प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट उपाधि प्रदेश १ लाई

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, माघ १२, २०७७

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि प्रदेश १ ले जितेको छ । जनवरी ३ का दिन भएको फाइनलमा विभागिय क्लब एपिएफलाई ६ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । दाङको लमहीमा भएको खेलमा प्रदेश १ ले दिएको १ सय ५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको एपिएफले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ९९ रन मात्र बनाउन सक्यो । एपिएफकी ममता चौधरीले सर्वाधिक ३४ रन बनाए पनि हार टार्न पर्याप्त भएन । ज्योति पाण्डेले १ तथा करुणा भण्डारीले २६ रन जोडे पनि अन्यको ब्याट चल्न सकेन । प्रदेश १ की रुबिना क्षत्री र अलिशा खडियाले २–२ विकेट लिँदा संगीता राईले १ विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो । प्रदेश १ की अप्सरा बेगमले सर्वाधिक ३४ रनको योगदान दिइन भने काजल श्रेष्ठ २९ रनमा अविजित रहिन् । यसैगरी कप्तान रुबिना क्षत्रीले १८ रन लिइन्। एपिएफकी सीता राना मगरले ३ तथा करुना भण्डारीले १ विकेट हात पारिन् । प्रदेश १ ले लुम्बिनीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने एपिएफले सेमिफाइनलमा सुदुपश्चिमलाई पराजित गरेको थियो ।