अमेरिकी सेनाका लागि सामसुङको विशेष फोन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, अशोज १, २०७७

विभिन्न स्मार्टफोन कम्पनीहरुले आफ्ना नियमित उत्पादनहरुका अतिरिक्त कतिपय विशेष संस्करण समेत बजारमा ल्याउने गर्दछन्, खासगरी विशेष रुची तथा क्षेत्रका आफ्ना फ्यानहरुलाई लक्षित गरेर । तर सामसुङ कम्पनीले भने अमेरिकी सेनाकै लागि भनेर विशेष फोन उत्पादन गरेको छ । सामसुङले सैन्य प्रयोगका लागि लक्षित गर्दै एक विशेष संस्करणको फोन डिजाइन गरेको हो । गत मे महिनामा आधिकारिक रुपमा घोषणा गरिएको उक्त स्मार्टफोन गत हप्ताबाट मात्रै अमेरिकी सरकार तथा त्यहाँको रक्षा मन्त्रालयलाई उपलब्ध गराइएको छ । सामसुङ ग्यालेक्सी ए २० ट्याक्टिकल इडिसन नाम दिइएको उक्त फोन अमेरिकाको संघीय सरकार र रक्षा मन्त्रालय मातहतका कार्यहरुका लागि तयार गरिएको हो । सामसुङले भनेको छ— ‘ग्यालेक्सी एस २० ट्याक्टिकल इडिसन फोन केवल लक्षित योजना, तालीम, अपरेसन तथा त्यससंग सम्बन्धित दैनिक प्रयोगका लागि हुनेछ ।’ हालका लागि उक्त फोन सर्वसाधारणले खरीद गर्न पाउँदैनन् । अमेरिकाका निकै सिमित सरकारी संयन्त्रबाट मात्रै उक्त फोन बिक्रि गरिएको छ । यो फोनमा ट्याक्टिकल रेडियो, ड्रोन फिड्स, लेजर रेन्ज फाइन्डर्स, एक्स्टर्नल जिपिएस जस्ता सैनिक मिसनमा आवश्यक फिचरहरु उपलब्ध छन् । साथै यो फोनमा नाइट भिजन मोड, स्टिल्थ मोड लगायतका विशेष फिचरहरु समेत रहेका छन् । यी फिचरहरुले सैनिकहरुलाई रातको समयमा नाइट भिजन चस्मासंग फोनको प्रयोग गर्नका साथै फोनको सिग्नललाई अन्य उपकरणहरुले पत्ता लगाउन नसक्ने गरी गोप्य ढंगले सञ्चार सम्पर्कमा प्रयोग गर्न सम्भव तुल्याउनेछ । यो फोनको डिस्प्लेमा अटो टच सेन्सिटीभिटी रहेको छ, जसका कारण हातमा पञ्जा लगाएर समेत फोन चलाउन सकिनेछ । यसमा ६४ मेगापिक्सेलको मूख्य क्यामरा रहेको छ, जसले ८के भिडियो रेकर्ड गर्न सक्दछ । यो विशेष संस्करणको फोन सामसुङ नक्स नामक मोबाइल सेक्योरिटी प्लाटफर्ममा तयार भएको छ, जसले फोनलाई अत्यधिक सुरक्षा प्रदान गर्दछ ।