तीज मेलामा सोचेको भन्दा बढीको उपस्थिति

-- नीरु त्रिपाठी, नेपाली टाइम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, साउन २४, २०७४

अष्ट्रेलियाको मेलबर्नमा गत शनिबार, अगस्ट ५ इस्टोनिया हाउसस्थित निकै नै रमाइलो माहोल छाएको थियो । कारण थियो नेप्को इभेन्ट्सको तीज मेला जुन भव्यताका साथ सम्पन्न भएको थियो । नेपालीहरु विदेशमा रहेतापनि आफ्नो संस्कृति र चाडपर्वहरु लाई माया गर्छन् र प्रबर्द्धनमा एकजुट हुन्छन् भन्ने कुराको यो एउटा गतिलो उदाहरण रहेको थियो ।
ग्रेस ईन्टरनेशनलको प्रस्तुतिमा नेप्को ईन्टरटेन्मेन्टले आयोजना गरेको यस तीज मेलामा नेपालका प्रसिद्ध लोकगायक खुमन अधिकारी, लोकगायिका देवी घर्ती, रमिला न्यौपाने र नव चर्चित नायिका वर्ष राउतको बेजोड प्रस्तुतिले मेलामा रौनक ल्याएको थियो । तीजको शृंगारमा सजिएर सहभागी भएका नेपाली महिलाहरु देख्दा नेपालमै भएको झल्को दिन्थ्यो ।
तीज मेलामा ५ सय जनाको सहभागिताको अपेक्षा गरिएता पनि ७०० जना जतिको उपस्थिती रहेको र सोचेको भन्दा पनि रमाइलो भएको कुरा नेप्को ईन्टरटेन्मेन्टका प्रमुख विराज थापाले नेपाली टाइम्स मेल्वर्नलाई बताएका थिए । यसैगरी उनले नेपाली मौलिक लोकदोहोरीको भाकामा तीजलाई विशेष बनाउन मेला आयोजना गरिएको हो । आशा गरेको भन्दा धेरैको संख्यामा सहभागीहरु आइदिनुभयो । यसले हामीलाई नेपाली लोकसंगीत र संस्कृति सम्बन्धि थप काम गर्न हौसला प्रदान गरेको छ । नेप्को इन्टरटेन्मेन्ट लोक संगीत र संस्कृतिको जगेर्नामा सधै लागिरहने पनि बताएका थिए । मेल्वर्नमा अब छिटै नै अर्को लोकदोहोरी कार्यक्रमको आयोजना गर्न लागेको र यसमा उनको टिम लागिपनि परिसकेको विराजले बताएका छन् ।

https://www.facebook.com/TheNepaliTimesMelbourne/