरकारले समेत गैर आबसीय नेपाली संघलाई मान्यता दिंदै कयौं देशहरूका दूताबास वा बाणिज्यदूतका कार्यालयमा एनआरएन डेस्क नै राखी बिभिन्न एजेन्डाहरूमा हातेमालो गर्दै विविध कार्यहरू गरेका उदाहरण हुन् । यसैले पनि नेपाल सरकारका लागि यो संस्था र यसमा सक्रियहरूलाई त्यो देशका अबैतनिक दूतहरू भन्दा पनि फरक पर्दैन ।

Picture12 darwinसंख्यात्मक हिसाबले होस या सक्रियताका हिसाबले होस् एनआरएनए अष्ट्रेलिया एनआरएनएको बिश्व संजालमा प्रमुख देशहरूमा पर्ने एउटा देश हो । जुन हामी अष्ट्रेलिया बासीहरूका लागि गर्वको बिषय पनि हो । बिगतमा गरेका उदहरणीय कार्यहरू हुन् या बर्तमानमा भई रहेका वा एनआरएनए अष्ट्रेलियाले सपोर्ट गरेका प्रोजेक्टहरू नै किन नहुन् स्थापना कालदेखि नै यो संस्था यहाँ सधै सक्रिय नै छ । अर्को तर्फ कुनै न कुनै जनहितकारी परियोजनामा व्यस्त देखिने या निरन्तर काम गरिरहने एनआरएनए अष्ट्रेलियाले नेपालसंग कुनै न कुनै रुपमा आफूलाई सामिप्यता गराई रहेको हुन्छ ।

आजभन्दा ठिक एक वर्ष अगाडि एनआरएनए अष्ट्रेलियाले आफ्नो छैठौं माहाधिबेशन सम्पन्न गरि नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरेको थियो । जन्मभूमि निकै अफ्ठ्याराहरू बीचमा अल्झीरहेको बखत नेतृत्वमा निकै रस्सा कस्सि बीच पुगेको बर्तमान नेतृत्वले यो एक वर्षको समयमा के कस्ता काम गर्यो होला । निश्चय पनि एनआरएनए अष्ट्रेलिया प्रति सरोकार राख्ने सबैको लागि यो चासोको बिषय हो नै ।

Picture8प्राय: एनआरएनए अष्ट्रेलियालाई सधै लाग्ने आरोप हो नेतृत्व छनोट गर्नेताका एनआरएनए अष्ट्रेलिया अलिक बढी नै तात्छ, संस्थाको चहल पहल निकै माथि पुग्छ । जब चुनाब सकिन्छ अनि फेरि उही सुस्तता अर्को चुनाब भन्दा २/४ महिना अगाडिबाट फेरि उही कथा, उही सदस्य बनाउने होड । त्यसो भनेर संस्थालाई केहि गरेन भनेर लागेको आरोप भनि बुझ्नु भन्दा पनि एनआरएनए अष्ट्रेलिया प्रति धेरैको ठुलो र भिन्न आशा छ त्यो पूरा गर्नका लागि खबरदारी हो भनेर नेतृत्वमा बसेकाहरूले बुझे भने त्यसले निश्चय नै सकरात्मक उर्जा दिनेछ । एनआरएनए अष्ट्रेलियाका बर्तमान अध्यक्ष सुरेन्द्र सिग्देल आफ्नो आधा कार्यकाल प्रति निकै खुसी छन्, देश निकै अफ्ठ्यारो स्थितिबीच गुज्रिरहँदा आफूले नेतृत्व लिएको यस संस्थाको अगुवाईमा बितेका एक वर्षमा बिभिन्न कार्यहरू गर्न पाएकोमा उनले कार्य समिति र बिभिन्न उप–समिति सबै भागिनी संस्थाका पदाधिकारीहरूलाई धन्यवाद दिए ।

गत वर्ष संस्था माहाधिबेशन तयारी र निर्वाचन तयारीमा रहँदै गर्दा देशमा ठूलो महाबिपद आयो । त्यति बेलाको महाभूकम्पमा हजारौंको ज्यान गयो, अरबौंको भौतिक संरचना ध्वस्त भयो । करिब–करिब कार्यकालको पछिल्लो समयमा आइ पुगेको उक्त कार्य समितिले तत्कालै यस दु:खद घडीमा सहयोग र राहत संकलनको कार्यलाई निक्कै उच्च प्रथामिकता सहित रफ्तारमा बढायो र केहि दिन मै लाखाैं डलर एनआरएनए अष्ट्रेलियाको खातामा जम्मा भयो । जुन कार्यलाई पछिल्लो कार्य समितिले पनि निरन्तरता दियो र दिइरहेको छ । पैसा उठाउने, उठेको पैसालाई सहि समयमा पठाउने हिसाब किताब दुरुन्त राख्ने र एनएरएनए प्रतिको बिश्वासलाई उच्च बनाई राख्ने चुनौतीपूर्ण काम बर्तमान कार्यसमितिले सम्पन्न गरेको बताउँछन बर्तमान कार्य समितिका कोषाधक्ष्य डिला खरेल । खरेलका अनुसार आफुले कार्यभार सम्हाल्नु अगाडिदेखि कै हिसाब किताबहरू भूतपूर्ब कोषाध्यक्षबाट बुझे पछाडि सबै हिसाब दुरुस्त राखेको र भुकम्पमा सहयोग गर्नका लागि नगद मात्र  ११ लाख ५३ हजार अष्ट्रेलियन डलरको नगद सहयोग जुरेको थियो जस मध्ये ११ लाख डलर तत्कालै नेपाल पठाइसकिएको र बाँकी ५३ हजार डलर पूर्ननिमाण कार्यको लागि नेपाल पठाइने छ ।

Picture9एउटा सुखद सौन्दर्य भनौ पक्ष विपक्ष र छुट्टा छुटै समूहमा विभक्त भइ नेतृत्व छनोटका लागि चुनाबी प्रकृयामा सामेल भएता पनि सबै तिक्तताहरूलाई बिर्सेर आघिल्लो कार्य समितिले सुरु गरेका धेरै कामहरूलाई निरन्तरता दिंदै अहिले ति प्रोजेक्टहरूलाई सफल तुल्याउन बर्तमान कार्य समिति लागेको छ । अध्यक्ष सुरेन्द्र सिग्देल आफू अगाडिका कार्यसमितिको उत्कृष्ट कामहरूको प्रशंसा गर्दै नेतृत्व छनोट प्रक्रिया सकिए पछि आँफूले पुराना साथीहरूको सल्लाहा सुझाबलाई आत्मसात गर्दै अगाडि बढेको र यसले संस्थालाई अझ मजबुत र एक भएर अगाडि बढ्न मद्दत पुगेको बताए । अघिल्लो कार्य समितिले सुरु गरेको एउटा यस्तै परियोजना हो पाथिभरा जेष्ठ आश्रम जसको लागि बिभिन्न चरणमा गरि अर्थ संकलनमा बर्तमान कार्यसमितिका बिभिन्न स्टेटका समितिहरू सक्रिय रुपमा लागेको एनआरएनए अष्ट्रेलियाका प्रबक्ता डा. ज्ञानेन्द्र रेग्मीले बताए । डा. रेग्मीका अनुसार पाथिभरा जेष्ठ आश्रमका लागि मात्र एक करोड नेपाली रुपैया संकलन गर्ने लक्ष्य लिएको छ जस अनुसार ६० लाख नेपाली रुपैयाको प्रतिबद्दता आइसकेको छ जस मध्ये ४० लाख उठिसकेको र २० लाख उठ्ने क्रममा छ । यसमा १८ लाख रुपैया एनआरएनए अष्ट्रेलिया क्वीन्सल्याण्ड राष्ट्रिय समितिले मात्र उठाउन सफल भएको थियो । छिट्टै एनएसडब्लुमा पनि एक फन्ड राइज डिनरको प्रोग्राम गरि यस अभियानलाई तदारुकताका साथ अगाडि बढाईएको छ, र भबिष्यमा अन्य राज्य समितिहरूसँंग समेत सहकार्य गर्दै यो अभियानलाई सफल तुल्याइने उनले बताए । द नेपाली टाईम्स अष्ट्रेलिया सँगको कुराकानीमा यस बाहेक बर्तमान कार्यसमितिले कार्यभार ग्रहण गरे पछाडि नयाँ र पुराना धेरै कार्यहरू सम्पन्न भएका र सम्पन्न हुने क्रममा रहेका प्रबक्ता रेग्मीले बताए, जसले एनअरएनए अष्ट्रेलिया प्रति यहाँका नेपालीहरूको बिश्वास र आत्मियता झन् चुलिएको उनले जिकिर गरे । यसै गरि भूकम्प पुनर्निर्माणमा सहभागी बन्दै एनआरएनए आइसीसीले गरेको अभियानमा एनआरएनए अष्ट्रेलियाले पनि एक सय घर निर्माण गर्ने प्रतिबद्दता जाहेर गरि सो अनुरुप यहाँका सबै मनोकारीहरू Picture11संग बर्तमान कार्यसमितिले सहकार्य गरिरहेको छ, त्यस्तै ICC Prolapse Project का लागि एक लाख नेपाली रुपैया र NRNA Ausralia -Nari Nikunja and WEAN (Women  Entrepreneur Association of Nepal)बीच एक लाख रुपैया सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर समेत भइ सकेको छ । यसै गरि सबै एनआरएनएका सुभ चिन्तकहरूले महसुश गरेको एउटा अहम समस्या थियो विद्यार्थीलाई भइ परिआउने समस्या यहि समस्यालाई सम्बोधन गर्न संस्थाले विद्यार्थी कल्याणकारी कोषको अबधारण लाई अगाडि सारयो । जस अनुसार अष्ट्रेलियाका सबै स्टेटहरूमा त्यहाँको राज्य समितिले वल्क फर वेल फेर कार्यक्रमको आयोजना गरि फन्ड राइजको प्रयास गरयो जुन निकै सफल पनि रह्यो । एक लाख डलरको लक्ष्य लिइएको यस कोषमा हालसम्म करिव ५० हजार डलर जम्मा भइ सकेको छ । छिट्टै संस्थाले बिज्ञहरू सँग समन्वय गरि कोषको अबधारणालाई अन्तिम रुप दिने जनाइएको छ । यो कोषले विद्यार्थीहरूलाई पर्ने अनेकन समस्यामा सम्बोधन गर्दै एनआरएनएले विद्यार्थीका लागि अभिभाबकीय भूमिका खेल्नेछ ।

यस बाहेक बिभिन्न समयमा गरि बितेका एक वर्षमा एनआरएनए अष्ट्रेलियाले सम्पन्न गरेका केहि जनसरोकारका कार्यहरू संस्थाका प्रबक्तासँग जानकारी लिने क्रममा निम्न अनुसार रह्यो, जस मध्येका केहि तल लिपिबद्द गरिएको छ ।

Picture12 sydney१. गत सालको तीजमा महिला दिदी–बैनीहरूलाई मन्दिरसम्म अबात–जावत गर्न सहयोग पुऱ्याउने उद्देश्यले एनएसडब्लु, क्वीन्सल्याण्ड र साउथ अष्ट्रेलियामा त्यहाँका राज्य समितिले सटल बस संचालन ।

२. गत सालको भूकम्पमा राहत संकलन गर्न सहयोगी भूमिका निभाउने सबै सहयोगीहरूलाई एनआरएनए केन्द्रिय अध्यक्ष शेष घलेको उपस्थितिमामा सहयोग अभियानको जानकारी दिंदै सिड्नीमा एक धन्यवाद तथा सम्मान कार्यक्रम ।

३. भूकम्पमा परि धनजनको ठूलो क्षति बेहोरेका सबैलाई स्मरण गर्दै एन आर एन अष्ट्रेलिया र राज्य समितिको अगुवाईमा भिन्न शहरहरूमा नेपालीलाई माया गर्ने बहुसांस्कृतिक समुदायहरूको समेत सहभागितामा प्रार्थना कार्यक्रमहरू ।

४. एनआरएनए साउथ अष्ट्रेलिया राज्य समितिले त्यहाँका मल्टी कल्चर कम्युनिटी संग सहकार्य गर्दै गत साल दसैँ तथा तिहारको कार्यक्रम ।

Picture12 brisbane५. नेपालका विविध अपूर्तिजन्य र अत्याबश्यक औषधी मै संकट आउने गरि लागाइएको अघोषित नाकाबन्दी बिरुद्द एनआरएनए अष्ट्रेलिया राज्य समितिको आह्वानमा अन्य नेपाली संघ संस्थाहरू संग सहकार्य गरि एनएसडब्लु, भिक्टोरिया, क्वीन्सल्याण्ड, नर्थन टेरोटोरी र वेस्टर्न अष्ट्रेलियामा नाकाबन्दी बिरुद्द प्रर्दशन र देशभरि कै प्रतिनिधित्व हुने गरि राजधानी क्यन्बेरामा समेत प्रर्दशन । प्रर्दशनका अबसरमा यहाँका प्रतिनिधि सभा, कुटनीतिक नियोगका कार्यलयहरू भारतीय दूताबासको ध्यान आकर्षण गर्न सफल । त्यस्तै गरि तत्कालिन आन्दोलनरत दलहरू संग तुरुन्त वार्ताको प्रक्रियाबाट उनीहरूका मागहरू सम्बोधन गर्न नेपाल सरकारलाई दबाब दिंदै नेपाली दूताबास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पठाइयो ।

६. राजदूताबास संगको सहकार्यमा सुलभ तरिकाले एमआरपी पासपोर्ट बनाउन सहयोग गर्न एनएसडब्लुमा दुई, क्वीन्सल्याण्डमा एक र मेलबर्नमा एक एम आर पी सेसन गरियो । त्यसको साथै बनेका पासपोर्ट बितरण गर्ने र विद्यार्थीहरुलाई विविध समस्याहरूमा सहजिकरण गर्न सिड्नीमा एउटा छुट्टै विद्यार्थीका लागि जानकारी मुलक कार्यक्रम आयोजना । त्यसै गरि एनआरएनए एसिटिबाट करिब एक महिना एमआरपी पासपोर्ट बितरण गर्न नेपाली दूताबास क्यान्बेरामा सहयोग ।

Picture3७. नेप्लिज एसोसियसन अफ क्वीन्सल्याण्डले आयोजना गरेको बृहत नृत्य प्रतियोगितामा सहयोग ।

८. अष्ट्रेलिया भ्रमणमा रहेका अभिभाबकहरूका लागि एनएसडब्लु, क्वीन्सल्याण्ड र भिक्टोरियामा बृहतर अभिभाबक पिकनिक कार्यक्रम सम्पन्न, जसमा चिकित्सकको टोलिले अभिभाबकहरूको स्वस्थ जांच समेत गरेको थियो ।

९. नारी निकुञ्ज अष्ट्रेलियाले अन्तराष्ट्रिय नारी दिबसको उपलक्ष्यमा डोमेस्टिक भोइलेन्स र विविध समसामयिक कुराहरूलाई बिज्ञहरूको उपस्थित गराएर एक गाला डिनर सहितको जानकारी मुलक र अन्तरक्रिया कार्यक्रम ।

१०. एनआरएनए अष्ट्रेलियाले एक छुटै टास्क फोर्स बनाइ महिला हिंसा सम्बन्धि जन चेतना जगाउने उद्देश्यले बिज्ञहरूको उपस्थितिमा एक वर्कसप सम्पन्न, जसको लागि केहि महिना अगाडिदेखि नै सर्बे गरिएको थियो जसमा २७१ जनाले सहभागिता जनाएका थिए ।

Picture12 adelaide११. विद्यार्थीहरूलाई पर्ने विविध समस्या सम्बोधन गर्न विद्यार्थी कल्याणकरीकोषको अबधारणा जसका लागि फन्ड राइज गर्ने उदेश्यले सबै स्टेटमा वल्क फर वेलफेर सम्पन्न ।

१२. बिभिन्न दु:खद घटनाहरू दिबंगत हुन पुगेका र दूर्घटना हुन् पुगेका परिवारलाई आर्थिक सहयोग उपलब्ध ।

१३. करिब ५० लाख अष्ट्रेलियन डलर पर्ने बिभिन्न औषधी र औषधीजन्य सामग्री र उपकरणहरू, अन्तर्राष्ट्रिय समन्यव समिति, र राज्य समितिको सहयोगमा नेपाल सरकारलाई हस्तान्तरण ।

१४. अघिल्लो कार्य समितिले सुरु गरेको अति महत्वपूर्ण परियोजना पाथिभरा श्रद्दाश्रमका लागि हाल एक करोड नेपाली रुपैया अर्थ संकलनको लक्ष्य लिईएको छ जस अनुसार ६० लाख नेपाली रुपैयाको प्रतिबद्दता आइसकेको ।

१५. गत सालको तिज कार्यक्रमबाट नारी निकुञ्ज अष्ट्रेलियाले संकलन गरेको रकमबाट गोर्खा जिल्लामा भूकम्पले भत्काएको स्कुलको पुनर्निर्माणमा सहयोग ।

१६. युवाहरूलाई समेट्दै एनआरएनए स्पोर्ट्स डे को सुरुवात जसमा फुटबल, भलिबल, बास्केट बल र क्रिकेट जस्ता खेलहरू समाबेश ।

संस्थागत हिसाबले हामीसंग संस्थाको कुनै कमि छैन । बिभिन्न पार्टीका भातृ संघ संस्थाहरू, जिल्ला जिल्लाका संस्थाहरू, जातियता झल्कने संस्थादेखि लिएर, हाल नेपाली समुदाय बसोबास रहेका काउन्सिलहरूमा गठन संस्था अनि बिभिन्न इभेन्ट र कार्यक्रम आयोजना गर्न नै गठन गरिएका ब्यापारिक उदेश्य सहितको संस्था जोड्ने हो भने त यो संख्या ठुलै छ । यस्तो परिस्थितिमा एनआरएनए अष्ट्रेलियाले एउटा छुट्टै उचाइ लिनु जरुरी छ फरक उद्देश्य सहित सबैलाई समेट्नु जरुरी छ । हाम्रा चाड पर्ब भाषा संस्कृति खेलकुद र अरु समुदायमा हुने गरिने गर्ने कृयाकलपहरूका लागि सानो स्रोत या पहिला कै अनुभबहरू बाट अन्य संघ संस्थाले समुदायलाई जोडेकै छन् । यस्तो परिस्थितिमा एनआरएनए जस्तो संस्थाले नेपाल र अष्ट्रेलियाको कुटनैतिक स्तरको पुलको काम गरोस, सामुहिक लगानीका अबधारणाहरूलाई अझ ब्यापक बनाउदै अष्ट्रेलियामा गैर आबासीय नेपालीहरू संग रहेको पूँजी शिपलाई नेपाल सँग जोड्ने सेतुको काम गर्न सके संस्थाको उचाइ र औचित्यता मा झन् निखार आउनेछ ।

हामी र हाम्रो भन्ने भावनाले नै समुदायलाई जोड्न सक्छौ 

-सुरेन्द्र सिग्देल, अध्यक्ष एनआरएनए अष्ट्रेलिया

Surendra Sigdelतपाइको कार्यकाल दोश्रो बर्षमा प्रवेश गर्दैछ । तपाईलाई एक बर्ष कार्यकाल सकिएको अध्यक्ष भन्ने कि एक बर्ष बाँकि रहेको अध्यक्ष ?

म दुइ बर्षको लागि सबैले दिएको जिम्मेवारी सिरोपर गर्दै चुनिएको अध्यक्ष हुँ । मेरो पहिलो बर्षको कार्यकाल निकै सन्तोषप्रद रुपमा सकिएको छ र बाँकि एक बर्षका लागि पनि मेरो अगाडी धेरै उत्साहित कार्य योजनाहरु छन् ।

तपाईलाई यो संस्थाको नेतृत्वमा पुग्न के ले प्रेरित गरेको थियो ?

मलाई यस संस्थामा प्रवेश गर्न विशेष गरी सामाजिक भावनाले नै प्रेरित गर्यो । ठूलो संस्थामा गएर ठूलो परिणाममा काम गर्नु अझ बढी राम्रो हुन्छ भन्ने कुरा अनि संगसंगै यही समाजमा रहनु भएका साथीभाइ एवं शुभचिन्तकहरू नै मेरो प्रेरणाका स्रोत हुन् ।

सोचे जस्तै छ त यति ठुलो संस्थाको नेतृत्व लिन, अझ त्यसलाई पार लगाउन ?

सोचे जस्तो नहुन सक्छ तर ठूलो संस्थामा काम गर्ने इच्छा राखेपछि ठूलै सोचाइ अनि गराई हुनु जरुरि छ । त्यसमा पनि हामी र हाम्रो सोचले प्रेरित भएपछि सकारात्मक सोच र उर्जा आफै आउदो रहेछ ।  यहि सोचाइ र ब्यबाहारको कारणले गर्दा आज एन आर एन ए अस्ट्रलियाले यसको उचाइ बदाउदै लागेको छ ।  सबै साथिहरुकोको सहयोग सल्लाह र सदभाबले मैले आफ्नो जिम्मेवारी राम्रो सँग निर्बाहा गरेको छु जस्तो लाग्छ ।

यो एक वर्षलाई पछाडि फर्केर हेर्दा संस्थागत किसिमले सम्झनै पर्ने कुरा के के रह्यो ?

यो एक वर्षको अवधिलाई फर्केर हेर्दा सम्झन पर्ने कुराहरू यस प्रकार छन् ।

अघिल्लो कार्य समितिले थालेका राम्रा कामहरू तर अपूर्ण रहेकालाई अहिले पूरा गर्दैछौं । जस्तो : भूकम्प पिडितलाई प्राप्त रकम पठाइनु, पाथीभरा प्रोजेक्टलाई रकम संकलन गर्नु (जसमा एक करोड भन्दापनि बढी उठ्ने भइसकेको छ)

 भूकम्प पिडित सहयोगीहरूलाई सम्मान गर्नु ।

 MRP (Machine Readable Passport) को पटकपटक कार्यक्रमहरू अधिकांस Qmate हरूमा राख्नु ।

 ICC Prolapse Project लाई रु १००००० (एक लाख) सहयोग गर्नु । तीजको कार्यक्रममा नेपाली चेलीबेटीहरूलाई Shuttle Bus को व्यवस्था गर्नु ।

 अष्ट्रेलिया र न्युजिल्याण्ड बीच भएको डान्स कम्पिटेसनमा पाटनर भएर सहयोग गर्नु ।

अत्यन्त प्रभावकारी तरिकाले इण्डियाले लगाएको अघोषित नाकाबन्दीको सबै राज्यहरूमा विरोध प्रर्दशनएवं विरोधको ज्ञापन पत्र सम्बन्धित ठाउँमा दिनु ।

अष्ट्रेलियाको संसद भवनमा पनि यसको जानकारी गराउनु ।

अघोषित नाकाबन्दीबाट दुखेको देश नेपाललाई ५०००० डलर भन्दा बढीको Surgical and Medical Equipement हरू नेपाल पठाउनु ।

बृहत अभिभावक पिकनिक को आयोजना हुनु यी आयोजनाहरू एनएसडब्लु, भिआइसी, व्रिसबेनमा पनि बृहतरुपमा आयोजना भएका थिए ।

अन्तराष्ट्रिय नारी दिवसमा अत्यन्त सफल गला डिनर सहित महिला हिंसा सम्बन्धि कार्यक्रम हुनु जुन वमेन फोरम नारी निकुञ्जले गरेको थियो ।

वाक फर वेयलफेर, वेयलफेर फर स्टुडेन्ट प्रोग्राम सबै स्टेटहरूमा सम्पन्न हुनु । यसको लक्ष्य १००००० डलर स्टुडेन्ट वेयलफेर एकाउण्टमा जम्मा गर्नु रहेको छ ।

MOU  Between NRNA Australia – Nari Nikunja &  WEAF for Rs. 1000000.

 Domestic And Famliy Violence को Programm अत्यन्त राम्रो सँग सफल हुनु । यो कार्यक्रम Research Base  मा भएको थियो । Parliament Member अनि अन्य विशेषज्ञहरूको सहभागिता रहेको थियो)

 तीजबाट संकलित रकम NRNA / Woman Forum- Naari Nikunja अष्ट्रेलियाले गोरखामा एउटा स्कुल बनाउनु ।

एनआरएनए अष्ट्रेलियाले एनआरएन स्पोटर्स डे भनेर विभिन्न खेलकुदको आयोजना गर्नु जसमा भलिवल, फुटबल, क्रिकेट र बास्केटबल रहेका छन् । यस्तै यस्तै थुप्रै कामहरू गरिएको छ र बाँकी कामहरू गर्ने क्रममा अगाडि बढेको छ ।

यो बीचमा त्यस्तो सम्झनै मन नलाग्ने कुरा पनि केहि रह्यो र ?

सम्झन नपर्ने खालको त्यस्तो कुनै कुराहरू रहेनन् ।

घोषणा पत्र अनुसार तपाईको कार्य अगाडि बढेको छ त ? यहि रफ्तारले गएमा तपाइले प्रतिबद्द गरेका बाँकि काम आउने एक बर्षमा सकिन्छ त ?

घोषणापत्र अनुसार हामी अगाडि बढेका छौं र केही काम सकिइसकेका छन् र बाँकी रहेका कामपनि अबको यो एक वर्षमा सक्ने गरी काम गर्दै छौं ।

तपाईले प्रतिबद्द गरेका तर पुरा हुन नसक्ने (कुनै काम भए) कारण के हुन् ?

एनआरएनको Permanent Office को बारेमा अहिलेको कार्यसमिति अत्यन्त चिन्तित छ र यसको स्थापनार्थ विभिन्न बैकल्पिक उपायहरू सोचिराखेका छौं र यि मध्य सबभन्दा राम्रो विकल्प जुन हुन्छ त्यसलाई अगाडि बढाउँछौं । विशेष गरी यसको लागि फाइनान्सियल पार्ट नै मुख्य कारण बनेको छ ।

यसको मतलब तपाईको प्रतिबद्दता उचो थियो कि ? समुदायको लागि हालको स्थितिमा त्यो अनाबश्यक ?

यो उचो होइन एनआरएनए अष्ट्रेलियाको लागि एउटा अफिस आवश्यक छ र यो हुन नसक्ने पनि छैन र यो प्रकृयालाई पनि हामी अगाडि बढाउँछौं ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो छ ? यहाँका विविध संघ संस्थाका मानिसहरूसँग सामिप्यताले पहिला बुझेको भन्दा आहिलेको बुझेको नेपाली समुदायमा केहि भिन्नता पाउँदै हुनु हुन्छ ?

अष्ट्रेलियाको नेपाली समुदाय अत्यन्त्यै राम्रो छ । विविधतामा एकता यहाँको समुदायको सन्देश हो आवश्यक पर्दा सबै व्याक्ति संघ संस्थाले एक आपसमा सहयोगी भावना राखेको देखिन्छ जहाँसम्म पहिला र अहिलेमा फरक छ किनभन्ने कुरा छ, त्यसमा मैले केहीपनि फरक देखेको छैन मात्र यति हो कि पहिले सानो परिधि भित्र थिए भने अहिले ठूलो परिधि भित्र तर बाँकी सबै कुराहरूमा समानता नै देखिएको छ । हाम्रो नेपाली समुदाय (जसमा व्यक्ति तथा संघ संस्थाहरू छन्)ले कसरी हुन्छ नेपाल र नेपालीको हित गर्नु पर्छ भन्ने मान्यताले अगाडि बढेको महशूस गरेको छु ।

एउटा सामाजिक संस्थाको नेतृत्वमा जानको लागि चाहिने मुख्य कुरा के हो ? भोलि संस्था हाँक्न चाहनेलाई केहि सल्लाह र सुझाब दिनु पर्यो भने के भन्नु हुन्छ ?

विशेष गरी ठूला सामाजिक संस्थामा जानको लागि धेरै कुराहरू आवश्यक पर्दछन् अझ त्यसमा पनि इमान्दारिता, सामाजिक भावना सबैसँग मिल्न सक्ने, आवश्यक पर्दा समायोजनको भूमिका खेल्न सक्ने लगायतको अरु थुप्रै कुराहरू अत्यन्त महत्वपूर्ण हुनेछन् भन्ने लाग्छ । संस्था हाँक्न चाहने मान्छेलाई म अहिले यति मात्र भन्न चाहन्छु कि उसँग इमान्दारिता, सामाजिक भावना साथै समय निकाल्न सक्ने हुनु पर्दछ । बाँकी परिस्थिती अनुसार अरु थप सुझाव पनि आवश्यकता पर्दछ ।

अन्त्यमा, हाम्रा पाठकहरू मार्फत केहि भन्न चाहानु हुन्छ कि ?

सर्वप्रथम त नेपाली टाईम्स अष्ट्रेलियालाई धन्यबाद ज्ञापन गर्न चाहन्छु कि यो एक वर्ष पुगेको अवसरमा एनआरएनए अष्ट्ेरलियाको बारेमा जानकारी लिएर पाठक माझ पुर्याउने कोशिष गरिदिएको मा । त्यस्तै अहिलेको कार्य समितिमा बसेर काम गर्नुहुने सबै (Executive member, SCC member, Nari Nikunja, Advisor, विभिन्न प्रोजेक्टमा काम गर्ने साथीहरू) साथै Patrons, ICC members, Ex- President सबैलाई उहाँहरूले गरेको सहयोगका लागि हार्दिक आभार व्याक्त गर्न चाहन्छु । यसै गरी एनआरएन भित्र नरहेर बाहिरबाटै सहयोग गर्नुहुने सम्पूर्ण दाजुभाइ, दिदीबैनी एवं शुभेच्छुकहरूलाई पनि हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छु र यस्तै खालको सहयोगको अपेक्षा भविष्यमा पनि राख्दछु भन्ने कुरा नै यो पत्रिका मार्फत भन्न चाहन्छु । निकट भविष्यमा हुन गइरहेको नेपाल फेष्टिवल अन्य थुप्रै कार्यक्रममा यहाँहरूको सहयोगको सदैब अपेक्षा राख्दछु ।