सत्ता र पदले गिजोलेको हाम्रो राजनीति

-- सम्पादकीय अगष्ट अंक २०२०, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन २२, २०७७

गएका दुई हप्ता नियमित पत्रकार भेटघाटका दुई फरक प्रसंगमा अष्ट्रेलियाका प्रधानमन्त्रीले पत्रकारको उछितो काडे । पहिलो प्रसंगमा एक पत्रकारले अब चुनाब पनि नजिकिदै छ, के छ तयारी चुनाब समय मै हुन्छ नि ? भन्ने प्रश्नमा प्रधानमन्त्री स्कट मोरिसिनले १ सेकेन्ड पनि नसोचि उत्तर दिए जनता कोभिडले पुराएको तत्कालिन र दीर्घकालिन असरमा छ, कोभिडका कारण ज्यान जाने क्रम जारि छ तपाई चुनावको बेप्रसङ्गिक कुरा सोध्नु हुन्छ ? हाम्रो प्रथामिकता यति बेला के हो तपाईहरुले पनि विचार गर्नु पर्दैन । अर्को हप्ता कुनै अर्को पत्रकारले भिक्टोरियामा देखिएको दोश्रो लहरको कोभिड–१९ र त्यहाँको राज्य सरकारका कमजोरीका बारेमा प्रश्न उठाए प्रधानमन्त्री मोरिसन छोटो उत्तर दिए यो समय यी कुराहरु गरेर बस्ने होइन, भिक्टोरिया राज्यको यो अफ्ठयारो परिस्थितिमा केन्द्र सरकार भिक्टोरिया सरकार र त्यहाँका जनताको साथमा छ, सबै अष्ट्रेलियनहरु लाई पनि म यसमा सहयोग गर्न अनुरोध गर्दछु ।
कुनै बेला यहाँका पक्ष विपक्ष र पार्टी भित्रै पनि खुलेर एकले आर्कालाई आरोप प्रत्यारोपमा उत्रने सत्तासिन र बिपक्षीका सबै राजनीतिज्ञहरु यति बेला चुपचाप छन् । उनीहरुले मुख खोलेका छन् त मात्रै यो कोभिड –१९ लाई कसरि नियन्त्रण गर्ने कसरि जीवनलाई सहजीकरण तिर लाने भन्ने बिषयमा त्यो पनि बिज्ञहरु साथै लिएर । बितेका ७ महिनामा यहाँको सरकारले व्यवसायी, रोजगारदाता, सामाजिक सुरक्षामा रहेकाहरु र खोज अनुसन्धानमा बिलियन बिलियन डलर खर्च गरेको छ । यो बिषयमा कतै केहि अनियमितता, भ्रष्टचार वा असन्तोषको सानो आबाज पनि सत्ता पक्ष र विपक्षबाट आएको सुनिएन बरु एक कदम अगाडि बढेर यो राष्ट्रिय संकटमा सबैले आ–आफ्नो ऐक्यबद्धता र सहयोगको प्रतिबद्दता जारि गरिरहे ।
यो मन त मेरो नेपाली हो भन्ने गीत जस्तै यो विपदमा हामी देशदेखि जति टाढा रहेपनि मन उतै पुगेको हुन्छ । हामी मध्ये धेरैलाई यताको भन्दा उतैको खबरले तान्छ, संक्रमित कति बढे होलान्, आज कति पुगे होलान्, कुन जिल्लामा बढे होलान् ? तर जनताले तिरेको करले तिनै भोट र बिश्वासले सदनदेखि सरकारसम्म पुगेकाहरु कति निर्दयी हुन्, तिनलाई आहिले बिश्व मानव सभ्यतालाई पिरोलेको यो असहजताले कति नछोएको हो । त्यसमाथि पनि यति बेला नेपाल वर्षा याममा छ कोरनाको प्रकोप संगै देशले बाढी पहिरोको पनि सामना गर्नु परेको छ । यस्तो बेलामा सत्ता पक्ष भित्रै आफ्नै प्रधानमन्त्री कै राजिनामा माग्दै छन् त्यो पनि कुनै बिशेस राष्ट्रिय कारण र असफलताले होइन आफु आफुबीचको इगो र वैमनस्यताले । रोगी र बेफिक्री प्रधानमन्त्री लाई यसै पनि यो असहज परिस्थितिमा गार्हो छ त्यसमा पनि सम्पूर्ण शक्ति उचाल्ने पछार्ने र कुर्ची जोगाउने मै लगाउनु परेको छ । अर्कोतिर बिपक्षीदल छ त्यसो त दुई तिहाइको सरकारले बिपक्षी कुरा यसै सुन्दैन सुन्ने संस्कार हाम्रो देशमा कुनै पार्टीले अहिलेसम्म बिकशित गरेन, सुनिहाले पनि त्यस्तो अहो भन्ने कुनै सल्लाह र सुझाब दिन सक्ने बिम्बमा उनीहरु पनि देखिदैनन् । सत्तासिन पार्टी सत्ताको नेतृत्व परिबर्तनको चलखेलमा भए जस्तै बिपक्षीहरु देश अबका केहि महिना कस्तो परिस्थितिमा गुज्रने हो त्यति पनि हेक्का नराखी पार्टीको महाधिबेशन र पदका लुछाचुड़ीको खेलमा छन् ।
यो बेला सरकारले आफ्नो सम्पूर्ण शक्ति कोरना संकटमा लगाउँदै नियमित प्राकृतिक प्रकोपमा पनि आफ्ना संयन्त्रहरु चुस्त राख्नु पर्ने बेला हो । तर सरकार आफ्ना दैनिकी र उच्च प्रथामिकतामा राख्नु पर्ने काममा कुहिरोमा हराएको काग जस्तै देखिन्छ ।
कोरना सक्रमण समुदायमा कसरी बढेको छ, परिक्षण कुन गतिमा बढेको छ, स्वास्थ्यकर्मीलाई उपकरणहरु पुग्दो छ कि छैन, हिजोको इटाली जस्तै महामारी फैलियो भने स्वास्थ्यकर्मी, अस्पतालदेखि लास व्यवस्थापन पनि कसरि गर्ने हो ? उपकरणदेखि साधन श्रोतसम्म कहाँ कसरि जुराउने हो कतै केहि तयारी देखिदैन । आजको दिन त बित्यो भन्ने किसिमबाट दिनहरु बितिरहेका देखिन्छन् । यसका अन्य असरहरु शिक्षा व्यवसाय रोजगार ती कुरालाई कसरि सम्बोधन गर्ने भन्ने कुरामा अन्धाधुन्ध देखिन्छ । भएका दैनिक कामहरुमा पनि बिज्ञहरु कतै छैनन्, बिज्ञहरु को राय सरसल्लाहा लिने जनतालाई आत्मविश्वास मर्न नदिने जस्ता कुरामा कसैको चासो छैन । महिनौ देखिको लक डाउन खुल्दा जनजीवन झन् अन्यौल छ, पठन पाठन, साना व्यवसायहरु चौपट छ, दैनिकी काम गरेर खानेहरु लाई छाक धन्न मुस्किल छ, यस्तो परिस्थितिमा पर्ने मानसिक असरमा काउन्सिलिङ्ग गर्नु पर्ने कुरासम्म कसले सोच्दिने त्यसैले त आत्महत्याका घटना बढेका बढ्यै छ ।
निकाशा बिहिन यी समस्याहरु का पहाड नाकै अगाडि हुदाँ पनि हामीले चुनेका नेताहरु लाई ती पहाडले छेकेको छैन । त उनीहरु आफनै धुनमा छन्, देश यसरि पनि कहिले सम्म चल्ला ? अन्त्यमा सत्ता र पद प्राप्तिले मात्रै गिजोलेको हाम्रो राजनीतिमा फेरि पनि नागरिक आफै सजग हुने, सकारात्मक सोचको बिकास गर्दै आफ्नो र आफ्नो परिवारको हेरचाहमा जुट्दै यो अप्ठ्यारो बेला पार गर्नु पर्ने देखिन्छ ।