सन्दर्भ: अष्ट्रेलियामा नेपाली परिवेश र बस्तुस्थिती

-- / प्रकाशित मिति : मङ्लबार, फाल्गुन १८, २०७२

नवराज गौतम :
दस वर्षको लामो माओबादी द्वन्दले आक्रान्त मूलुकका ४० लाख युबा अहिले रोजगारीको शिलशिलामा बिश्वका कैयांै मुलुकमा पुगिसकेका छन् । कानुनी रुपमा जानेको संख्या सरकारी तथ्यांकमा उल्लेख भएपनि गैरकानुनी हैसियतमा कति नेपाली बिदेशिएका (भारत बाहेकका देशमा) छन् यसको कुनै ठोस तथ्यांक राज्यसंग छैन । माओबादीले उठाएको हतियार कति जायज थियो वा थिएन त्यो अहिले एउटा बहसको बिषय होला वा पछि हुनेछ । तर यसले समग्र देशको सामाजिक, आर्थिक, सास्कृतिक एबं अन्य क्षेत्रमा अकल्पनिय असर पारेको कुराको हिसाब किताब पनि समयक्रम संगै निस्किएलान । देशको आर्थिक क्षेत्र तहस नहसको स्थिमा गुज्रिरहेको अबस्थामा बिनाशकारी भूकम्प र भारतीय पक्षबाट गरिएको अघोषित नाकाबन्दिका कारण देश उठ्नै नसक्ने गरि थला परेको अबस्था यतिबेला छ ।
माओबादीले मूलधारको राजनीति समातेपछिको परिघटना नेपालको लागि बिर्सन लायक क्षण बन्यो । संबिधान निर्माणको खेल संगै सत्ता प्राप्तिको कथित फोहोरी खेलले नेपाललाई अहिले अघोषित युबाबिहिन देश बनाइदिएको छ । पहिलो संबिधानसभा निर्बाचन पश्चात दुई वर्षमा संबिधान निर्माण गरि देशमा आम निर्बाचन संपन्न गर्ने उदघोषका साथ प्रधानमंन्त्री भएका माओबादी अध्यक्ष प्रचन्डको सरकार ९ महिना भन्दा बढि नटिकेपछि यस बीचमा भएका घटनाक्रम तपाँइ हामीबीच सर्बबिबिधै छ । बिगत एक दशकदेखि देशको राजनैतिक अबस्था र त्यसबाट सिर्जित बिग्रदो आर्थिक अबस्थाको कारण उच्च शिक्षा हाँसिल गरेका लाखौ युबा अहिले थप उच्च शिक्षा, रोजगारी एवं अबसरको खोजिमा उच्च आर्थिक गतिबिधि भएका मुलुकहरूमा जान लागेका छन् ।
कतिपय उच्च शिक्षा र सीप हासिल गरेर नेपालमा नै फर्किएका छन् भनै ठूलो हिस्सामा ति देशहरूमा पुगेका नेपालीहरू नेपाल फर्किन चाहिरहेका छैनन् । पछिल्लो समय अष्ट्रेलियामा नेपाली बिद्यार्थीको आकर्षण बढेको छ । प्रजातन्त्र र मानब अधिकारको उच्चतम अभ्यास गरिरहेको अष्ट्रेलियाले पछिलो समय बिश्वका बिकशित मुलुकहरूको सूचिमा आफुलाई उभ्याउन सफल भइसकेको छ । आर्थिक बृद्धिदर तिब्र पारिरहेको अष्ट्रेलियाको मुख्य आयस्रोत अन्तर्गत बिश्वका बिभिन्न देशहरूबाट अध्ययनमा दक्ष विद्यार्थीहरूलाई भित्र्याउने गरेको छ । लगभग दुई करोड २० लाख जनसंख्या रहेको अष्ट्रेलियालाई आर्थिक बृद्धिदर गुणात्मकरुपमा अगाडि बढाउन एकातिर बिश्व भरिका शिक्षित जनशक्ति चाहिएको छ भने अर्को तर्फ यसैलाई एउटा बलियो आम्दानीको स्रोत बनाएको छ । हाल बिश्वका बिकशित देशहरू (बिशेष गरि युरोप) मा छाएको आर्थिक मन्दिका कारण ती देशहरूमा रोजगारीका अबसरहरू पर्याप्त नभएको सन्दर्भमा ती देशहरूका युबाहरूमा पनि अष्ट्रेलियाप्रति आकर्षण बढेको अन्तराष्ट्रिय संचार माध्यमहरूले जनाइरहेका छन् ।
आधिकारिक तथ्यांक ठोस रुपमा बाहिर नआएपनि करिब एक लाखको हाराहारीमा नेपालीहरू अष्ट्रेलियाका बिभिन्न प्रान्तमा छरिएर रहेका छन् । अध्ययन एबं अन्य प्राबिधिक कामहरूमा अष्ट्रेलियन सरकारले तोकेको निश्चित मापदन्डहरू पूरा गरिसकेपछि स्थाइ बसोबास सुबिधा पाउन सकिने हुनाले पनि युबा बर्गको मन अष्ट्रेलियाले तानेको हो । सन् २००० भन्दा अगाडि एकाध संख्यामा रहेको नेपाली समुदाय सन् २००७/८ पछि विद्यार्थी भिसामा गरिएको खुकुलोपना संगै अहिले निकै ठूलो भैसकेको छ । हजारौको संख्यामा नेपालीहरूले यहाँको स्थाइबसोबास पाइसकेको सन्दर्भमा केहि नेपालीहरू त राज्यको नीति निर्माण तहसम्म पुगिसकेका छन् ।
अष्ट्रेलियाको राजनीतिमा पनि नेपाली सहभागिता बढिरहेको समाचारहरूपनि आइरहेका छन् । राज्यद्वारा निर्दिष्ट नियम र कानुनको परिधि भित्र बसेर आफ्नो पेशा, ब्यबसाय गर्ने हक सबै स्थायी बसोबास प्राप्त गर्नेहरूमा बराबर छ । यो एउटा अबसरको उर्भर भूमि हो अबसर लिन सक्नु र नसक्नु तपाइमा भर पर्ने कुरो हो । पछिल्लो समय नेपालीहरू ब्यापार ,ब्यबसाय, शैक्षिक परामर्स केन्द्र,कानुनी सेवा लगायतका गतिबिधिहरूमा छ्यापछ्याप्ती देखिन लागेका छन् । भौगोलिक रुपमा देश सानो भएपनि नेपालका बिभिन्न जिल्लाबासीहरूको छुट्टाछुट्टै कम्युनिटीहरू गठन भएका छन् । नेपालीहरूका बिभिन्न चाडपर्बहरूमा भेटघाट एबं शुभकामना आदानप्रदान जस्ता कार्यक्रमको बेलाबेलामा आयोजना हुनु आफैमा एउटा सुखद पक्ष मान्न सकिन्छ ।
नेपालीलाई मर्दापर्दाको समयमा नेपाली समुदायबाट एक अर्कालाई हुने सहयोग गर्ने बानीको पनि यहाँका अजिहरूले तारिफ गरेको सुन्न पाउनु पनि एउटा आनन्दको अनुभूति हुनजान्छ । विद्यार्थी भिसामा अष्ट्रेलिया आउँदा जति नेपालबाट कल्पना गरिन्छ यहाँ त्यति सजिलो भने पक्कै पनि छैन् । जागिरको निश्चितता, कलेज शुल्क, बसोबास, दैनिकी ब्यबस्थापन निकै चुनौतीपूर्ण हुन्छ । नेपालमा बिशेषगरि शारिरिक कामहरू खासै नगरेकाहरूलाई शुरुशुरुका दिनहरू बिर्सनलायक हुनसक्छन् । परिस्थितीलाई कसरी ब्यबस्थापन गर्ने भन्ने आफुले सोचेर निर्णय गर्ने कुरा हो । हजारौ नेपालीहरू कोहि रहरले, कोहि बाध्यताले अष्ट्रेलियामा हुनुहुन्छ ।
कतिले आर्थिक प्रगति गर्नुभएको छ कतिले शैक्षिक प्रगति गर्नु भएको छ । आर्थिक र शैक्षिक दुबै प्रगति गर्ने पनि हुनुहुन्छ । नेपालमा जन्मियौं हुर्कियांै नेपाली बोल्न लेख्न सिक्यौं राजनैतिक अस्थिरताको सिकार बनेर अष्ट्रेलिया आयौं । आर्थिक रुपमा दुईचार पैसा पनि कमायौं होला तर नेपालको पछिल्लो घटनाक्रमले नेपालीहरूमा थप निरासा उत्पन्न गराएको छ । नयाँ संबिधानको घोषणा संगै तराइमा फैलिएको हिंसा र भारतद्वारा लगाइएको अघोषित नाकाबन्दीको मारले देशको सामाजिक र आर्थिक क्षेत्रमा बिकराल अबस्था उत्पन्न भएको छ । सुरुंङ्ग पछि उज्यालो आउछ भने झै आशा गरौ नेपाल अब समृद्दिको दिशामा अघि बढ्छ । हामी जहाँ रहेपनि नेपालप्रतिको मायाँ रहिनै रहन्छ । अष्ट्रेलियामा गठन भएका बिभिन्न नेपाली समुदायहरूले नेपालको बिकासको लागि गरिएका आर्थिक सहयोगका कार्यक्रमहरूको पनि नेपालमा सकारात्मक चर्चा चल्ने गरेको छ ।
यहाँका नेपालीहरूको सानो सानो सहयोगले पनि नेपालमा गरिब विद्यार्थीहरूलाई पठन पाठनको ब्यबस्था, बिद्यालय निर्माण, पुल पुलेसाको स्तरोन्नती, पुस्तकालय निर्माण, सिमान्तकृत बर्गका विद्यार्थीको पठन पाठनमा सहयोगका साथै अन्य क्षेत्रमा थप सहयोग गर्न सके अष्ट्रेलियमा गठन गरिएका नेपाली समुदायको सकारात्मक प्रभाबकारिता ठहरिने छ । अत: अष्ट्रेलियामा बसेर पनि नेपालप्रतिको आफ्नो कर्तब्य नभुल्नु नै बास्तबिक रुपमा देशको सेबा ठहरिने छ । राजनैतिक खिचातानीले लम्बिएको संबिधान निर्माण प्रकृयाले पूर्णता पाएता पनि त्यसपछि सृजित घटनाक्रम अझै डरलाग्दो रुपमा देखापरेको छ । राष्ट्रिय गौरबका आयोजनाहरू अलपत्र परेका छन् । बिकास निर्माण प्राय:ठप्प छ । राजनितिक स्वार्थको लागि राम्रो गर्न खोज्नेलाई खुट्टा तान्ने प्रबृति बढ्दो छ यस्तो परिस्थिती संग जुध्न हामी अष्ट्रेलियामा रहेका नेपालीले रचनात्मक ढंगले आफ्नो मातृभूमीलाई सहयोग गर्नुपर्ने बाध्यता छ ।