भारतमा आरक्षण आन्दोलन

-- NTA REP. / प्रकाशित मिति : बिहिबार, फाल्गुन २७, २०७२

भारतको उत्तरी राज्य हरियाणामा जारी जाट समुदायको आरक्षण आन्दोलनमा चर्केको हिंसामा १२ जना मारिएका छन् भने १ सय ५० जना घाइते भएका छन् । हरियाणाका प्रहरी डिजिपी वाईपी सिंघलका अनुसार हिंसा भड्काएको आरोपमा १ सय ९१ आन्दोलनकारीविरुद्ध उजुरी दर्ता गरिएको छ । भारतमा जाट समुदाय आरक्षण सुविधा माग्दै पछिल्लो समय आन्दोलनरत छ । भारतको सर्वोच्च अदालत सुप्रिम कोर्टले जाट समुदायको आरक्षणसम्बन्धी मामिलामा फैसला गर्दै आरक्षण दिन अस्वीकार गरिसकेको छ । हरियाणाका विभिन्न स्थानमा हिंसा भएको छ भने सेना परिचालन र हवाई गस्ती गरिए पनि कतिपय स्थानमा प्रहरी चौकी, कैयौं पसल र बैंकका एटिएममा आगो लगाइएको छ । दिल्ली, पन्जाब, हिमाञ्चल प्रदेश, जम्मु कास्मिर, राजस्थान र चंडिगढसहित छिमेकी राज्यसंग हरियाणाका सडक र रेल यातायात ठप्प भएको छ । आरक्षणको माग गर्दै जाट समुदायले चर्काएको आन्दोलनका कारण राजधानी दिल्लीमा पानीको समेत हाहाकार भएको छ । आन्दोलनकारीले दिल्ली ल्याउने पानीको मुहान मुनक नहर बन्द गरेपछि दिल्लीमा पानीको संटक चुलिएको भारतीय संचारमाध्यमले जनाएको छ ।