एकाको तेस्रो अधिवेशन सम्पन्न 

-- The NTA / प्रकाशित मिति : सोमवार, साउन ३१, २०७३
ekka ko adhibeshanशैक्षिक परामर्शदाता र आप्रबासी सम्बन्धि सेवा पुराउदै आएका नेपाली मुलका ब्यबसायीहरुको संस्था ‘अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स अलायन्स’ (एका) को तेस्रो अधिवेशन गत अगस्ट १२ तारिखमा सिड्नीमा सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि बिबिध कार्ययोजना र विभिन्न प्रतिवेदनहरू पारित गर्नुका साथै २०१६ -२०१८ का लागि निरज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति पनि गठन गरेको छ ।  सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका नयाँ कार्यसमितिका अन्य पदाधिकारीमा उपाध्यक्षमा भूपाल सिटौला र बद्री जैसी, सचिवमा सुरज श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा राजमान थकाली, कोषाध्यक्षमा सुभांशप्रसाद साह  र सदस्यहरूमा बालचन्द्र भट्टराई, सन्दीप खनाल, अभिमानसिंह बस्नेत,  नारायण कोइराला र कमल लामिछाने निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष निरज श्रेष्ठले आफूलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेकोमा सबैलाई धन्यवाद दिँदै संस्थाको उद्देश्य प्राप्तिमा नयाँ कार्यसमिति सदैब लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अधिवेशनमा सिड्नी, मेल्बर्न र ब्रिस्बेनका गरी तीसभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको संस्थाको तर्फबाट संजीव पाण्डेले बताए ।