परिकार : हाम्रो पहिचान

दाल, भात, खाना, अचार र गुन्द्रुकको झोलमा मात्रै सिमित छैन नेपाली खाना । नेवारी खाजा सेट, थकाली खाना सेट, तराई, पहाड र हिमालको स्वाद भेटिने ८४ व्यञ्नजन परिकारहरू देखि लिएर अझ भनौ त्यो भन्दा बढी स्वादको नेपाली परिकार छन् नेपालमा ।
-- नीरु त्रिपाठी / प्रकाशित मिति : शनिबार, बैशाख ९, २०७४

देश चिनाउन कला, संस्कृति र भाषाको जति महत्व हुन्छ त्यतिकै खानाको पनि विशेष भूमिका रहेको हुन्छ । खानाले दुई भूगोलमात्रै नभई विभिन्न तरिकाले विभिन्न मानिसहरूलाई पनि जोड्ने काम गर्छ । त्यसैले पनि परिकार हाम्रो पहिचान भन्ने गर्छौ हामी । हामी हाम्रो भाषा संस्कृति जस्तै हाम्रो खानालाई पनि यति धेरै माया गर्छौ कि त्यो स्वाद संसारको कुनै कुनामा गएर पनि विर्सन सक्दैनौ र केही दिन त्यो स्वाद यो जिब्रोमा परेन भने के नखाएको के नखाएको हुन्छ । आफ्नो त्यही स्वादको माया र विशेषताले गर्दापनि संसारमा नेपालीहरूले खोलेका नेपाली खानाको स्वाद मात्रै चखाउने थुप्रै नेपाली रेष्टुराहरू छन्, जहा तमाम विदेशीहरू नेपाली स्वाद चाख्न आउँछन् । दाल, भात, खाना, अचार र गुन्द्रुकको झोलमा मात्रै सिमित छैन नेपाली खाना । नेवारी खाजा सेट, थकाली खाना सेट, तराई, पहाड र हिमालको स्वाद भेटिने ८४ व्यञ्नजन परिकारहरू देखि लिएर अझ भनौ त्यो भन्दा बढी स्वादको नेपाली परिकार छन् नेपालमा । विभिन्न ठाउँका नेपालीहरू जति मात्रमा विभिन्न भूगोलमा फैलिएका छन् त्यतिनै उनीहरूले आफ्नो स्वाद बोकेर गएका छन् र चखाउँदै पनि गइरहेका छन् । कति स्वादहरूलाई व्यवसायिक रुपमा उर्जागर गर्न सकेको छैन भने कति स्वादहरूले राम्रो व्यपार गरिरहेको छ । थुप्रै राम्रो व्यापार गर्ने नेपाली स्वादमा अहिले खाजाको रुपमा मःम, छोयला, आलुको अचार, साधेको भटमास, चिउरा र सेकुवा अलि बढी मात्रमा चलेको पाइन्छ । अर्डर गर्न पनि सजिलो, साथीभाइहरूसग खान पनि मज्जा र मीठो भएकै कारणले पनि यो परिकार सबै उमेरमा प्रख्यात छ ।

नेपाली खाना र मःमको मानिसहरू कति धेरै पारखी छन् भन्नेको उदाहरण मःम फेस्टिवलमा भएको क्रेजले बताएको थियो । अष्ट्रेलियामा नै पहिलो पटक आयोजना गरेको मःम फेस्टिवलको पहिलो प्रयासमा नै मानिसहरू उर्लेर आएका थियो । त्यही मानिसहरूको भीडले बताउँथ्यो कि नेपाली खाना र स्वादले विदेशमा कति आशापूर्ण बजार लिइसकेको रहेछ ।

सोलाङचरको आयोजनामा यहि २६ तारिख २०१७ मेलबर्नमा मःम फेष्टिभल भव्यताको साथ सम्पन्न भएको थियो । कोबर्गको भेलोड्रोमी ग्राउण्डमा भएको यस मःम फेष्टिभलमा ६ हजारजनाले रजिष्ट्ररर्ड गरेपनि त्यो भन्दा बढी नै लगभग दोब्बर मानिसहरूको चहलपहल रहेको थियो । आयोजकले दस हजार भन्दा बढीले मःम फेस्टिवलमा आएर मःम, अन्य नेपाली परिकारको र नेपाली संगीतको मज्जा लिएको अनुमान लगाएका छन् । प्रवेश निःशुल्क रहेको यो फेस्टिबलमा मानिसहरूले मःमका विविध प्रकारसगै कुटुम्बको संगीतको मज्जा भरपूरसग लिएका थिए । दिउँसो १२ बजेदेखि रातिको १० वजेसम्म चलेको यस फेस्टिवलमा नेपालीहरू भन्दा पनि विदेशीहरूको सहभागिता बढी देखिन्थ्यो । यस मःम फेस्टिवलले नेपाली खाना, परिकार र संगीतको एकदमै प्रचार गरेको र नेपाल फेस्टिवलको झझल्को दिएको उपस्थित व्यक्तिहरूले बताएका थिए । कार्यक्रम एकदमै व्यवस्थित भएकोमा दर्शकहरू खुसी पनि देखिन्थे ।

नेपाली संगीतलाई विश्वमञ्चमा पस्किन सफल नेपाली व्याण्ड कुटुम्बले फेस्टिवलमा आफ्नो संगीतले सबैलाई मन्त्रमुग्ध बनाएर संगीतको तालमा सबै दर्शकलाई लामो समयसम्म नचाएको थियो । करिब ५/६ महिनादेखिको तयारी रहेको मःम फेस्टिवलको विभिन्न आकर्षण क्रियाकलाप मध्ये मःम माष्टरसेफ प्रतिस्पर्धा पनि एक रहेको थियो । त्यही मःम मास्टर सेफको कम्पिटिसनमा सीता गुरु∙ प्रथम भएकी थिइन् । प्रतिस्पर्धाको निर्णायकहरू द एज गुड फुड गाइडमा तीन पटकसम्म सेफ अफ द इयर जित्न सफल सेफ एन्ड्रयू म्याककोनल र २०१२ को योङ्ग सेफ अफ द इयर केइसी म्याकडोनाल्ड रहेका थिए । पहिलो चरणबाट छानिएर फाईनलसम्म पुगेका सेफहरू अञ्जल जोशी, सीता गुरुंग र सञ्जीव श्रेष्ठमध्येबाट निर्णायकहरूले सीता गुरुंगले बनाएको सीफुड मःमलाई उत्कृष्ट ठहराएका थिए । मःम मास्टर सेफको कम्पिटिसन जित्ने सीता गुरु∙लाई पाच सय डलर राशी प्रदान गरिएको थियो । मःम र नेपाली अन्य परिकार, नेपाली कला संस्कृति झल्काउने हस्तकला, नेपाली चित्रकला र मूर्तिकलाका सामग्रीहरू, नेपाली पोसाकहरूको रौनक एकातिर थियो भने अर्कोतर्फ कलर उमंगसगै संगीतको रौनकमा उपस्थितले कुटुम्बको सांगितिक प्रस्तुतिमा नाचेर उत्साह थपेका थिए । करिब एक महिना लामो अष्ट्रेलिया टूरमा आएको कुटुम्ब व्याण्डले यही २५ तारिखमा एडिलेडको नेपाल महोत्सवमा आफ्नो सांगीतिक प्रस्तुति पस्किएको थियो । कुटुम्बको अबको यात्रा भनेको पर्थ तथा अष्ट्रेलियाको अन्य सहरमा हुनेछ ।